प्रयोगविहीन बन्दै स्वास्थ्यका महँगा उपकरण, जनशक्तिको सुनिश्चितता छैन, हचुवामै खरिद

Spread the love

काठमाडौं । दक्ष जनशक्तिबिना हचुवाको भरमा किनिएका करोडौं मूल्यका स्वास्थ्यजन्य उपकरण अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् । सरकारले करोडौं रुपैयाँ खर्चेर किनेका कतिपय स्वास्थ्यजन्य उपकरण प्रयोगमा आउनै सकेका छैनन् । अधिकांश अस्पतालमा मुख्यगरी एक्सरे मेसिन, अल्ट्रासाउन्ड, सीटी स्क्यान मेसिन थन्किएका छन् ।

उपकरण खरिदका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखामार्फत यस वर्ष ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हचुवाको भरमा उपकरण खरिद गरिँदा प्रयोगविहीन भएको स्वास्थ्य सेवा विभाग नै स्वीकार गर्छ । प्रशान्त वलीले राजधानीमा समाचार लेखेका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलका अनुसार उपकरण प्रयोगका लागि आवश्यक दक्ष जनशक्तिको सुनिश्चित नहुँदा कतिपय जिल्लामा खरिद गरिएका उपकरण प्रयोगमा आउन सकेका छैनन् । उनले भने, ‘न्यूनतम सेवा मापदण्ड २०७६ पारित भइसकेको छ । यसले उपकरण खरिदसँगै प्रयोगमा देखिएको समस्यालाई समाधान गर्न मद्दत गर्छ ।’

प्रदेश सरकार र स्थानीय तहले आवश्यकताका आधारमा स्वास्थ्यसम्बन्धी उपकरण खरिद गर्दै आएका छन् । उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा खरिद गरिएका उपकरण प्रयोगमा आउन नसकेको पाइएको छ ।

खरिद गरिएका उपकरणमध्ये ४ प्रतिशत उपकरण प्रयोगमै नआएको एक सरकारी अध्ययनले देखाएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन लगिएको छ तर जनशक्ति छैन । यस्तै, अल्ट्रासाउन्ड मेसिन चलाउने जनशक्ति पनि छैन । उपकरण प्रयोगका लागि आवश्यक पर्ने जनशक्ति सुनिश्चित नहुँदा अधिकांश उपकरण प्रयोगविहीन हुँदै आएका छन् ।

देशकै जेठो अस्पतालका रूपमा रहेको वीर अस्पतालमा बायोप्सी गरिएको मासुमा क्यान्सर भए नभएको परीक्षण गर्ने इमिनो हिस्टो केमेस्ट्री मेसिन, फ्लो साइटो मेट्री मेसिन उपयोगविहीन छ । यस्तै, सो अस्पतालमा रहेका दुईवटा भेन्टिलेटर सञ्चालनविहीन अवस्थामा छन् ।

कान्ति बाल अस्पतालमा रहेको ४ करोड ५४ लाखको सीटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डीआर मेसिन प्रभावकारी तवरबाट सञ्चालनमा नआएको पाइएको छ । पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा हेमोडायलाइसिसका लागि उपलब्ध मेसिनको प्रयोग प्रभावकारी बन्न सकेको छैन ।

जिल्ला अस्पताल गुल्मीमा स्वास्थ्यसेवा विभागबाट प्राप्त एक्सरे मेसिन, ईसीजी माइक्रोस्कोपको उपकरण मर्मत नभएका कारण तथा चिकित्सक अभावका कारण प्रयोगविहीन अवस्थामा छ ।

महाकाली अञ्चल अस्पतालमा आर्ईसीयूसम्बन्धी विभिन्न उपकरण प्रभावकारी तरिकाले सञ्चालनमा नआएको पाइएको छ । ती उपकरण ६९ लाख १२ हजार रुपैयाँमा खरिद गरिएका थिए । धौलागिरि अञ्चल अस्पतालमा पनि यूएसजी, ईसीजी, इन्डोस्कोपी मेसिन प्रभावकारी तरिकाले सञ्चालनमा आउन नसकेको पाइएको छ ।

कैलालीको मालाखेती अस्पतालमा स्वास्थ्य सेवा विभागबाट प्राप्त एक्सरे मेसिन, ईपी ३०० प्रभावकारी तरिकाले सञ्चालनमा आएको छैन । केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कमिसनको लोभमा उपकरण खरिद गर्ने तर प्रयोग नहुने समस्या रहेको भन्दै त्यसलाई हटाउने बताएका थिए ।

जनशक्ति सुनिश्चिततापछि उपकरण

सरकारले स्वास्थ्यजन्य उपकरण खरिदमा कडाइ गरेको छ । अब उपकरण सञ्चालका लागि जनशक्ति सुनिश्चित गरेर मात्रै खरिद गर्नुपर्ने भएको छ । सो विषय न्यूनतम सेवा मापदण्ड २०७६ मा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समेत सो मापदण्ड स्वीकृत भएको छ । मापदण्डमा सम्बन्धित अस्पतालले जनशक्ति पहिचान गरेर मात्रै उपकरण खरिद गर्न सकिने उल्लेख छ । मापदण्डले कुन स्वास्थ्य संस्थाबाट कुन सेवा दिने भन्ने निर्धारण हुन्छ । त्यसपछि सेवाप्रवाह गर्दा कुनकुन उपकरण चाहिन्छ भनेर निक्र्यौल हुने बताइएको छ ।

विगतमा व्यक्तिको पहुँचका आधारमा उपकरण खरिद हुँदै आए पनि अब जनशक्ति सुनिश्चित गरेरै मात्रै खरिद गर्नुपर्ने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *