सडक पुगे पनि खच्चरकै भर

Spread the love

डडेल्धुरा : डडेल्धुरा जिल्लाका प्रायः सबै ग्रामीण वस्तीमा सडकको पहुँच पुगेको छ। धेरैजसो स्थानमा सडक पुगे पनि कतिपय सडकमा गाडी नचल्दा दुर्गम वस्ती भने खच्चर, घोडाकै भरमा सामान ढुवानी गर्छन्। गाउँबाट बजारसम्म र बजारका उपभोग्य सामग्री गाउँसम्म लैजान खच्चरकै भरपर्नुपर्ने अवस्था छ। धनबहादुर भण्डारीले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

जिल्लाका भित्री मधेस आलिताल र परशुराम नगरपालिकाका केही वडाबाहेक पहाडी क्षेत्रका सबै वडा सडक सञ्जालले छोएको छ। अमरगढी नगरपालिकासहित अन्य तीनवटा गाउँपालिकाका हरेक वस्ती तथा वडा सदरमुकामसम्म बाटोले छोएको भए पनि धेरैजसो ग्रामीण सडकमा गाडी नै चल्दैनन्। कतिपयमा फाटफुट गाडी गुडे पनि नियमित नचल्दा पुरानै साधनको भर पर्नु परेको अजयमेरु २ कोइरालीका मनोज ऐरले बताए।

अजयमेरु, नवदुर्गा र भागेश्वर गाउँपालिकामा सडकको पहुँच पुगेको भए पनि धेरै व्यवसायीले खच्चर र घोडा पालेका छन्। दैनिक उपभोग्य सामग्रीसँगै अन्य आवश्यक खाद्य पदार्थ पनि खच्चरकै सहारामा गाउँसम्म पुगाउने गरेको स्थानीय व्यापारीले बताए। खच्चरबाट समान मगाउँदा उपभोक्तासमेत मारमा पर्छन्। ढुवानी खर्च गाडीभन्दा बढी पर्ने भएकाले उभोक्ताले चर्को मूल्य हाली दैनिक उपभेग्यका सामग्री खरिद गर्नुपर्ने वाध्यता रहेको भागेश्वर ४ का निरजनाथले बताए।

स्थानीय सर्वसधारण सुत्केरी र बिरामी पर्दासमेत मानिसले स्टेचर वा घोडामा बोक्नुपर्ने वाध्यता हटेको छैन। नियमित गाडी नचल्दा बोकेर लैजानुपर्ने वाध्यता उस्तै रहेको भागेश्वर वलकाडेँका शिक्षक लिला मडैले बताइन्। वर्षात्को समयमा त जिल्ला सदरमुकामका स्वास्थ्य संस्थासम्म बोकेरै पुर्‍याउनुपर्ने पीडा भागेश्वर गाउँपालिका ४ वलकाँडेका स्थानीयको रहेको छ।

अन्य समयमा वडा सदरमुकामसम्म गाडीको सहजता भए पनि धेरै जसो दुर्गम लेकाली वस्तीमा सडक पुगाउन नसकिएको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले बताइन्। पातलो वस्ती र दुर्गम स्थानको बसाइका कारण सडक लैजान धेरै खर्चिलो हुने उनको भनाइ छ। तर, उनीहरूको सहजताका लागि कतिपय स्थानसम्म सडक पुर्‍याउने काम भइरहेको अध्यक्ष भट्टले बताइन्।

यस्तै महाभारत र महाकाली किनार तथा छेउछाउका मानिस खच्चर, घोडा र भेडाकै भरमा सामग्री ढुवानी गर्छन्। उनीहरूलाई सदरमुकामसम्म पुग्न पनि दिनभरको बाटो हिँडेर आउनुपर्ने वाध्यता छ। बिरामीलाई पनि खच्चर घोडाकै भरमा अस्पताल लैजान्छन्। धेरै सिकिस्त बिरामी भए मानिसले नै बोक्छन् भन्छन् गांखेतका स्थानीय।

माहाभारको छेउसम्म गाडी पुगेका छैन। ‘गाउँपालिका सदरमुकामसम्म पुग्न पनि तीन चार घण्टा हिँड्नुपर्ने हुन्छ’, आलितालका स्थानीय रघुवीर धामीले बताए।

परशुरामका वसौटी, कुज्र्यानी, छेला, कुँडाजस्ता दुर्गम गाउँमा गाडीको पहँुच पुग्न सकेको छैन। तर, केही स्थानमा अहिले सडक बाटो पुर्‍याउने कार्य भइरहेको परशुरामका मेयर भीमबहादुर साउदले बताए।

ग्रामीण क्षेत्रबाट ढुवानी गर्नुपर्ने सल्लाको खोटो बजार पुर्‍याउने र बजारबाट निर्माणका सामग्री सिमेन्ट, छड, बालुवा, गिटीजस्ता सामग्री गाउँसम्म लैजान कार्य खच्चर प्रयोग गरिन्छ। डडेल्धुरामा एक दर्जन खच्चर व्यवसायी छन्। यसअन्तर्गत एक सयभन्दा बढी खच्चर जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीदेखि अन्य सामग्री ढुवानी गर्न प्रयोग हुन्छन्। दैनिक उपभोग्य सामग्रीमा चामल, दाल, नुन, तेल, आँटाजस्तै निर्माण सामग्रीमा सिमेन्ट ढुवानीको काममा बढी खच्चर प्रयोग हुन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *