खच्चरबाटै ढुवानी : एकै खेपको ५५ हजारसम्म

Spread the love

२८ मङि्सर, भोजपुर : साल्पासिलिछो गाउँपालिका ५ र ६ दोभानेका सबै ठाउँमा सडक छैन । यहाँ खच्चरलाई भरपर्दो माध्यम मानिन्छ ।

साँघुरो, भिरालो गोरेटो बाटो छ । दिनहुँ डेढ सय हाराहारीमा तक्मा र भारी बोकेका भरिया, पैदल यात्री र खच्चरको लस्कर भेटिन्छन् । १९ वर्षदेखि खच्चरबाटै दैनिक उपभोग्य सामानको ओसारपसार गरिन्छ ।

संखुवासभाको चेवाबेसीदेखि ४२ किलोमिटर लामो एडमन्ड हिलारी पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटक पैदलै यात्रा गर्छन् । खच्चर हिँडाइने पदमार्गमा पर्ने दोभानेको सालेवा, तेन्दो, फेदीमा होटल तथा लज खोलिएका छन् । सोलुखुम्बुको चेवाबेसीदेखि सगरमाथा बेसक्याम्पसम्म पुग्ने उक्त पदमार्ग खच्चरकै भरमा सामान ढुवानी हुने गरेको १५ वर्षअघिदेखि होटल व्यवसाय गर्दैआएकी शिवकुमारी राईले सुनाइन् ।

‘लामो यात्राले थाकेका बटुवा, पर्यटकका लागि खोलिएको लजले सहज बनेको छ, व्यापार पनि फस्टाउन थालेको छ’, राई भन्छिन्, ‘सुरु गरेको होटल र लजका साथै गाउँका सर्वसाधरणका उपभोग्य सामानको पनि पसल खोलिएको छ’ भोजपुरदेखि सोलुखुम्बु जोड्ने मुख्य गन्तव्य रहेका पदमार्गमा खोलिएका व्यवसायले स्थानीयको आर्थिकोपार्जनमा पनि राम्रो स्रोत बनेको अर्का किराना व्यवसायी शन्तबहादुर राईले बताए ।

२० वर्षअघि मानिसले नै डोकोतक्मा बोकेर घरका लागि सामान ल्याउने गर्थे । पहिले सोलुखुम्बसम्म गाउँले बटुवा यही साँघुरो भिरालो गोरेटो आउजाउ गर्थे । पछि खच्चरबाट घण्टौं लगाएर किराना पसलका सामान प्रतिकिलो बाह्रआना, आठआनाको दरले बोकाउन सुरु गरेको स्थानीय बताउँछन् । त्यही बाटो सगरमाथा बेसक्याम्प पुग्ने गन्तव्य भएपछि विदेशी पर्यटकको पनि आगमन हुन थालेको थियो । अहिले पनि दैनिक ११ पटकसम्म दोभाने–चेवाबेसीसम्म खच्चरका हुल चल्छ ।

हिउँदे याम होस् या बर्खा यहाँको निरन्तर चलिरहने भरपर्दो माध्यम खच्चर हो । अहिले पनि गाउँमा खाद्यसामान, किराना पसलका सामान, रासायनिक मल, अलैंची, रुद्राक्षलगायत सामान खच्चरमा बोकाइन्छ । करिब १८ वर्षअघि प्रतिकिलो आठआना, बाह्रआना पैसामा खच्चरबाट सामान ढुवानी गरिन्थ्यो । अहिले प्रतिकिलो ८० रुपैयाँसम्म सामानको ढुवानी हुने गरेको खच्चर व्यवसायी मणि तामाङ बताउँछन् ।

मानिस आफैंले नै ठुल्ठूला डोको, नाम्लो, तक्मा र खकन कसेर सामान बोक्दा गाह्रो र समस्या हुने भएपछि विकल्पमा खच्चर चलाउन थालेको अर्का खच्चर व्यवसायी रामबहादुर तामाङ बताए । सामान बोकाउन सुरु गरेपछि घरघरमै सामान पुग्दा गाउँलेलाई सहज हुन थालेको उनले बताए । उनले भने, ‘यहाँ धेरै वर्षदेखि खच्चरबाटै सामान ल्याइँदै आएको छ । हामीले खच्चरबाटै सामान घरघरमै झारिदिने गरेका छौँ । जसले अहिले सहज भएको छ ।’

एउटा खच्चर व्यवसायीले ९ देखि १० वटा खच्चरको हुल बनाएर हरेक खच्चरको पछाडि ढाडको दुवैतिर ६० किलोको सामान बोकाउने गर्छ । प्रतिकेजी ८० रुपैयाँले बोकाउँदा एकपटकमा ४० देखि ५५ हजारसम्म ढुवानी भाडा लिने गरेको खच्चर व्यवसायी सुनाउँछन् ।

यता गाउँपालिकाले सडक खन्ने कामलाई तीव्रता दिए पनि पर्यटकीय पदमार्ग बिथोलिने हुँदा उक्त पदमार्ग आसपास साना ट्र्याक मात्रै खोलेको छ । ठूला सडक खोलिँदा पर्यटकीय गन्तव्यमा आँच आउने भन्दै केही स्थानमा सर्वसाधरणको सहजताका लागि सडक खनिएको गाउँपालिका प्रमुख महेश राईले बताए । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *