कांग्रेस बैठकमा विवाद : पौडेलपक्षको बहिष्कार, महामन्‍त्री घर हिँडे

Spread the love

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक नाराबाजी र बहिष्कारबीच बिहीबार अपरान्ह सुरु भएको छ। बैठकका एजेन्डामाथि सहमति नभएपछि रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूहले बैठक बहिष्कार गरेको छ।

बैठक बहिष्कार गर्ने असन्तुष्ट पक्षको चेतावनीलाई समेत बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले बैठक सुरु गर्न निर्देशन दिएपछि अपरान्ह साढे चार बजे बैठक सुरु भएको छ। बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्‍त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मालगायत देउवा पक्षीय सदस्यहरु सहभागी छन्।

केन्द्रीय कार्यलयको मूल सभाकक्षमा बैठक बसिरहे पनि असन्तुष्ट नेता तथा केन्द्रीय सदस्यहरु पौडेलको कार्यकक्षमा बसेर छलफल गरिरहेका छन्। देउवाले बहुमतको आडमा जबरजस्ती पेलेर जान खोजेकोले आफूहरु बैठकमा सहभागी हुन नसकेको जानकारी पौडेलले संचारकर्मीलाई दिए। उनले भने, ‘उहाँले एकलौटी रुपमा पार्टी चलाउन खोज्दै हुनुहुन्छ, त्यो हामीलाई मान्य छैन।’

बैठक सुरु हुनुअघि नै निर्वाचित महामन्‍त्री सशांक कोइराला निवासतिर लागेका छन्। महामन्‍त्री कोइराला पनि देउवाको प्रस्तावमा सहमत छैनन्। बहिष्कार गरेर अलग्गै कक्षमा बस्‍ने टोलीमा प्रकाशमान सिंह, डा रामशरण महत, शेखर कोइरालालगायत छन् ।

बिहीबार १ बजे बस्‍ने भनिएको बैठक एजेन्डामा सहमति नहुँदा ढिलो भएको हो।केन्द्रीय समितिको बैठकअघि एजेन्डामाथि छलफल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका पदाधिकारीको बैठक सानेपा पार्टी कार्यलयमा बसे पनि कुनै सहमति जुट्न सकेन।

खासगरी विभाग गठनसम्बन्धी एजेन्डामा सहमति हुन नसक्दा बैठकमा ढिलाइ भएको छ। हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पुर्‍याउने तयारी संस्थापन पक्ष छ। ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा देउवासहितको टिम रहे पनि असन्तुष्ट पक्षले यसमा विरोध गर्दै आएको छ।

केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुनेछ।

आन्तरिक व्यवस्थापन र भागबन्डमा अल्झिँदा न महाधिवेशनको क्यालेन्डर तय हुन सकेको छ नत पार्टीको संरचनाको टुंगो लागेको छ । विधानत: आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने कांग्रेसको बैठक पुरानै महाधिवेशनको म्यान्डेटअनुसार भइसक्नुपर्ने विभाग गठन तथा संरचनालाई पूर्णता दिन सकेको छैन।

कांग्रेसमा केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन्। कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ। तर, परम्परागत जिल्ला समिति र केन्द्रीय समितिकबाहेक अरू संरचना बन्न सकेको छैन।

क्रियाशील सदस्यताको टुंगो लागेको छैन। संगठनको ढुकढुकीका रुपमा क्रियाशिल भातृसंस्थाहरु विघटन भएर निश्कृय अवस्थामा अलपत्र छन्। २०७५ पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पार्टीको विधान पारित भए पनि गुटगत कलहले त्यसको कार्यान्वयनमा सकस देखिएको छ। – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *