४ विद्यार्थी २ शिक्षक : विद्यालय टिकाउन हुँदै नभएका विद्यार्थीको उपस्थिति

Spread the love

फिदिम : चार विद्यार्थी बरको रुखमुनि खेलिरहेका छन्। शिक्षक रामकुमार तामाङ र कार्यालय सहयोगी विद्यार्थी नजिकै कुर्सीमा घाम तापिरहेका छन्। गाउँका एक अभिभावक बच्चा काखी च्यापेर शिक्षकसँग गफ गरिरहेका छन्। कक्षाकोठाका डेक्स–बेन्च रित्तै छन्। पाँचथर फाल्गुन्द गाउँपालिका–१ स्थित तिरतिरे आधारभूत विद्यालयमा गत सोमबार दिउँसो देखिएको दृश्य हो यो।

शिक्षक तामाङले विद्यालयमा चार जना मात्रै विद्यार्थी भएको बताए। ‘हामी दुई शिक्षक र एक कार्यालय सहयोगी छौं’, तामाङले भने, ‘अहिले हेडसर स्कुल आउनुभएको छैन।’ हाजिरी खातामा २२ जना विद्यार्थीको नाम लेखिएको छ। प्रधानाध्यापक कृष्णकला चापागार्इं विद्यालयमा उपस्थित थिइनन्।

विद्यालयमा दुई घरका चार विद्यार्थी मात्र पढ्न जान्छन्। एक कक्षामा रोजन श्रेष्ठ, दुई कक्षामा टीकादेवी श्रेष्ठ, तीन कक्षामा सुनीता तामाङ र पाँच कक्षामा निर्मला तामाङ पढ्छन्। चार कक्षामा विद्यार्थी छैनन्।

विद्यार्थीलाई आफूले पढ्ने कक्षा थाहै छैन। विद्यालय टिकाउन हुँदै नभएका विद्यार्थीको उपस्थिति देखाउनुपरेको प्रधानाध्यापक चापागाईंको भनाइ छ। विद्यालय आएका विद्यार्थीलाई पनि शिक्षकले पढाउँदैनन्। कक्षा ५ मा पढ्ने निर्मलालाई क–खसमेत पढ्न गाह्रो पर्छ। ‘नाम लेख्न र पढ्न पनि आउँदैन,’ उनले भनिन्।

आफू भर्खरै नियुक्ति भएकाले विद्यालयबारे धेरै जानकारी नभएको शिक्षक तामाङले बताए। ‘विद्यालय र समुदायबीच सम्बन्ध राम्रो रहेनछ,’ तामाङले भने, ‘शिक्षकको पनि कमजोरी देखिन्छ।’ तामाङ मंसिर ८ गते विद्यालयमा नियुक्ति भएका हुन्। आफू आउँदा दुई जना मात्र विद्यार्थी भएको उनले सुनाए। ‘अभिभावकसँगको अन्तरक्रियापछि चार जना भएका हुन्,’ उनले भने।

राजनीतिक चलखेलका कारण विद्यालय चलाउन गाह्रो भएको प्रधानाध्यापक चापागाईंले बताइन्। उनले भिनन्, ‘नजिकै अन्य विद्यालय भएकाले विद्यार्थी अभाव भएको हो।’ शिक्षकको लापरबाहीका कारण विद्यालयमा बालबच्चा पठाउन छाडेको स्थानीयको भनाइ छ। विद्यालयमा शिक्षक नियमित उपस्थिति नहुने, उपस्थित भए पनि विद्यार्थीलाई नपढाउने गरेकाले स्कुलले विद्यार्थी पाउन छाडेको हो। ‘बालबच्चाको भविष्य बिगार्न अभिभावकको मन हुँदैन,’ एक अभिभावकले भने, ‘पढाइ नै नहुने स्कुलमा किन बच्चा पठाउने ? ’

अभिभावक भेला राखेर यस्तो विद्यालयलाई मर्जको प्रक्रियामा लैजाने शिक्षा विकास तथा समन्वय एकाइका समन्वय प्रमुख युगमणि सबेहाङको भनाइ छ। ‘यस्तो अवस्थामा भएको विद्यालयलाई मर्च गर्न स्थानीय तहसँग समन्वय गर्नेछौं,’ सबेहाङले भने, ‘गाउँपालिकाले त्यसका लागि भूमिका खेल्नुपर्छ।’ शिक्षा ऐनले २० जना विद्यार्थीका लागि एक जना शिक्षक रहने व्यवस्था गरेको छ। भीमकुमार बाँस्कोटाले अन्नपूर्णमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *