उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नतामा काठमाण्डौंका सार्वजनिक सम्पत्ति अतिक्रमण

Spread the love

काठमाण्डौं । उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिध र उच्चपदस्थले ने सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ ।

प्रशासनले काठमाडौंमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा हटाउने कार्ययोजना बनाउँदै गर्दा उजुरी पर्ने क्रम अत्यधिक बढेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उजुरी सँगै काठमाडौँ प्रशासनले छानबिन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयले अतिक्रमणमा संलग्नको नामावली नै सार्वजनिक गरी अतिक्रमण हटाउने तयारी थालेको हो । काठमाडौ प्रशासनले अतिक्रमणलाई गम्भीरतापूर्वक लिएर स्थायी संयन्त्रमार्फत अतिक्रमण हटाइने कार्यको तयारी थालिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले महानगरपालिका तथा नगरपालिकासँगको समन्वयमा संयन्त्र तयार पारी अतिक्रमण हटाउने कार्यको थालनी गर्ने बताए । उनले काठमाडौंलाई अतिक्रमणमुक्त बनाउने योजनाअनुसार नगरपालिकासँग समन्वय बैठक तय भएको जानकारी दिए ।

प्रशासन कार्यालयमा पछिल्ला दिनमा मात्रै झण्डै चार दर्जन अतिक्रमणका उजुरी परेका छन् । जनप्रतिनिधि र पहुँचवालाबाट समेत अतिक्रमण भएकाले हटाउन चुनौतिपूर्ण हुने प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ ।

‘वर्षदेखिको अतिक्रमण हटाउन चुनौतीपूर्ण छ तर अतिक्रमणको स्थायी समाधान खोजिने छ । अतिक्रमणमा संलग्न जो भएपनि कानुनी दायरामा ल्याएरै छोडिनेछ’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

कीर्तिपुरको अतिक्रमण हटाउने अन्तिम तयारी

कीर्तिपुर नगरपालिका ६ नख्खु दोभानमा अनधिकृत रुपमा घर टहरा बनाई गरिएको अतिक्रमण हटाउने अन्तिम तयारी थालिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल नेतृत्वको टोलीले स्थलगत निरिक्षण गरी हटाउन निर्देशन दिएसँगै वडा कार्यालयले हट्न अल्टिमेटम दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

बाग्मती नदी किनारमा रहेको झण्डै दश रोपनी सार्वजनिक जग्गामा टहरा बनाई वर्षौंदेखि सुकुम्वासी र भूमिहीनको नाममा नक्कली भूमिहीनले कब्जा गरी दुरुपयोग गर्दै आएका थिए । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *