लिस्बन । पोर्तुगलमा रहेका लिम्बुहरुले येले तङ्बे ५०७९ उधौली पर्व (चासोक तङ्नाम) को अवसरमा विशेष शुभकामना आदानप्रदान गर्ने भएका छन् । किराँत याक्थुम चुम्लुङ पोर्तुगलले डिसेम्बर २९ तारिख आइतबारका दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
चुम्लुङकी अध्यक्ष दीपा लिम्बुले पोर्तुगलमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरेकी छन् । कार्यक्रम दिउँसो ३:०० बजेबाट शुरु हुनेछ । स्थानबारे चुम्लुङले अर्को सूचनामा जानकारी गराउनेछ ।
के हो खासमा उधौली पर्व (चासोक तङ्नाम) ?
उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले मनाउने गर्छन् भने राजधानी उपत्यका तथा विदेशमा समेत मनाइने गरिन्छ ।
यसलाई साकेला उधौली पर्व पनि भनिन्छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।
किराँत समुदायमा उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।
प्रकृति पुजक किराँत समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ ।
यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् ।
उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामले समेत चिनिन्छ । उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ।
अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ । किराँतभित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल लगायतका जातिहरू पर्ने भएकोले जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आ–आफ्नो तरिकाहरू रहेका छन् ।
परम्परा अनुसार किराँती धर्मगुरुले चुलोको पूजाबाट सुरु गर्ने यस चाडमा धर्मगुरुले साकेला थानमा कुखुराको बलि दिने गर्छन् । बलिपछि धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिन्छ ।
यस पर्वको बेलामा बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रूपमा नाच्ने गर्छन् । सो नाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रिय छ ।
नेपालबाहिर खासगरी भारतको सिक्किम, बेलायत, पोर्तुगल, बेल्जियम, अमेरिका, हङकङ, जापान, कोरिया, इजरायललगायत विभिन्न देशमा पुगेका किराँतहरुमा यो नाच लोकप्रिय छ ।
यस चाडमा चेली, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ ।
बर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ ।
साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ । यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।
भाषा, संस्कार संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्ने गर्दछन् ।
एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आ–आफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आ–आफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् ।
लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् ।
राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।