चुइगम चपाएरै चार महिनामा सकियो साढे १८ करोड

Spread the love

काठमाडौं । देखासिकी र फजुल खर्चमा आकर्षित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ । यसको मूल्य १८ करोड ४८ लाख ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ ।

यसैगरी, गत आवका चार महिनाको तुलनामा चालू आवको समीक्षा अवधिमा चुइगमको आयात भने केही घटेको छ । अघिल्लो वर्षका चार महिनामा कुल ७ लाख १६ हजार ९ सय १९ किलो चुइगम आयात भएको थियो । सो समयमा करिब २४ करोड ८० हजार रुपैयाँ बढीको चुइगम आयात भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

विभागका अनुसार हाल नेपाली बजारमा सबैभन्दा धेरै चुइगम भारतबाट आयात भएको छ । चालू आवको बितेका चार महिनामा भारतबाट ६ लाख १९ हजार ३ सय ३ किलो चुइगम आयात भएको थियो । यस समीक्षा अवधिमा भारतपछि अमेरिकाबाट चुइगम धेरै आयात भएको देखिएको छ ।

सो समयमा अमेरिकाबाट १ हजार १ सय २४ किलो, दक्षिण कोरियाबाट ५ सय १८ किलो, संयुक्त अरब इमिरेट्स (यूएई) बाट ४ सय किलो, बेलायतबाट १ सय ८२ किलो र थाइल्यान्डबाट ८१ किलो चुइगम आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी, चीनलगायत अन्य मुलुकबाट पनि विभिन्न प्रकारका चुइगम नेपाल भित्रिएको विभागले जनाएको छ ।

प्रायः हरेक देशका मानिसले चुइगम चपाउँछन् । कोही टाइम पास गर्न चुइगम चपाउँछन् भने कोहीकोही साथीभाइसँगको भेटघाटमा पनि आदानप्रदान गरी चपाउने गरेका छन् । तर, अहिले सिंगापुरले भने आफ्नो मुलुकभित्र चुइगमको व्यापारमा प्रतिबन्ध लगाएको छ । सिंगापुर सरकारले चुइगमको आयातमा समेत प्रतिबन्ध लगाएको छ । चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्ने नियम राखिएको छ । सार्वजनिक स्थानमा बसेर चपाएको देखे दण्डित गर्ने निर्णयसमेत गरेको सम्बन्धित सरोकारवालाको भनाइ छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको बितेका चार महिनामा कुल ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँबराबरको विभिन्न सामान आयात भएको छ । गत वर्षको सोही अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँबराबरको सामान आयात भएको थियो ।

यसैगरी, अघिल्लो वर्षको तुलनामा निर्यात २३ दशमलव ९ प्रतिशतले बढेको छ । चालू आवको बितेका चार महिनामा कुल ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँबराबरको सामग्री निर्यात भएको छ । गत वर्षको सोही अवधिमा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँबराबरको सामान निर्यात भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *