राजधानीका ट्राफिक बत्ती : १ सय ३८ ठाउँमा आवश्यक, एक ठाउँ पनि बल्दैन

Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा १३८ ठाउँमा ट्राफिक बत्ती आवश्यक भए पनि अहिले यसअघि प्रयोगमा आएका पनि बल्न छाडेका छन् ।

सवारी व्यवस्थापनमा मुख्य भूमिका खेल्ने ट्राफिक बत्ती नबल्दा ट्राफिक प्रहरी हातको इसारामा काम गर्न बाध्य छन् । सरोकारवाला निकाय भने एकअर्कालाई देखाएर पन्छिन्छन् ।

काठमाडौं उपत्यकामा दैनिक १३/१४ लाख सवारी साधन चल्छन् । ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिनुका साथै पैदल यात्रु र सवारी चालकले अनावश्यक हैरानी खेप्नुपरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बत्ती नै बल्न छाडेको जनाएको छ । सम्बन्धित स्टेक होल्डरलाई पटकपटक बत्ती व्यवस्थापन गर्न अनुरोध गर्दा पनि बेवास्ता भएको महाशाखा बताउँछ ।

काठमाडौं महानगरपालिकाले आठ मिटरभन्दा माथिको सडकमा सडक बत्ती बनाउने काम सडक विभागको भए पनि जिम्मेवारी पूरा नगरेको बताएको छ ।

‘हामीले बनाउन अनुरोध गरेका हौं, विभागले बनाउँछौं, बत्ती हाल्छौं भन्छ तर काम भएको छैन,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने । २०३७ सालमा जाइकाले उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । त्यसपछि केही वर्ष बत्ती बले पनि फेरि बत्ती बल्न छाडेको छ ।

सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा काठमाडौं महानगरपालिकाको सक्रियतामा चैत २०७४ मा दशकपछि ११ ठाउँमा ट्राफिक बत्ती सञ्चालनमा आएको थियो ।

तर, अहिले ती बत्ती बिग्रिएर कुनै पनि ठाउँमा सञ्चालनमा छैनन् । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्मोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, सुनधारा र सोल्टीमोड चोकलगायत विभिन्न ठाउँमा ट्राफिक बत्ती सञ्चालन गरिएको थियो । ती स्थानमा अहिले बत्ती नै बल्न छाडेका छन् ।

यस्तै, उपत्यकाभित्रका सवारीसाधन व्यवस्थापन गर्नका लागि कालिमाटी, थापाथली, माइतीघर, सिंहदरबार, पुतलीसडक, केशरमल, गौशला, कोटेश्वरलगायतका क्षेत्रमा ट्राफिक बत्ती जडान गरे पनि ती ठाउँमा बत्तीका पोल र नबल्ने बत्ती मात्र देख्न सकिन्छ ।

ट्राफिक जाम न्यूनीकरण गर्नका लागि उपत्यकाभित्र १३९ स्थानमा ट्राफिक बत्तीको आवश्यकता देखिएको महानगरीय ट्राफिक महाशाखा जनाएको छ । काठमाडौं महानगरपालिकाले सडक विभागबाट काठमाडौंमा बत्ती मर्मत तथा जडान नगरेको भन्दै आफैं व्यवस्थापन गर्ने तयारीमा रहेको जनाएको छ ।

आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *