देशभरका ५५ विमानस्थल, जम्मा ३२ वटा मात्रै सञ्चालनमा

Spread the love

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभर ५५ वटा विमानस्थल छन् । यसमध्ये अहिलेसम्म ३२ वटा मात्रै सञ्चालनमा रहेको नागरिक उड्यन तथा प्राधिकरणले जनाएको छ ।

आन्तरिक उडान तथा अवतरण गर्दै आएको ३२ वटा विमानस्थलमा पनि नियमित उडान भने हुन सकेको छैन । कतिपय विमानस्थलमा त परीक्षण उडान नै सुरु भएको छैन । ४० वर्ष अगाडि उडान सुरु भएका कतिपय विमानस्थनहरु समेत ठप्प रहेको प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘विमानस्थल निर्माण गर्दा न्यूनतम हिमाली क्षेत्रमा ४५ करोड, पहाडमा ३५ करोड, तराईमा ५० करोड रुपैयाँ (सरकारकै) खर्च हुन्छ,’ उनले नागरिक खबरसँग भने,‘तर, सञ्चालनमा नआउनु प्राधिकरणको गल्ती होइन । किनभने यहाँ एयरलायन्स नै छैन । विकट जिल्लामा घाटा लिएर हवाई उडान समेत गर्न चाहँदैनन्।’

सञ्चालनमा रहेका विमानस्थल

अहिले सञ्चालनमा रहेको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल, बाजुरा, भोजपुर, विराटनगर, चन्द्रगढी, चउरझारी (रुकुम), दाङ, धनगढी, डोल्पा, गौतमबुद्ध, जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, लामिडाँडा, नेपालगञ्ज, फाप्लु, पोखरा, राजविराज, रामेछाप, रारा, रुम्जाटार, सिमरा, सुर्खेत, सल्ले (रुकुम), सिमिकोट, साँफेबगर, तेञ्जिङ–हिलारी (लुक्ला), तुम्लिङटार, ताप्लेजुङ र थामखर्क समेत रहेका छन् ।

बन्द विमानस्थल

सन् १९६१ मा सञ्चालनको भएको दाङ विमानस्थल, सन् १९७६ मै सञ्चालन भएको बझाङ विमानस्थल, सन् १९८६ मै सञ्चालनमा आएको दार्चुला विमानस्थल, सन् १९७८ मा सञ्चालनमा आएको वैतडी विमानस्थलमा समेत उडान ठप्प रहेको प्राधिकरणले जनाएकोछ । मैघौली विमानस्थल पनि बन्द रहेको छ ।

ढोरपाटन विमानस्थल, डोटी विमानस्थल, जिरी विमानस्थल, खन्गेलडाँडा विमानस्थल, लाङटाङ विमानस्थल र महेन्द्रनगर विमानस्थलमा जहाज उडान हुन सकेको छैन ।

यसैगरी मनाङ विमानस्थल, मसिनेचौर विमानस्थल, पालुङटार विमानस्थल, रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल र टीकापुर विमानस्थल र अछामको कमला विमानस्थलमा पनि जहाज उडान हुन सकेको छैन ।

यता, ओखलढुंगाको खिजिचन्डेश्वरी विमानस्थल निर्माण भई केही दिन अघि मात्रै सफल परिक्षण उडान गरिएको छ ।

सातवटा विमानस्थलमा चार्टर

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सातवटा विमानस्थलमा चार्टर उडान हुने गरेको छ । यस्तै १२ वटा विमानस्थलमा नियमित उडान भइरहेको छ । विराटनगर, गौतम बुद्ध, नेपालगन्ज, जनकपुर, पोखरा र लुक्ला आन्तरिक हव विमानस्थल भएका छन् ।

राजनीतिक एजेन्डामा विमानस्थल

प्रत्येक निर्वाचनमा नेताहरुले विमानस्थलाई राजनीतिक एजेन्डाको रुपमा उठाउने गरेका छन् । बिना अध्ययन राजनीतिक दलका नेताको एजेन्डामा विमानस्थल पर्दा पनि निर्माण भई परीक्षण हुने तर नियमित उडान हुन नसकेको प्राधिकरणकै निर्देशकहरु बताउँछन् । उनीहरुका अनुसार विमानस्थल निर्माणपछि आर्थिक रूपमा चलायमान हुने अवस्था छ कि छैन भन्ने तर्फ ध्यान पुगेको छैन ।

धवजाबाहक जहाज कम, यात्रु अभावमा निजीको सेवा रद्द

सरकारी स्वामित्वको राष्ट्रिय धवजाबाहक नेपाल एयरलाइन्ससँग जहाज कम हुनु पनि नियमित उडानको लागि अर्को समस्या हो । भएका जहाज पनि उडाउने पाइलट अभावका कारण विमानस्थलमा नियमित उडान हुन सकेको छैन । यस्तै, निजी हवाई सेवा प्रदायकले परीक्षण उडान गरे पनि यात्रु नपाएको भन्दै कतिपय विमानस्थलमा उडान रद्द गर्ने गरेका छन् ।

परीक्षण उडानमा दुई हजार डलर खर्च

नयाँ विमानस्थलमा परीक्षण उडान गर्दा सरदर प्रतिघन्टा दुई हजार डलरसम्म खर्च हुन्छ । यही हिसाबले हेर्दा सरदर एउटा विमानस्थलमा परीक्षण उडान गर्दा चारदेखि पाँच लाख रुपैयाँ खर्च हुने प्रवत्ता क्षेत्री बताउँछन् । यसरी बनेका अधिकांश विमानस्थलमा सरकारको करोडौ खर्चको भएको देखिन्छ । तर जनताले हवाई सेवा पाउन सकेका छैनन् । – नागरिकखबर

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *