जलपरी गौरिकाको कीर्तिमानै कीर्तिमान !

Spread the love

२४ मंसिर, काठमाडौं । रिओ ओलम्पिकमा कान्छी खेलाडीको कीर्तिमान रचेकी गौरिका सिंहले १३औं दक्षिण एसियाली खेलकुद (साग) को एउटै संस्करणमा ४ वटा स्वर्ण जितेर कीर्तिमानै कीर्तिमान बनाएकी छन् । उक्त खेलअन्तर्गत उनले सोमबार पौडीमा व्यक्तिगत चौंथो स्वर्ण जितेकी छिन् । फिरोज राजोपाध्यायले आजको समाचारपत्रमा समाचार लेखेका छन् ।

यो सफलतासँगै उनी एउटै साग प्रतियोगितामा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। आइतबारसम्म उनले तीनवटा स्वर्ण हात पारेकी थिइन्।सोमबार सातदोबाटोस्थित पौडीपोखरीमा महिला १ सय मिटर फ्रिस्टाइलतर्फ भारतीय प्रतिद्वन्द्वीलाई २ सेकेन्डले पछि पारेर स्वर्ण जितेपछि गौरिकाले आफूलाई नेपाली खेलकुदमा सबैभन्दा सफल खेलाडीका रूपमा उभ्याएकी हुन् ।

भारतकी शिवांगी शर्मासँग कडा चुनौती पाएकी उनी ५८.१३ सेकेन्ड समयका साथ स्वर्ण जित्न सफल भएकी हुन्। अन्तिम ल्याप २५ मिटरको दूरीमा उनी र शिवांगी बराबर स्थितिमै रहेका थिए। तर, गौरिकाले अन्तिममा शिवांगीलाई पछि पारेरै छाडेपछि शिवांगीले ५८.१५ सेकेन्डका साथ रजतमा चित्त बुझाएकी थिइन्।

बिहान भएको हिट चरणमा गौरिकाको समय १ मिनेट ०.२१ सेकेन्डको थियो। सो हिट चरणमा शिवांगीले ५८.६६ सेकेन्डका साथ पहिलो स्थान हात पारेकी थिइन्। तर, फाइनल चरणमा गौरिकाले १ मिनेटभन्दा कम समय खर्चेर शिवांगीलाई हिस्स पारिन्।

गौरिकाले पहिलो स्वर्ण २ सय मिटर फ्रिस्टाइलमा जितेकी हुन्। यो स्वर्ण जित्दा उनी निकै भावुक भएकी थिइन्। उनले आफूलाई विदेशी भनेकोमा चित्त दुखेको बताउँदै उक्त स्वर्ण जित्नेबितिकै भनिन् पनि ‘यो स्वर्ण नेपालकै हो।’

अर्को दिन गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट १७.७३ सेकेन्डको कीर्तिमानी समयका साथ दोस्रो स्वर्ण जितिन्। उनले ४ सय मिटर फ्रिस्टाइलमा कीर्तिमानी समयका साथ स्वर्ण जितेकी हुन्। उनले ४ सय मिटर फ्रिस्टाइलमा ४ मिनेट २५.२८ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

१२औं सागसम्म भारत र श्रीलंकाका पौडीबाजको वर्चश्व रहेकोमा यसपटक गौरिकाले उनीहरूको वर्चश्व तोड्नुका साथै कीर्तिमानको ओइरो लगाइदिन्। उनको सफलताले यो पनि सावित भयो कि मेहनत र राम्रो प्रशिक्षण पाए नेपाली खेलाडीहरू कडाभन्दा कडा चुनौती पार गर्न सक्षम हुनेछन् ।

१६ वर्षीया जलपरी गौरिकाले सागमा तेक्वान्दोका दीपक विष्टको ४ स्वर्णको कीर्तिमानसँग बराबरी बनाएकी हुन्। विष्टले आठौंदेखि ११ औं सागसम्म लगातार तेक्वान्दोतर्फ स्वर्ण जितेका थिए।

अर्को कोणबाट हेर्दा गौरिकाले एउटै सागमा ८ पदक जित्ने नेपालको पहिलो खेलाडी बन्ने मौका पाएकी छन्। जारी सागको ८ स्पर्र्धामा खेलेकी उनले थप २ रजत र २ कास्य समेत हासिल गरेकी छन्।

यसअघि भएको १२औं सागमा उनले १ रजत र ३ कास्य जितेकी थिइन्। त्यति बेला गौरिकाले अर्को सागमा आफ्नो क्षमता प्रस्तुत गर्ने वाचा गरेकी थिइन्। त्यो वाचा उनले पूरा गरेरै छाडिन्।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *