आच्छु आच्छु परेका एनआरएनए अध्यक्ष गैरेको सल्लाहकार र प्रवक्तामा पत्रकारै पत्रकार ल्याउने तयारी

Spread the love

पेम्बागेलु शेर्पा, लिस्बन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेका एक एक गल्ती कमजोरीहरु सार्वजनिक भएपछि आच्छु आच्छु परेका छन् । यसैबीच उनले आगामी बैठकमा सल्लाहकार र प्रवक्तामा पत्रकारै पत्रकार ल्याउने तयारी गरेको एनआरएनएनिकट एक स्रोतले नमस्ते नेपालीलाई जानकारी गराएको छ ।

‘गैरेले सल्लाहकारको लामो सूचीमा प्रेस सल्लाहकार भन्दै योगेन्द्रमिलन छन्त्याल, राजकुमार थापा, बासु सत्याल र नारायण अर्यालको नाम समेटेका छन् । प्रवक्तामा यादव देवकोटालाई ल्याउने प्रस्ताव गर्दैछन् ।’ स्रोतले भन्यो, ‘यी तीनजनालाई समेटेमा सबै पत्रकारले उनको गुणगाण मात्र गाउँछन् भन्ने ठूलो अपेक्षा छ ।’

केही समय पहिले पत्रकारविरुद्ध विज्ञप्ति जारी गर्दै समाचारलाई नै कथा संज्ञा दिएर गैरेले समाचार लेख्न सिकाएका थिए । पोर्तुगलमा कृयाशील पत्रकारहरु र नेपाल पत्रकार महासंघ युरोप शाखाले गैरे प्रव्रितिको भ्रर्त्सना गरेका थिए । पत्रकारहरु र शाखाको विज्ञप्तिले गैरे तनावमा छन् ।

डिसेम्बर ३ तारिख मङ्गलबारका दिन एनआरएनएलगायतका संस्थाहरुको आयोजनामा भारतीय दूतावासअगाडि प्रदर्शन गरिएको थियो । सीमा अतिक्रमण र भारतीय हस्तक्षेपविरुद्धको प्रदर्शनको क्रममा कार्यक्रममा देखाइएका चारमध्ये एउटा नेपाली झन्डासमेत माथिको तल पारेर (उल्टो) प्रदर्शन गरिएको थियो । यसको व्यापक आलोचना भएको छ ।

समाजवादी पार्टी नेपालनिकट नेपाली समाज पोर्तुगलले एक विज्ञप्तिमार्फत गैरेलाई तुरुन्त माफी माग्न चेतावनी दिएको थियो । गैरेले वेवास्ता गरे समाज कानूनी उपचारमा जाने विज्ञप्तिमा उल्लेख छ । गैरेले भने यो विषयमा पनि आँखा चिम्लेका छन् ।

गत बुधवार सम्पन्न स्वर्गीय नवीनकुमार पाठकको अन्तिम श्रद्धाञ्जली कार्यक्रममै सहयोग रकम सङ्कलन गरेको र कार्यक्रम सञ्चालनमा प्रयोग गर्ने शब्द चयनमा हेक्का पुर्‍याउन नसकेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । यसरी हरेक पाइलामा गल्ती कमजोरी दोहोर्‍याउदै तेहर्‍याउदै आएका गैरेको सञ्चारमाध्यममा पनि समाचार आइरहेका छन् ।

सञ्चारमाध्यमबाट बच्नका लागि उनले काँग्रेसनिकट व्यक्तिहरुको सल्लाहबमोजिम पाँचजनालाई मनोनयन गर्ने निष्कर्षमा पुगेको स्रोतको दावी छ । प्रस्ताव पेश गर्नका लागि आगामी बैठकसम्म उनको योजना यथावत रहन्छ वा वातावरण बदलिन्छ त्यो चाहिं केही समय पर्खनु पर्ने छ ।

गैरेले नेत्रित्व सम्हालेको झन्डै ४ महिना पुग्न लागेको छ । तर अझैसम्म मनोनित सदस्य र सल्लाहकारहरुको चयन गर्न सकेका छैनन् । कार्यसमितिले समुदायले चासो रहनेगरी कुनै पनि निर्णय गर्न सकेको छैन ।

समितिले कुनै कार्ययोजना पनि सार्वजनिक गरेको छैन । अघिल्लो कार्यसमितिबाट प्राप्त कोष र आय व्यय विवरणबारे कार्यसमितिकै पदाधिकारीहरु पनि अनविज्ञ छन् । नमूना एनआरएनए बनाउने गैरेको प्रतिवद्धतालाई उनकै व्यवहारले खिसिटिउरी गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *