वडा कार्यालयकाे लापर्वाही : बहुविवाहलाई मान्यता

Spread the love

दैलेख – नागरिकको घरदैलोमा सेवा प्रभावकारिता बढाउन संघीय व्यवस्था सुरु भएको छ, तर कार्यान्वयन गर्ने निकायको भने मनपरी र लापर्वाही बढेको छ । जसको प्रत्यक्ष पीडा साेझा सिधा नागरिकले भोग्नु परेको छ ।

यसैको उदाहरण बन्नुभएको छ, दैलेखको महाबु गाउँपालिका-५ काँशीकाँधकी २४ वर्षीया भावना थापा मगर ।

भावनाले २०६९ असोज ९ गते स्थानीय महेन्द्रबहादुर बुढासँग प्रेमविवाह गर्नुभयो । त्यसको एक वर्षपछि भावनाकी छोरी वर्षा बुढाको जन्म भयो । छोरी जन्मेको ७ महिनामा उहाँका श्रीमान महेन्द्र वैदेशिक रोजगारीको लागि मलेसिया जानुभयो ।

मलेसिया बसुञ्जेलसम्म श्रीमानसँग कुराकानी पनि भैरह्याे । तर २०७३ असारदेखि कुराकानी हुन अचानक बन्द भयो । महेन्द्र तीन महिनापछि मलेसियाबाट फर्केर काठमाण्डाैमै बस्नुभयाे । महेन्द्रकै सल्लाहमा सासु दुर्गा बुढा र ससुरा मयालाल बुढाले घरमा बस्न नदिएपछि भावना, छोरीसहित महाबु गाउँपालिका–६ एकपाटेस्थित माइतीमै फर्किनुभयाे ।

केही समयपछि उहाँले आफ्ना श्रीमान काठमाण्डौमा बस्दै गरेको थाहा पाउनुभयाे । मोबाइल नम्बर पत्ता लगाएर महेन्द्रलाई फाेन पनि गर्नुभयाे । घरमा आएर ‘विवाह दर्ता गरी यतै व्यापार व्यवसाय गरौँ न’ भन्नुभयो । तर महेन्द्रले यो कुरा मान्नु भएन ।

केही समयअघि भावनाले ससुराको नामबाट छोरीको जन्मदर्ता त गराउनु भयो तर विवाह दर्ताका लागि पटक-पटक धाउँदा पनि वडा कार्यालयले ‘श्रीमान-श्रीमतीसँगै आए मात्र बन्छ’ भनेर फर्कायो ।

भावनाले अनेक बिन्ती गर्दा समेत विवाह दर्ता गराउन नमानेको महाबु गाउँपालिका-५ को वडा कार्यालयले महेन्द्रले विवाह गरेकी दोश्रो श्रीमतीको विवाह–दर्ता चाँहि सजिलै गरिदिएको खुलेकाे छ ।

महेन्द्रकाे दोश्रो विवाह दर्ता भएको वडा कार्यालयको पञ्जिकरण अभिलेख हेर्दा पुष्टि भएको छ । महेन्द्रले सिन्धुलीको कमलामाई नगरपालिका-१२ की २६ वर्षीया इन्द्रकुमारी बस्नेतलाई २०७४ जेठ २० गते विवाह गरेको र २०७५ पुस ३० गते विवाह दर्ता गरेको पाइएको छ ।

महाबु गाउँपालिकाका पञ्जिकाधिकारी गोविन्दबहादुर थापालाई यस विषयमा बुझ्दा जेठी श्रीमती छन् भन्ने थाहा पाइपाई कान्छीको विवाह–दर्ता गराउनु गलत कार्य भएको टिप्पणी गर्नुभयो ।

मुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १७५ ले विवाहित पुरुषले अर्को विवाह गर्न नपाइने र कुनै विवाहित पुरुषसँग बहुविवाह गरेमा दोश्रो श्रीमती हुन आउने महिलासमेत दुवै जनालाई बहुविवाह कसूरमा एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने र उनीहरुको विवाहले मान्यता नपाउने कानुनी व्यवस्था गरेकाे छ ।

यसरी कानुनविपरीत वडा कार्यालयले श्रीमानकाे बहुविवाहलाई मान्यता दिँदा आफू अन्यायमा परेको भावनाको गुनासो छ । भावनाले आफ्नो दुखेसो पोख्दै भन्नुभयो , ‘श्रीमतीलाई बिहे दर्ता गर्न नमान्ने वडा कार्यालयले श्रीमानकाे अर्को बिहे गर्दा बहुविवाह दर्ता गरिदियाे ।’ – उज्यालो अनलाइन

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *