काठमाडौंलाई कुरूप बनाउने होर्डिङ बोर्ड हटाउन थालियो

Spread the love

काठमाडौं । काठमाडौंको सौन्दर्यतालाई कुरूप बनाइरहेका होर्डिङ बोर्ड हटाउने अभियानले तीव्रता पाएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले कार्यदल बनाई तत्कालै होर्डिङ बोर्ड, पर्चा पम्प्लेट, भित्तेलेखनलगायतका सहरलाई कुरूप बनाउने प्रचार सामग्री हटाउने निर्णय गरेसँगै महानगरपालिकाले यसलाई तीव्रता दिएको हो । अभियानकै क्रममा शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका तीन ठूला बोर्ड हटाइएको महाननगरपालिकाले जनाएको छ ।

नगर प्रहरी महाशाखा प्रमुख नायब उपरीक्षक धनपति सापकोटाका अनुसार यसअघि साना होर्डिङ बोर्ड हटाउँदै आएकामा शुक्रबारबाट भने ठूला होर्डिङ बोर्डसमेत हटाउन थालिएको हो । काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय सहर भएकाले ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर अहिले नियमनलाई तीव्रता दिइएको महानगरको भनाइ छ । राजधानीमा समाचार छापिएको छ ।

महानगरले २०७० सालमा जारी गरेको विज्ञापन सामग्री नियमनसम्बन्धी कार्यविधि र सर्वोच्च अदालतले १६ भदौ २०७२ मा वातावरणीय स्वच्छता र सहरी सौन्दर्यतालाई व्यवस्थापन गर्न प्रचार सामग्री हटाउन गरेको फैसला कार्यान्वयन गर्ने अभियानअनुसार सहरलाई कुरूप बनाउने सबै सामग्री हटाउन लागिएको जनाएको छ ।

गृहमन्त्री थापाको संयोजकत्वमा बसेको सरोकारवाला निकायका अधिकारीबीचको छलफलबाट सहरी सुन्दरता कायम गर्न प्रचार सामग्रीसँगै अव्यवस्थित रूपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउने र यसका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको थियो ।

बैठकले समयभित्र तार नहटाए सरकार आफैंले तार हटाउने निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार महानगरपालिकाको संयोजकत्वमा सडक विभाग, सहरी विकास तथा भवन निर्माण विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि र महानगरीय प्रहरी परिसर काठमाडांैको सहभागिता रहनेगरी कार्यदल बनाउने तयारी भइरहेको महानगरको भनाइ छ । कार्यदल बन्ने क्रममा रहे पनि महानगरले यसअघि नै तयार पारेको टोलीमार्फत काम अगाडि बढाइएको महानगरले जनाएको छ ।

त्यस्तै, इन्टरनेट सर्भिस प्रोभाइडरलाई तार हटाउन लगाउने, सम्झौता रद्द गर्नुपर्ने देखिए १५ दिनभित्र कार्यदलले टुंगो लगाउने, सडकका दायाँबाया रहेका तारलाई दूरसञ्चार र विद्युत् प्राधिकरणले अन्डरग्राउन्ड गराउन, ट्राफिक संकेतलाई व्यवस्थित गर्ने, ठूला डिजिटल डिस्प्ले हटाउने र देशभरका स्थानीय तहलाई समेत यस्ता प्रचार सामग्री तत्काल हटाउन निर्देशन दिने तयारी भइरहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

१० व्यक्ति र संस्थालाई ५८ हजार जरिमाना

काठमाडौं÷रास– काठमाडौं महानगरपालिकाले भित्तेलेखन लगायतका कार्य गरेको भन्दै १० कम्पनी र नौ व्यक्तिलाई कारबाही गरेको जनाएको छ । महानगरले यस क्रममा ५८ हजार जरिमाना तिराइएको बताएको छ ।

महानगर प्रहरीका प्रमुख डिएसपी धनपती सापकोटाका अनुसार भोटाहिटीनजिक कालोपत्रे सडकमा माटो खसालेको भन्दै जेटीसीलाई २५ हजार तथा जथाभावी होर्डिङबोर्ड र पर्चापम्प्लेट टाँसेको भन्दै भ्याली इन्स्टिच्युट चावहिललाई १० हजार, काठमाडौं जब इम्प्लोइमेन्टलाई ५ हजार, सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई ५÷५ हजारका दरले जरिमाना तिराएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *