उच्च शिक्षामा मुक्त कमलरी

Spread the love

देउखुरी । कुनै समय अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आएका पूर्वकमलरीहरूले अब भने आफ्नो शैक्षिक योग्यताको विकास गर्न थालेका छन् । कमलरी जीवन त्यागेसँगै आफूले निर्णय लिने स्वतन्त्रता पाएका पूर्वकमलरीहरू सामान्य मात्र नभएर उच्च शिक्षा अध्ययन गर्न थालेका हुन् । आजको गोरखापत्र दैनिकमा दिवाकर पोखरेलले समाचार लेखेका छन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको पहलमा पूर्वकमलरीहरूले शिक्षा क्षेत्रमा प्रगति गर्न थालेका छन् । लमही नगरपालिका सतवरिया निवासी विष्णु चौधरी पूर्वकमलरी हुनुहुन्छ । उहाँले शिक्षा सङ्कायमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरिसक्नुभएको छ । अहिले कानुन विषय लिएर पनि स्नातक तह दोस्रो वर्षमा अध्ययन गरिरहनुभएको छ । लमही घर भए पनि कुनै समय उहाँ घोराही बजारको एउटा घरमा भाँडा माझ्ने काम गर्नुहुन्थ्यो । “परिवारका अन्य दिदीबहिनी पनि अरूकै घरमा भाँडा माझ्ने र गोठालो जाने काम गर्थे ।

पढाइदिन्छु भनेर साहूले घरको काम गराउन लगे तर पढ्नेभन्दा काम धेरै गर्नुपथ्र्यो”, पूर्वकमलरी विष्णुले भन्नुभयो । कमलरी जीवन त्यागेपछि २०६१ सालमा दाङकै राप्ती मावि उचानिम्बुमा भर्ना भएर उच्च शिक्षासमेत लिइरहनुभयो । उहाँ एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँजस्तै पश्चिम नेपालका धेरै मुक्त कमलरी उच्च शिक्षामा अध्ययनरत छन् ।

मुक्त कमलरी विकास मञ्चले दिएको जानकारीअनुसार अहिलेसम्म कमलरी मुक्त गरिएको जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १० जना मुक्त कमलरी स्नातकोत्तर तहमा अध्ययनरत छन् । १९१ जना स्नातक तहमा अध्ययनरत छन् ।

यस्तै ६८६ जना दस जोड दुई र २९६ जना कक्षा १० जना अध्ययनरत छन् । तीमध्ये दाङमा ४८७, बाँकेमा ६७, बर्दियामा ३९५, कैलालीमा ४३३ र कञ्चनपुरमा १५१ जना विद्यालय तहमा अध्ययन गरिरहेका छन् । विकास मञ्चका अनुसार दाङ देउखुरीमा सबैभन्दा बढी पाँच हजार पाँच सय मुक्त कमलरी छन् ।

कुनै समय नारकीय जीवन बिताए पनि मुक्त भएपछि उच्च मनोबलका साथ पढाइलाई निरन्तरता दिएका मुक्त कमलरीलाई सरकारले भने प्रतिबद्धता जनाएअनुरूपको सहयोग नगरेको गुनासो गर्छन् । मुक्त कमैया विकास मञ्चका अध्यक्ष शान्ति चौधरीले विपन्न अवस्थाका मुक्त कमलरीलाई अझै पनि सरकारले सम्झौता गरेअनुसारको शिक्षामा छात्रवृत्ति नदिएको गुनासो गर्नुभयो ।

मुक्त कमलरीले अध्ययनार्थ स्नातक तहमा वार्षिक दस हजार, प्रवीणता तहमा पाँच हजार, मावि तहमा एक हजार आठ सय तथा प्रावि र निमाविसम्मलाई एक हजार पाँच सय रुपियाँ छात्रवृत्ति पाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *