गाडीमा लेखिएका मुक्तक मेट्नेदेखि जरिवाना बढाउने तयारी

Spread the love

काठमाडौं । यातायात व्यवस्था विभागले सडक दुर्घटना न्यून गर्न भन्दै विभिन्नखाले मापदन्डहरु अघि सारेको छ ।

ट्रकहरुमा लेखिने आकर्षक मुक्तक तथा उखान–टुक्का मेटाउनेदेखि ट्राफिक नियम उल्लंघनको जरिवानाको रकम उच्च दरले बढाउनेसम्मका मापदन्ड अघि सारिएको छ ।

सडक दुर्घटना कम गर्नका लागि विभिन्न प्रयोगहरु गर्दै आएको यातायात व्यवस्था विभागले गाडीमा लेखिएका गीत, कविता, मुक्तक, उखान–टुक्का र नाराहरु मेट्न निर्देशन दिएको छ ।

त्यसैगरी, गाडीका सिसामा स्टिकर वा अन्य कुनै चिज नटाँस्न र नझुन्ड्याउन तथा गाडीका क्याबिनमा सजावटका सामान वा म्युजिक सिस्टम नराख्न पनि विभागले आग्रह गरेको छ ।

दुर्घटना हुनुको ८० प्रतिशत कारण चालकको लापरबाही भएको निष्कर्ष निकाल्दै विभागले चालकको ध्यान अन्यत्र मोड्ने सामग्रीहरु गाडीबाट हटाउन सुझाव दिएको यातायत व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।

चप्पल लगाएर गाडी चलाउँदा पनि दुर्घटना हुने सम्भावना देखिएको भन्दै जुनसुकै गाडीका चालकले अनिवार्यरुपमा जुत्ता लगाउनुपर्ने नियम पनि ल्याइएको छ ।

यसैगरी, लामो दूरीमा चल्ने गाडीको ढोकामै यात्रु क्षमता र गाडीमा रहेका यात्रुको संख्या टाँस्नुपर्ने, सार्वजनिक यातायातका साधनमा अनिवार्यरुपमा भाडादर टाँस्न पनि विभागले अनुरोध गरेको छ ।

यातायात क्षेत्रमा संलग्न विज्ञसँगको छलफलबाट यी उपाय अपनाउन लागिएको विभागको भनाइ छ ।

दुर्घटना हुनुमा चालकको लापरबाहीमात्रै हो भन्ने कुरामा असहमति भएपनि चालकहरुलेसमेत विभागले अघि सारेका नियमहरुलाई सकारात्मकरुपमा लिएका छन् ।

यातायात विभागले ट्राफिक जरिवाना पनि उच्च दरले बढाउने भएको छ । हाल ट्राफिक नियम उल्लंघनमा न्यूनतम् ५०० र अधिकतम् पाँच हजार रुपैयाँ रहेकोमा त्यसलाई बढाएर न्यूनतम् दुई हजार र अधिकतम् एक लाखसम्म बनाउने तयारी पनि गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *