गुण्डासँग पुलिस र नेताको कनेक्शन : आइजीपी हटाउनेसम्मको धन्दा

Spread the love

काठमाण्डौं । पुलिसमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आइजिपी हट्दै छन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वार्टभित्रैबाट ठुल्ठूला अफिसर सक्रिय भएको भनी आइजिपी सर्वेन्द्र खनालले केही दिनअघि पिसिसी बैठकमै भने, ‘को–को लाग्या छन्, सबै थाहा छ !’

अब बजारमा पुलिसबारे आउन लागेको नयाँ फण्डा हो, ‘गुण्डा नाइके कुमार श्रेष्ठ (घैंटे) दोहोरो भिडन्तमा मारिएको नभएर प्रहरीको बल प्रयोगबाट मारिएको भनी राष्ट्रिय मानवअधिकार आयोगको ठहर ।’ घैंटे मारिनुअघि मारिएका अर्का गुण्डा नाइके दिनेश अधिकारी (चरी) बारेको कुरालाई ओझेलमा पार्दै घैंटे प्रकरण उछाल्ने तयारी हुनुका पछाडिको कारण हो, आइजिपीविरुद्ध शक्तिकेन्द्रमा प्रभाव पार्नु ।

स्मरणीय छ, घैंटे मारिँदा अहिलेका आइजी अपराध महाशाखाका प्रमुख थिए । यसअघि सर्लाहीमा मारिएका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको मुठभेडमा नभई प्रहरीको बल प्रयोगबाट मृत्यु भएको ठहरसहित मानवअधिकार आयोगको रिपोर्टअनुसार आइजिपी हट्ने हल्ला चल्यो । तर, उनी हटेनन् । अख्तियारमा खरिद प्रकरणको उजुरी पर्‍यो ‘आइजिपी अब हट्छन्’ भन्ने हल्ला आयो ।

सामान्यतया मानवअधिकार आयोगले कुनै संवेदनशील विषयको अध्ययन गरेपछि त्यस्तो प्रतिवेदन राज्यका निश्चित निकायका पनि प्रमुख व्यक्तिलाई मात्रै दिइन्छ, सार्वजनिक गरिँदैन । तर, कुमार पौडेल घटनाको छानबिन प्रतिवेदन हतार–हतारमा बाहिर ल्याइँदा न त्यो प्रतिवेदन कार्यान्वयन हुन सक्यो, न त्यो प्रतिवेदन हतारमा ल्याइनुको अर्को मक्सद नै पूरा भयो । प्रतिवेदन तयार पार्ने क्रममा न घटनास्थलको जानकारी लिन प्रहरीले उठाएको मुचुल्का अध्ययन भएको छ, न त अनुसन्धान अधिकृतसँगै सोधपुछ गरिएको छ ।

घटनास्थल अनुसन्धान विशेषज्ञबिना हत्याका कसुरमाथिको छानबिन पूरा भएको मानिँदैन । कुमार पौडेल मारिँदा हातको हड्डी भाँचिएको कुरा उल्लेख गर्दै गोली लागेर हैन, यातनाले मृत्यु भएको भनिएको छ । तर, दोहोरो भिडन्तमा खुट्टामा हानिएको गोली टाउकोमा लाग्न सक्ने, टाउकोमा हानिएको गोली अन्यत्र लाग्न सक्ने हुन्छ । प्रतिवेदनमा कुन हतियार प्रयोग भएको, कति एमएमको गोली लागिएको जस्ता कुरा छैनन् ।

राजनीतिक प्रतिवेदनको शैलीमा ‘बल प्रयोग’ को कुरा उल्लेख छ । प्रतिवेदनमा हात खडा गर्न लगाइयो र गोली हानियो मात्रै भनिएको छ । तर, त्यही प्रतिवेदनमा लेखेअनुसार कुमार पौडेलको हात कसरी भाँचियो भन्नेबारे त्यसमा केही उल्लेख छैन । हतियारको रेञ्जअनुसार शरीरको कुन भागमा कति क्षति पुर्‍याउने, कति शक्तिशाली रूपमा गोली शरीरमा छिरेको छ भन्ने कुराको अध्ययन विशेषज्ञबिना सम्भव हुँदैन ।

त्यसमाथि कञ्चट र छातीबाहेकका ठाउँमा गोली लागेको मान्छे गोली लाग्नेबित्तिकै मर्दैन । त्यस्ता मान्छेलाई मर्न कम्तीमा पनि १०–१५ मिनेट लाग्छ । यसक्रममा उसले बाँच्ने आसमा गर्ने संघर्षका क्रममा कहाँ–कहाँ र कति चोट पुग्छ ? यसको ठेगान हुँदैन । ड्युटीमा बस्ने प्रहरी र घटनास्थल अनुसन्धानमा विशेषज्ञता हासिल गरेका प्रहरी फरक हुन्छन् । मानवअधिकार आयोगले त्यस्ता विशेषज्ञबिनै घटनाको निश्कर्ष निकालेको छ ।

अहिलेका आइजी अपराध महाशाखामा हुँदा सनसनी मच्चियो, अनामनगरस्थित सुदीप पाठकको मानवअधिकार संगठनको कार्यालयमा घैंटेको आतंक चल्यो भनेर । प्रहरी पुग्दा घैंटे भागिसकेका थिए । त्यसको केही दिनपछि बागबजारस्थित एक होटलमा त्यसको राष्ट्रिय सम्मेलन हुँदा घैंटेलाई प्रयोग गरेर सुदीपले मानवअधिकार संगठन कब्जा गर्न खोजेका थिए ।

तर, प्रहरीले समयमै सूचना पाएर पहिल्यै होटलमा प्रहरी पुग्दा घैंटे पुग्न सकेनन् र संगठनको नेतृत्वमा सुदीप हाबी हुन पाएनन् । सुदीप घैंटे अध्यक्ष रहेको सामाखुशी युथ क्लबका संरक्षक थिए । त्यसका सल्लाहकार छन्, कांग्रेस सांसद गगन थापा । फेसबुकमा घैंटेले चलाउने ‘स्वराज आइडु’ मा गगनसँगको सम्बन्ध झल्किने फोटोहरू भेटिन्छन् । ‘सामाखुशी युथ एसोसिएसन’ नामक फेसबुकको प्रोफाइल पिक्चरमै गगन थापाको फोटो छ ।

भनिन्छ, गगन घैंटेका व्यापारिक साझेदार थिए । पछिल्लो समय प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेरै खोजिरहेका र नभेटिएका डिएसपी कुमोध ढुंगेलको सरुवा र बढुवाका कुरामा गगनले बढी दबाब दिने कारण घैंटेको कनेक्सनसँग सुदीप पाठकसँगै गगनको संलग्नताबारे पनि अध्ययन भइरहेको बताइन्छ । घैंटेसँग कुमोधको साझेदारीबारे आवश्यक तथ्य संकलन भइसकेको बताइन्छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *