मर्यादा बिर्सेपछि प्रचण्डपुत्री रेणुको बेल्जियममा बेइज्जत

Spread the love

बेल्जियम : कुटनीतिक मर्यादा र पदीय दायित्वको ख्याल नगरी विदेश भ्रमणको लोभमा देशको स्वाभिमान र पहिचान धमिलो बनाउने काम देशको प्रधानमन्त्री, मन्त्री र अन्य विशिष्ठ ओहदामा रहेका नेपाली नेताहरुले गर्दै आएका छन् ।

राष्ट्रको लागि यस्तै लज्जाजनक घटना सरकारको नेतृत्व गरिरहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री एवं भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहको बेल्जियम भ्रमणमा पनि भएको छ ।

चितवन पैत्रिक थलो भएका बेल्जियमको दक्षिणपन्थी पार्टी एनभेआका कार्यकर्ता कृष्ण रेग्मीको निमन्त्रणामा बेल्जियमको नौ दिन लामो भ्रमणमा आएको महानगरको नेतृत्वको अपरिपक्वता र रेग्मीको हुन र गर्न सकिने भन्दा बढी प्रचार र आश्वासनले रेणु दाहालको टोली, उनको पार्टीको प्रवास कमिटी र स्वयम कृष्ण रेग्मी पनि असन्तुष्ट देखिएका छन् ।

युरोपियन युनियन हेर्ने गरी बेल्जियममा रहेको नेपाली दूतावास, नेकपाको प्रवासी संगठन बेल्जियमलाई कुनै औपचारिक जानकारी नगराई ब्यक्ति बिशेषको योजनामा राज्यको जिम्मेवारी बोकेका पदाधिकारी विदेश भ्रमणमा जानु र प्रचार गरिएका कार्यक्रम हुन नसक्नु वा तय नभएका कार्यक्रमको प्रचार गरेर भ्रम सिर्जना गर्नु भित्रको बिषय शंकारहित अवश्य छैनन् ।

चितवन सहायता कोषले जिल्लाको महानगरका प्रमूख र उपप्रमूखको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा मेयर रेणु दाहालले भ्रमण बारे शंका नगर्न अनुरोध गर्दै ‘सबै सामान्य छ र हो’ भन्ने प्रयास गरे पनि उनी स्वयम असन्तुष्ठ रहेको प्रष्ट बुझिन्थ्यो ।

अनौपचारिक कुराकानीमा नेकपाका कार्यकर्ताहरुले आफुहरुलाई कुनै जानकारी नगराई यहाँ पछी मात्र संपर्क भएको बताउछन । यहाँ पनि रेग्मीले आफ्नो तरिकाले कार्यक्रम बनाउने तर भनेका कार्यक्रमहरु नहुने भए पछी दाहालको टोली रिसाएर स्वीटजरल्यान्ड तिर घुम्न हिंडेको थियो ।

रेग्मीको पार्टीका अध्यक्ष एबम एन्तवेरपेन नगरपालिका मेयर बार्ट द वेभरलाई भेट्ने भनेर तय गरिएको स्थानमा पुग्दा रेग्मी आईनपुगेकाले र मेयरको अफिसमा मीटिङका लागि कुनै समय तय नभएको थाहा भए पछी उनीहरु जिल्लिएका थिए ।

नगरपालिकाहरु सँग भगिनी सम्बन्ध, फोहरमैला ब्यबस्थापनबारे सम्झौता र भरतपुरलाई स्मार्ट सिटी बनाउने प्राबिधिक सहयोग हुने लगायतका बिषयमा सम्झौता हुने भनिएकोमा केही पनि उपलब्धी नभए पछि र यस खाले घटनाबाट नेकपाका कार्यकर्ताहरु असन्तुष्ट रहेको बुझे पछि मेयर दाहाल कार्यकर्ताहरुकोमा बस्न खोज्ने तर रेग्मीले त्यसो गर्न नदिने गर्दा झन असहज अवस्थाको सिर्जना भएको थियो ।

गैर आबासीय नेपाली संघका सह-कोषाध्यक्ष लोक दाहालले मेयरको टोलीलाई सके सम्म सहयोग गरेको र सार्वजनिक भएका कार्यक्रमहरु नहुने भए पछी आफुले स्विटजरल्यान्ड, जर्मनी लगायतका देशको अवलोकन भ्रमण गराएको बताए ।

दुईपक्षीय सम्झौताका लागि दुताबास मार्फत गरिनु पर्ने कुटनितिक पहल आवश्यक हुने विश्वब्यापी मान्यता रहे पनि यस बिषयमा दूतावासलाई कुनै जानकारी नआएको दूतावास श्रोतले जनाएको छ ।

साधारण खुद्रा पसल गरेर परिवार पालीरहेका कृष्ण रेग्मी नेपालमा महाभूकम्प गए पछी त्यही मानववीय सम्बेदनालाई प्रयोग गरेर श्रीमती, सालो र आफु रहेको गैरसरकारी संस्था खोलेर यूरोपियनहरुबाट साँढे तीन लाख यूरो (करिब चार करोड नेपाली रुपैया) संकलन गरेका थिए ।

स्कुलका विद्यार्थीलाई किताब झोला बाँडेर दुई चार लाख नेपाली खर्च गरेर बाँकी पैसाले बेल्जियममा घर र ब्यवसाय खरिद गरेको प्रमाणित भए पछी नेपाली दूतावास, नेपाली समुदाय र स्वयम उनको पार्टीले उनलाई स्पष्टिकरण सोधेको थियो ।

पार्टीलाई किताब र झोला बांडेको फोटो देखाएर, काम गरेको स्कुल बनाउन दिएको भनेर नक्कली बिल पेश गरेर केश सुल्झाए पनि नेपाली समुदाय र नेपाली दूतावास सँग भाग्दै हिंड्ने गरेकाले दूतावास सँग कुनै तालमेल गर्न सकेका थिएनन् ।

फ्लामिस मिनिस्टर प्रसिडेन्टलाई बिशेष सोर्स लाएर मेयर दाहालको टोलीले भेट गरे पनि स्वयम प्रसिडेन्ट यान याम्बोनले केही सहयोग गर्न नसकिने भनेपछी टिम अपमानित भएर फर्किएको थियो । सो भेट बारे रेग्मी आफैले सेयर गरेको भिडियोमै पनि भनेका छन् ।

आफ्नो चितवनमा बनाउन लागेको रिसोर्टका लागि सरकारी सहयोग पाउन र बेल्जियमको नेपाली दूतावास र नेपाली समुदायलाई देखाइदिन्छु भन्ने अभिमानको पूर्ती गर्न एकजना ठग ब्यक्तीले तयार गरेको डिजाइनमा मेयर दाहालले देशको र स्वयम आफ्नै बेइज्जत गरेकी छिन् ।

के लेखिन् रेणुले ?

रेणु दाहालले भने युरोप भ्रमणबाट फर्केपछि फेसबुकमा यस्तो लेखेकी छिन्, ‘एक हप्ताको युरोप भ्रमण निकै फलदायी र उपलब्धीमुलक रह्यो बिशेष गरी त्यहांस्थित बिभिन्न राजनैतिक , कुटनीतीक भेटघाट एंव नेपाली संघ संस्थाहरू संगको भेटघाट छलफल अन्तरकृया हाम्रा लागी बिशेष महत्वपुर्ण बनेको छ। यस भ्रमण कार्यक्रम सफल पार्नका लागी सकृय सहयोग पुर्याउनु हुने युरोपस्थित सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबैनिहरू नेपाली दुताबास एंव राजदुत लोक ब थापा ज्यु विशेष गरी आदरणिय दाजु लोक दाहालज्यूप्रति हार्दिक आभार ब्यक्त गर्दछौं।’ – हाम्रा कुरा डट कम

हाम्रा कुरा डट कममा समाचार प्रकाशित भएपछि कृष्ण रेग्मीले आफ्नो प्रतिक्रिया राखेका छन् । उनको प्रतिक्रिया जस्ताको तस्तै :

म विगत १८ वर्षवाट वेल्जियममा वस्दछु, दैनिक १८०० नेपाली जसरी विदेसिन्छन पनि त्यहि पीडा र सपना साचेर विदेशीएको कर्मवीर छोरो हु। प्रवास वस्दा अनेकौ हण्डर खाईयो, साह्रै दुख पाईयो, तर पनि मेहनत नगरी जीवन निर्वाह चल्दैन भन्ने सोच्न छोडिएन, आज उप्रान्त दैनिक १८ औ घण्टा शारिररीक परिश्रम गरिन्छ र गरिरहेको छु।समाचारमा जे जसरी कन्टेनट आयो साह्रै दुखद छ, म विगत २००९ वाट वेल्जियमको सत्तारुढ दल एनभीएको क्षेत्रीय सदस्य हुदै नगरपालिकाको सल्लाहकारको भूमिकामा अहिले पनि कार्यरत छु, पार्टीको संगठन विभागको जिम्मेवारी लिई रहेको छु । कसैको माया दयाले यो सम्भव भएको होईन। नेपालमा भुकुम्प जांदा यहा वसेर नेपालका लागि जे सकिन्छ गरिएकै हो, जो जस्ले जे जति सहयोग गरे ति ति व्यक्तिहरुलाई आफ्नै खर्चमा लगेर सम्वन्धित क्षेत्रमा हस्तान्तरण गरेरै फर्किएको सत्य हो, जे जति सहयोग गरे त्यो सवै वैंकिंग प्रणाली मार्फत भएको थियो। कहि कसैले नगद लिएको र दिएको प्रमाण दिए भने जीवनभर सामाजिक जीवन त्याग्ने छु, त्यस्तो अनियमिता र आशंका केही र कहि छैन।

नेपालको पर्यटन र विकासमा मैले व्यक्तिगतरुपमा सकेको प्रमोट गरेको छु, वेल्जियमका १२ सांसदहरु सहितको टोली लिएर नेपाल घुमाएको छु, वेल्जियमका मेयर उपमेयरहरु सहितको टोली लगेर नेपाल देखाएको छु, वेल्जियमका नेपालीका रेष्टुरेन्टहरु उद्धाटनमा यहाका स्थानीय मन्त्री सांसद लगेर ओपनिंग गराएको छु। विगत १० वर्षमा वेल्जियमका नेपालीहरुले शीर ठाडो पारेर हिड्ने वातावरण र प्रचार गरेको छु । यो हरेक वेल्जियम वस्ने नेपालीहरुलाई जानकारी छ ।

यसै सन्दर्भमा दुई वर्ष अगाडि वेल्जियमको डुफल शहर र डुम्रे भन्सार नगर समिति विचको मैत्री सम्वन्ध स्थापना गरे पछि भरतपुर महानगर पालिका र यहाका स्थानीय सरकारहरुविच सम्वन्ध गराउने र भरतपुर महानगरपालिकाको विकासमा वेल्जियमवाट सहयोग गर्न पहल गर्ने पवित्र उदेश्यका साथ मेरै पहलमा यहाको पार्टी र सरकारसंग समन्वय गरेर उहाहरुलाई हाम्रो नीजि खर्चमा डाकिएको थियो। कार्यक्रमहरु, वैठ्क, भेटघाट सहितको डाटा लिखित दिएर उहाहरु नेपालवाट यहा आउनु भएको थियो, उहाहरु आईतवार विहान उड्नु पर्ने तर शुक्रवार विहान सम्म एक जमात यो भ्रमण रोक्न प्रयास गर्दै थियो । त्यो जमात चाहान्थ्यो यो भ्रमण नहोस वा रद्ध गरियोस तर त्यसो भएन। आईतवार उहाहरु आउनु भो, मेरो संयोजनमा निमन्त्रणा गरेको हुदा मनै एयरपोर्टसम्म उहाहरुलाई स्वागत गर्न गए। यो ८ नोभेम्वरको घटना हो , उहाहरु ९ तारिख आईपुग्नु पर्ने तर टिकटमा प्राविधिक समस्याका कारण ८ तारिख नै आईपग्नु भो, निर्धारित कार्यक्रम भन्दा १ दिन अगाडि आईपुग्नु भएको हुदा मेरो निजी खर्चमा उहाहरुलाई आमस्टरडाममा होटेलमा राखेर भोली पल्ट ९ तारिक त्यहाको शहरमा साईकल लेन र शहर व्यवस्थापन सम्वन्धी घुमघाम गराईयो र देखाईयो, दिउसोको खाना खाने समयमा त्यहास्थित नेपाली समुदायहरुसंग भेटघाट गराईयो ।

त्यसपछि साझ द हेग हुदै वेल्जियम आईपुगियो । अघिल्लो दिनसम्म भम्रण रद्ध गराउन पहल गर्नेहरु सोही दिनवाट अगाडि पछाडि हिड्न थाले यो सकारात्मक पाटो थियो। नोभेम्वर १० तारिख उहाहरुको निर्धारित कार्यक्रमहरु डुफल नगरपालिकासंग आधिकारिक वैठक थियो। त्यो सौहार्दपूर्वक सकियो। ११ तारिखका निर्धारित कार्यक्रम अनुसार वेल्जियमको फलामिस प्रधानमन्त्रीसंगको दुई पक्षीय वार्ता अत्यन्तै महत्वपूर्ण तवरवाट सकियो, त्यसै दिन युरोपियन युनियनको इसिआर ग्रुपकी उपाध्यक्ष असिता कान्कोसंग भेटवार्ता भो, युरोपियन संसदको चालु वैठक अवसोकन गर्यो टोलीले।

त्यसपछि टोलीले सोही दिन साँझ ग्रोवेन डोक्क नगरपालिकाको मेयर तथा फेडरल सांसद मारियान फरहार्त सहित नगरपालिकाको टोलीसंग भेटवार्ता र रात्री भोज गर्यो । १२ तारिख नोभेम्वरमा १३:३० वजे आन्त्रोपेन प्रोभिन्स प्रमुख लुक लेमन्ससंगको वार्ता वैठक हुन ३० मिनेट अगाडि टोली प्रोभिन्स हाउस अगाडि पुगेको हो, उहाहरु व्रसेल्सवाट त्यहा आउदै हुनुहुन्थ्यो। म मेरै घरवाट जादै थिए, समय भनेको समय हो। १३:३० मा हुने वैठक हुनु १५ मिनेट पूर्व भो सवै कार्यक्रम रद्ध गरौ स्वीस जाउ की जाउ भन्ने कुरा मेयर साववाट आए पछि यदि त्यसो हो भने म फोन गरेर रद्ध गर्छु भने पछि मात्र कार्यक्रम रद्ध भएका हुनI त्यसपछि ३:३० सोही दिन मेरो पार्टी सभापति वार्थ दे वेभरसंगको अति महत्वपूर्ण वैठक समेत रद्ध भएकै हो, त्यस पछि शुक्रवारका खास फोहोर मैला सम्वन्ध दुई नगरपालिकामा हुने प्राविधिक सहितको तालिमको कार्यक्रम समेत स्वतह रद्ध भएका हुन। त्यसपछि टोली स्वीस, जर्मन, फ्रान्स, लक्जेम्वर्ग घुम्न गएको हो, यसमा ड्राईभरको काम लोक दाहालले गरेको हुन, भएको यत्ति हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *