प्याकेजिङ नहुँदा टिमुरको मुल्य ह्वात्तै घट्यो, मर्कामा किसान

Spread the love

सल्यान । सल्यानमा टिमुरले मुल्य नपाउँदा किसानहरुले सस्तो मुल्यमा बिक्रि गर्न बाध्य भएका छन् । ब्यवसायीक रुपमा टिमुर खेतिगर्दै आईरहेका किसानहरु यस बर्ष टिमुरले मूल्य नपाएपछि समस्यामा परेका हुन् । नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

गत बर्ष ९ सय ८० रुपैँया किलोमा बिक्रि गरेका किसानहरुले यस बर्ष भने ४ सयमा मात्र बिक्रि गर्न बाध्य भएको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ जयतपानीका पुर्ण बहादुर बुढाले बताउनुभयो ।

विगतका वर्षहरूमा राम्रो मूल्य पाएको टिमुरले यो वर्ष मूल्य नपाएपछि व्यवसायिक टिमुर खेती गरी रहेका किसान बढी मारमा परेको उहाँले बताउनुभयो । यस वर्ष टिमुरको उत्पादन बढे पनि मूल्य नपाएको उहाँले बताउनुभयो । बुढाले आफूसँग अहिले १० क्विन्टल टिमुर भएपनि मूल्य नपाउँदा टिमुर टिपाएको मुल्य नै उठ्न नसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘गतवर्ष एक क्विन्टलको ७० देखि ८० हजार रुपैयाँसम्ममा बिक्री भएको टिमुर यस वर्ष ४२ हजार रुपैयाँमा झरेको छ।’ प्रति क्विन्टल ४२ हजार रुपैयाँमा बेच्दा खर्च समेत नउठेको बुढाको भनाई छ ।

गतवर्ष एक किलोको ९ सय ८० रुपैयाँमा बिक्री गरेका जयतपानीका खिलक बुढाथोकीले यस वर्ष मूल्य नपाउँदा ४ सय ५० रुपैयाँ किलोमा बिक्री गर्न बाध्य भएको बताउनु भयो । अन्य कृषिलाई त्यागेर व्यवसायिक टिमुर खेतीमा लागेका किसान यो वर्ष ठूलो मारमा परेको उहाँको भनाई छ ।

सल्यानबाट बाहिरिने टिमुरको मुल्य घट्नुको प्रमुख कारण प्याकेजिङको सिस्टम नहुँदा बिचौलियाको बिगबिगी भएको सल्यान उधोग बाणिज्य संघले जनाएको छ । भारतको भरपर्दो र खरीद गर्नेे व्यापारीहरुले टिमुरमा मिसावट गर्दा पनि टिमुरको मुल्य घटेको सल्यान उधोग बाणिज्य संघका अध्यक्ष बिर बहादुर चलाउनेले बताउनु भयो । भारत निकासीलाई सहज वातावरण नभएको, मूल्य निर्धारण नहुदाँ र किसानबाट खरिद गर्ने व्यापारीले बद्मासी गर्दा टिमुरको मूल्य घटेको उहाँले बताउनु भयो ।

ब्यापारीका अनुसार किसानबाट टिमुर खरिद गरेर अर्काे व्यापारीलाइ दिँदा उनिहरूले राम्रो टिमुरलाई केहि वस्तु मिसाएर बाहिरी देश निर्यात गरेको हुनले पनिमुल्य घटेर आएको छ ।

सल्यानमा वार्षिक ४ लाख केजीभन्दा बढि टिमुर उत्पादन हुँदै आइरहेको डिभिजन बनकार्यलय सल्यानले जनाएको छ । व्यक्तिको निजीजग्गा, विभिन्न कबुलियतीर सामुदायिक वनबाट टिमुर उत्पादन हुने गरेका निमित्त बन डिभिजन प्रमुख मनोज लम्सालले बताउनु भयो ।

८० प्रतिशत जिल्लाबाहिर निकासी र २० प्रतिशत जिल्लाकै टिमुर उद्योगमा खपत हुने गरेको छ । जिल्लामा वार्षिक ४० करोडसम्म रकम टिमुरबाट मात्रै भित्रिने गरेको कार्यालयको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *