दुई ‘कमरेड’ भीम रावल र सूर्य थापाबीच जुहारी, सामाजिक सञ्जालमा खुइल्याउने अभियान जारी

Spread the love

काठमाडौं, पुस १५ । नेकपाका स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच एकार्कालाई खुइल्याउने होड चलेको छ । दुवै नेताले एकले अर्कालाई होच्याउन सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् ।

पार्टी र सरकारका गतिविधिप्रति निकै आलोचक देखिएका नेता रावललाई थापाले ‘एक्लो बृहस्पति नबन्न’ चेतावनी दिएपछि रावलले पनि जवाफ फर्काएका छन् । थापालाई रावलले ‘केपी ओलीसँग म जेल बसेका बेला तपाइँ दश महिनाको शिशु हुनुहुन्थ्यो’ भन्दै जवाफ फर्काएका छन् ।

रावलले प्रश्न गरेका छन्, ‘के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै हो त ? के अब देश कुनै नयाँ रङको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त ?’

‘निरंकुशताको नयाँ अभ्यास थालिएको हो ?’ रावलको प्रश्न

सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रधानमन्त्री केपी ओलीजी पनि त्यही हुनुहुन्थ्यो । तर उहाँका सल्लाकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो । अतः मैले कुन सन्दर्भमा देशको पक्षमा कस्ता कविता, लेख, दस्तावेज लेखेँ र आन्दोलनमा नेतृत्व गरेँ भन्ने कुरा उहाँलाई थाहा नुहुनु स्वाभाविक हो । मैले नेपालको संविधान तथा नेकपाको राजनीतिक सिद्धान्त र नीतिअनुरुप देश र जनताको पक्षमा बोल्दा मलाई ‘राष्ट्रवाद’को बहसमा उत्रेको हो भनी धम्की दिएको पढ्दा २०३३ सालमा ‘श्री ५ को सरकारको घुँडा टेकुवा नीति मूर्दावाद’ भन्ने पर्चा निकालेकोमा तत्कालीन निरंकुश शासकहरुले राजकाज मुद्दा लगाएर झ्यालखानामा थुनेको सम्झना भयो । मैले देशको पक्षमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओलीजीका सल्लाहकारले धम्की दिएपछि सम्पूर्ण नेपाली जनताको तर्फबाट म पनि प्रश्न गर्न चाहन्छुः के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै हो त ? के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त ? म राष्ट्रिय हित, जनता, संविधान, पार्टी विधानको पक्षमा र कुनैपनि रङको निरंकुशताको विरुद्ध अगाडि बढ्न तयार छु ।’

प्रधानमन्त्रीका सल्लाहकार थापाले आफूलाई धम्की दिए पनि यस्ता धम्कीले ‘सुकेको हाँगाको पात पनि नझर्ने’ जवाफ रावलले फर्काएका छन् । उनले लेखेका छन्, ‘सूर्य थापाजीले ‘एक्लो बृहस्पति’ हुनलागेको भनेर पार्टी कार्यकर्ता र सदस्य तथा देशभक्त नेपाली जनतालाई दिनुभएको धम्कीले सुकेको हाँगाको पात पनि झर्दैन ।’

थापामाथि वामदेवलाई हराउन षड्यन्त्र गरेको आरोप

रावलले थापामाथि गत चुनावमा वामदेव गौतमलाई हराउन षड्यन्त्र गरेको आरोप लगाउँदै लेखेका छन्, ‘गत आम निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्रबाट नेकपाको उम्मेदवार हुनुभएका कमरेड वामदेव गौतमलाई हराउनको लागि पार्टी केन्द्रीय कार्यालयमा बसेर षड्यन्त्र गर्ने सूर्य थापालाई कारबाही गर्नुपर्नेमा प्रधानमन्त्रीले पुरस्कृत किन गर्नुभयो ? कारबाही होस् भनेर कमरेड वामदेव गौतमले स्थायी कमिटीको भर्खरै सम्पन्न चौथो बैठकलगायत अनेकपटक कुरा त्यतिकै उठाउनु भएको रहेनछ । निरंकुश राणा शासकहरु कवि शिरोमणि लेखनाथको पिँजडाको सुगा भन्ने कविताबाट तर्सेका थिए । मैले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको कविता पार्टी विधान, पद्धति, राष्ट्रिय हित र स्वाभिमानको पक्षमा कति शक्तिशाली रहेछ भन्ने मलाई महसुस भएको छ, सूर्य थापाजीले तर्सेर निन्दा गरेको पढ्दा । जबसम्म देशमाथि विगतका निरंकुश व्यवस्थाहरुले थोपरेका असमान सन्धि–सम्झौताहरु रहिरहने छन्, नेपालमा बाह्य हस्तक्षेप भइरहनेछ । शासकहरु विधि, पद्धति र राष्ट्रिय हित प्रतिकूल काम गरिहने छन्, तबसम्म मैलेमात्र होइन, देशभक्त–लोकतन्त्रवादी नेपालीहरुले मैले लेखेजस्ता कविता र गीत लेखिरहने छन्, मन्तव्य दिइनै रहनेछन् र आवश्यक परेमा अझ सशक्तरुपमा उत्रनेछन् ।’

‘होली वाइन’ प्रकरणको आलोचना

‘होली वाइन’देखि ‘आइफाड’ पुरस्कार, तरकारीमा विषादी परीक्षणदेखि राजपासँग गरिएको सम्झौतासम्म आफूले भनेको कुनैपनि कुरा तथ्यसँग मेल खाँदैन भनेर प्रमाणित गर्न सल्लाहकार थापालाई रावलले चुनौती दिएका छन् ।

सरकार होइन, गुट चलाएको आरोप

‘सल्लाहकारको सल्लाह भए २०३२ सालमा मैले झ्यालखानादेखि तत्कालीन नेकपा (एमाले)मा देखे–भोगेका कुरा र गुटबन्टीका पत्र–पत्रहरुलगायत अन्य तथ्यहरुमा समेत बहस गरौँला । यद्यपि, जुन देशमा सरकार चलाउनु पर्नेले गुट चलाउन थाल्छन्, त्यहाँका सल्लाहकारहरुबाट धेरै अपेक्षा गर्नु सायद उचित हुँदैन होला’, रावलले अगाडि लेखेका छन् ।

रावलको राष्ट्रवादमाथि थापाको शंका ?

यसअघि, रावलले लिम्पियाधुराबारे लेखेका दुई कविता उद्धृत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा व्यंग्य गरेका थिए ।

रावलले २०५६ सालमा लेखेको ‘लिम्पियाधुरा’ र उनले हालै स्थायी कमिटी बैठक चलिरहँदा बैठकमै सुनाएको ‘धुवाँले छोपिँदै दियो’ शीर्षकको कविता सामाजिक सञ्जालमा शेयर गर्दै थापाले कटाक्ष गरेका हुन् ।

पुरानो र नयाँ कवि तपाइँ नै हो भन्ने विश्वास नलागेर सार्वजनिक खपतका लागि दुवै कविता प्रस्तुत गरेको उल्लेख गर्दै थापाले रावललाई ‘राष्ट्रवाद’को बहसमा बुझेर नै उत्रिनुभएको हो त ?’ भन्ने प्रश्न गरेका थिए ।

थापाले रावललाई कटाक्ष गर्दै फेसबुकमा लेखेका थिए, ‘पार्टीले तपाइँका कविताबमोजिम चलिदिनुपर्ने कि कसो हो ? यी दुई कविताको ‘पुरानो’ र ‘नयाँ कवि’ तपाइँ नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुवै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ ।

रावलमाथि तथ्यको भ्रष्टीकरण गरेको आरोप, एक्लो बृहस्पति नबन्न चेतावनी

रावलले तथ्यको भ्रष्टीकरण गरेको आरोप लगाउँदै थापाले लेखेका छन्, ‘म पुरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ । तर, स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भर्त्सनाको मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन । तपाइँका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत् पक्षले क्रमशः पापराजीको फन्दामा उहिले डायना परेजस्तो वा आज तपाइँ परिरहेको अनुभव भइरहेको छ । यो नबुझेर वा नजानेर त पक्कै गर्नुभएको होइन होला ? एक्लो ‘बृहस्पति’ बन्न नखोज्नु नै हितकर हुन्छ होला !’

टाउकोले आकाश थाम्न खोजेको थापाको आरोप

तपाइँकै ‘सहप्रवक्ता’ भन्दै कटाक्ष टुंग्याएका थापाले भनेका छन्, ‘तपाइँको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिँदैन । कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले थामेको आकाशमात्रै थाम्न खोज्नु उचित होला कि ! विषयको संवेदनशीलता र गम्भीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन । आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दि !’

यो प्रकरणको सुरुआत भने केही समयअघि सम्पन्न पार्टी स्थायी कमिटी बैठकका निर्णय मिडियामा रावलले सार्वजनिक गरेको भन्दै थापाले आलोचना गरेपछि सुरु भएको हो । त्यसबेला रावलले पनि आफूलाई जिम्मेवारीको उपदेश दिने धृष्टता नगर्न थापालाई सचेत गराएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *