अवैध तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म

Spread the love

जनकपुरधाम । प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् । उच्च पदस्थ पदाधिकारीलाई यस विषय गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै पनि सरोकारवला निकायले ध्यान नदिँदा तलबभत्ता बुझ्न नरोकिएको हो ।

प्रदेशभरि वित्तीय अनुशासन कायम गर्नुपर्ने निकायका प्रमुख पदाधिकारीले नै अनुशासनहीन प्रदर्शन गर्दै कर्मचारीको तलब व्यक्तिगत खातामा बुझ्ने गरेका छन् । प्रदेशसभा गठनपछि राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव सभामुख र समाजवादी पार्टीका उपमा देव उपसभामुखमा चयन भए । उनीहरूले निजी सचिवालय निर्माण गरी कर्मचारीका नाममा मात्र भर्पाइ पेस गरेर प्रदेशसभा सचिवालयमार्फत लाखौं रकम व्यक्तिगत खातामा बुझेको सचिवालयले जनाएको छ ।

सभामुख यादवले पदभार ग्रहण गरेदेखि हालसम्म २० महिनामा निजी सचिवालयका १० कर्मचारीको तलब मासिक २ लाख ७३ हजार ८ सय ९० रुपैयाँका दरले ५४ लाख ७७ हजार ८ सय रुपैयाँ व्यक्तिगत खातामा बुझेका छन् । सुजीतकुमार झाले आजको राजधानी दैनिकमा समाचार लेखेका छन् ।

सभामुखको निजी सचिवालयमा राजपत्रांकित प्रथम श्रेणीका स्वकीय सचिव, द्वितीय श्रेणीका स्वकीय सचिव, तृतीय श्रेणीका स्वकीय सचिव, प्रथम स्तरका कार्यालय सहयोगी, कम्प्युटर अपरेटर एक-एक जना, सवारी चालक दुईजना, भान्से, माली र स्विपर गरी १० कर्मचारी राख्न सकिने व्यवस्था सेवासुविधासम्बन्धी ऐनमा छ ।

उपसभामुख उपमा देवले निजी सचिवालयका सात जना कर्मचारीको तलव एकमुष्ट आफ्नै खातामा बुझ्दै आएकी छन् । देवले पछिल्लो २० महिनामा कर्मचारीको तलबबापतको ३६ लाख ६० हजार रुपैयाँ बुझेकी छन् ।

उनको निजी सचिवालयमा राजपत्रांकित द्वितीय श्रेणीका स्वकीय सचिव, तृतीय श्रेणीका स्वकीय सचिव, कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, सवारीचालक एक, कुक र माली गरी सात जना कर्मचारी राख्न सक्ने व्यवस्था छ ।

सभामुख र उपसभामुखझैं सत्तापक्षका मुख्य सचेतक र विपक्षी दलका नेताले पनि निजी सचिवालयको सुविधा पाएका छन् । सत्तापक्षका मुख्य सचेतक शैलेन्द्र यादवले निजी सचिवालयका पाँच जना कर्मचारीको तलबबापतको रकम प्रतिमहिना १ लाख ४६ हजार ६० रुपैयाँ आफ्नो निजी खातामा बुझ्ने गर्छन् ।

सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यका निजी सचिवालयको तलबभत्ता आफ्नै खातामा राख्ने गर्छन् ।

विपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डलले निजी सचिवालयका चार जना कर्मचारीको तलबबापतको रकम प्रतिमहिना १ लाख २५ हजार रुपैयाँ निजी खातामै बुझ्छन् । मण्डलले पनि सचिवालयमा पाँच जना कर्मचारी राख्ने अधिकार पाएका छन् । उनलाई प्रदेशसभाले गाडीको सुविधा उपलब्ध नगराएको हुनाले उनले चालकबापतको रकम पाएका छैनन् ।

प्रदेशसभाको गत १ असारको बैठकबाट प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पास भएको थियो । सोहीअनुसार सभामुख र उपसभामुखले निजी सचिवालय विस्तार गरेका हुन् ।

निजी सचिवालयका कर्मचारीबारे प्रदेशसभा सचिवालयलाई कुनै जानकारी नरहेको प्रदेशसभाका सचिव रञ्जित यादव बताउँछन् । यादव भन्छन्, ‘निजी सचिवालयका कर्मचारीको खाता नम्बर हामीलाई प्राप्त छैन । माननीयज्यूहरूले आफ्नै खातामा रकम राखेर भर्पाइ दिनुहुन्छ ।’

संघीय संसद्मा पनि यस्तै अभ्यास रहेको उनको भनाइ छ । यादव भन्छन, ‘कानुनमा बाध्यकारी व्यवस्था छैन । तर, कर्मचारीको तलब उसको आफ्नै खातामा जाँदा पारदर्शी हुन्थ्यो ।’

प्रदेश २ कोष तथा लेखानियन्त्रण कार्यालयका प्रमुख लेखानियन्त्रक विनोद गेलाल प्रदेशसभाका पदाधिकारीले निजी सचिवालयको रकम व्यक्तिगत खातामा बुझ्नु वित्तीय अनुशासनहीनता रहेको बताउँछन् । उनी भन्छन, ‘यस विषयमा हामी प्रदेशसभा सचिवालयबाट थप बुझेर कसरी व्यवस्थित गर्ने त्यसतर्फ पहल गर्नेछौं ।’

सभामुख यादव भन्छन, ‘निजी सचिवालयका कर्मचारी परिवर्तन भइरहन्छन् । कहिलेकाहीँ कुरा नमिल्दा दुई÷तीन महिनामै कर्मचारी फेर्नुपर्ने हुन्छ । यस्तोमा कतिको खाता राख्ने त्यसैले व्यक्तिगत खातामै रकम बुझ्ने गर्छु ।’

उपसभामुख उपमा देवले आफूले कर्मचारीको तलब बुझे पनि उनीहरूलाई चेकमार्फत प्रत्येक महिना उपलब्ध गराउँदै आएको बताइन् । उनले भनिन्, ‘सबैको खाता व्यवस्थापन गर्न सकिएको छैन । उनीहरूलाई चेक काटेर तलब दिन्छु । भर्पाइ आफैं राख्ने गरेको छु ।’

प्रमुख सचेतक शैलेन्द्र यादव भने यस विषयमा केही बोल्नै चाहेनन् । यादवले भने, ‘यो तलब कसरी बुझ्ने भन्नेबारे प्रदेशसभाका अन्य राजनीतिक दलका सचेतकसँग बैठक राखेको छु । त्यसपछि केही भन्नेछु ।’

स्वकीय सचिवको तलब पनि निजी खातामै

प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता र प्रमुख सचेतकले विशेष सुविधा पाएका छन् । १ सय ३ जनामध्ये चारजनाको स्वकीय सचिवको तलब आफ्नै खातामा जान्छ । ९९ जनाले स्वकीय सचिवको तलब निजी खातामै बुझ्दै आएका छन् ।

सेवासुविधासम्बन्धी ऐनअनुसार प्रदेशसभा सदस्यले तृतीय श्रेणीको एक जना स्वकीय सचिव राख्न सक्ने व्यवस्था छ । तर, प्रदेशसभा सदस्यमध्ये अधिकांशले आफन्त र नातेदारलाई नै स्वकीय सचिव बनाई तिनको तलबबापतको रकम पनि आफ्नै खातामा बुझ्ने गरेका छन् ।

सांसदहरू रामअशिष यादव, करिमा बेगम, चमेलीदेवी दास र प्रह्लाद गिरी गोस्वामीले स्वकीय सचिवको खाता नम्बर सचिवालयलाई उपलब्ध गराएका छन् । अन्य सदस्यहरूले भने भर्पाइ गरी स्वकीय सचिवको तलब आफ्नो निजी खातामै बुझ्ने गरेका छन् ।

स्वकीय सचिव वा निजी सचिवालय राख्दा कानुनअनुसार तोकिएको योग्यता र स्तरका आधारमा नियुक्त गर्नुपर्ने नियम रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *