घरआँगनमै नाच्न थाले कस्तुरी

Spread the love

रसुवा । रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन् । लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुरक्षित भएपछि सङ्ख्या बढेको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जले यस क्षेत्रका जङ्गलमा दाउरा काट्न नदिएपछि कस्तुरीको सङ्ख्या वृद्धि भएको स्थानीयवासी बताउँछन् । लाङ्टाङवासीले दाउराको सट्टा वैकल्पिक ऊर्जा र ग्यास प्रयोग गर्न थालेसँगै जङ्गल संरक्षण भई कस्तुरी बढ्न थालेको हो । अहिले घरआँगनमा कस्तुरी नाच्न थालेको स्थानीय ग्याल्बु लामाले बताउनुभयो ।

लाङ्टाङमा वैकल्पिक ऊर्जा प्रयोग र जङ्गल संरक्षण गर्न राष्ट्रिय निकुञ्ज, नेपाली सेना, मध्यवर्ती क्षेत्र उपभोक्ता समूह र हिम चितुवा संरक्षण समूहले नियमित गस्ती थालेपछि कस्तुरी तथा वन्यजन्तु बढेका छन् । लाङ्टाङ गाउँमाथि र क्यान्जिन हिम उपत्यका पारिको जङ्गलमा ठूलो सङ्ख्यामा कस्तुरी देख्न थालिएको लामाले बताउनुभयो ।

“अहिले गाउँका कोही पनि जङ्गलमा काठ, दाउरा काट्न जाँदैनन्, दाउराको साटो घरघरमा ग्यास र मट्टितेल बाल्न थालेपछि वन विनाशमा कमी आएको छ । क्यान्जिनका केही होटलले गोबरका गुइँठा प्रयोग गर्ने गरेका छन्,” धेरैपटक लाङ्टाङको भ्रमण गरेका ललिपुरका स्वयम्भू डङ्गोलले भन्नुभयो, “यसअघि चराहरू देख्न पाइएको थियो । यस वर्ष समूह–समूहमा कस्तुरी नाचेको देख्दा रमाइलो लाग्यो ।”

कस्तुरीको समूहले पर्यटकको मन लोभ्याउनाले यहाँ आउने पर्यटक बढ्ने उहाँले बताउनुभयो । विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको यस स्थानमा लघु जलविद्युत् आयोजना बनेपछि दाउराको प्रयोग कम भएको छ । यसले जङ्गल जाने र रुख काट्ने क्रम घटेको छ । गत वर्ष क्यान्जिङमा जलविद्युत् आयोजना निर्माण भएपछि क्यान्जिङ र लाङ्टाङ गाउँमा बत्ती बलेपछि नियमित खाना पकाउन पनि सजिलो भएको स्थानीय सुप्पा लामाले बताउनुभयो ।

लामाले भन्नुभयो, “अहिले सबैले वन जोगाउनुपर्छ भन्ने बुझेका छन् । जङ्गलै नगएपछि कस्तुरीको बासस्थान नाश भएन, बेलाबेलामा गस्ती गरेपछि कस्तुरी र वन्यजन्तु निकै बढेर घरआँगनमा नाच्न आइपुग्छ । नेपाल भ्रमण वर्षको सुरुमा यहाँ आएका पर्यटक अहिले त्यहाँ पुगेर रमाएका छन् । दैनिक दुई–चार समूहमा कस्तुरी गाउँमै चरिरहेको हामी भेट्छाँै, स्थानीय कर्म लामाले भन्नुभयो, “विदेशी तथा स्वदेशी पर्यटकको मन लोभ्याउँछ । रमाएर फोटो खिच्छन् । दुई÷चार दिन बसाइ लम्ब्याउँछन् ।”

लाङ्टाङ र क्यान्जिन भेगमा ठूलो सङ्ख्यामा कस्तुरी देखिन थालेपछि लाङ्टाङवासीले संरक्षणमा देखाएको तत्परता सार्थक र सफल भएको बताएका छन् । “पहिले फाट्टफुट्ट कस्तुरी देखिन्थ्यो, अहिले कस्तुरीको सङ्ख्या बढेर १०÷१२ वटा समूहमा क्यान्जिङ गुम्बा आसपास र बस्तीमै आउँछन्,” स्थानीय फिन्जो तामाङले भन्नुभयो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका रेन्जर रमेश बस्नेतका अनुसार कस्तुरीको सङ्ख्या बढेको विभिन्न स्रोतले देखाएको छ । अहिले कस्तुरी देखेर पर्यटक रमाएका छन् । यकिन तथ्याङ्क भने नभएको बस्नेतले बताउनुभयो । यसअघि रेन्जर मिलन सापकोटाले लाङ्टाङमा हिमालयन थारको अध्ययन गर्नुभएको थियो । थारको सङ्ख्या गत वर्ष ४१० देखिएकोमा यस वर्ष ४५० वटा छन् । कस्तुरी ठूलो सङ्ख्यामा देख्न पाए पनि सङ्ख्या भने यकिन भएको छैन ।

स्थानीय चोरीसिकारी नियन्त्रण समूहको सक्रियताले चोरीसिकारी न्यून भएकाले वन्यजन्तुको सङ्ख्या बढेको स्थानीय ग्याल्बो तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “यतिबेला नेपाल भ्रमण वर्षमा आउने पर्यटक यहाँ हिमालयन थार, कस्तुरी मृग, हिमचितुवा देखेर रमेका छन् । कस्तुरीलाई जङ्गली कुकुरलगायत वन्यजन्तुले खाने गर्दछन् भने हिमालयन थार हिमचितुवाको आहारा हो । कस्तुरी जातिमध्येको हिमाली भेगमा बस्ने सबैभन्दा खतरामा परेको कस्तुरी मृग हो । हेमनाथ खतिवडाले गोरखापत्रमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *