‘बाहुनको छोरो पल्टन गयाे भनेर गाउँलेले गिज्याए अनि पल्टन छाेडेर आएँ’

Spread the love

लमजुङ – त्यो समय, कमैले मात्र पढाइ/लेखाइ गर्थे । कतिले पढ्ने अवसर पाउँथे त कतिले परिस्थितिले गर्दा पढ्न/लेख्न पाउँदैनथे ।

तर लमजुङ सुन्दरबजार नगरपालिका २ को परेवाडाँडाका भीष्मकान्त भट्टले त्यो समयमा ८ कक्षासम्म पढ्नुभयो । १३ वर्षकै उमेरमा ८ कक्षा उत्तीर्ण गरेपछि उहाँलाई पढाउनका लागि विभिन्न ठाउँबाट अवसर आयो । ‘धेरै पढ्यो’ भनेर गाउँ–ठाउँमा उहाँको चर्चा भयो, प्रशंसा भयो ।

‘१३ वर्षकै उमेरमा श्री शान्ति हाइस्कुलबाट आठ कक्षा उत्तीर्ण गरेँ’, उहाँले सम्झँदै भन्नुभयो, ‘त्यो समयमा ८ पास भएपछि फलानाको छोराले असाध्यै धेरै पढ्यो भनेर गाउँघर चर्चा भयो । जागिरका अवसरहरु आउन थाले ।’

उहाँकाअनुसार ८ कक्षा उत्तीर्ण गरेसँगै उहाँले तनहुँको एउटा विद्यालयमा प्रधानाध्यापक भएर काम गर्ने अवसर पनि पाउनुभयो ।

त्यसो त उहाँले ४ वर्षदेखि नै बुवाबाट ‘चण्डी दुर्गा कवच’ पढ्नुभएको थियो । ‘४ वर्षको उमेरदेखि ९ वर्षसम्म बुवाबाट चण्डी पढेँ । बुवाबाटै पूजापाठ सिकेँ’, उहाँले भन्नुभयो, ‘बुवाबाट सिकेको पूजापाठ अहिले काम लागिरहेको छ । अहिले पनि म पूजापाठ, कर्मकाण्ड गरिरहेको छु ।’

पढाउँदै गर्दा ‘पढ्नु पर्छ’ भनेर उहाँ फेरि पढ्न थाल्नुभयो । तर बीचैमा पढाइ छाड्नुभयो । जागिर र पढाइ दुवै छाडेपछि उहाँ कामको खोजीमा गोरखपुर पुग्नुभयो । एक जनाले ‘जागिर खान्छौ ?’ भनेर उहाँलाई जागिरको अवसर सुनाए ।

‘एक जना लाहुरेले जागिर खान्छौ भन्नुभयो ?’, उहाँले थप्नुभयो, ‘मैले हुन्छ भनेँ । उसले नाप जाँच, एक्स–रे गरेर मलाई आसाम पठायो । इण्डियामा ६ वर्षसम्म काम गरेँ ।’

त्यो समयमा सानै उमेरमा बिहे गर्ने चलन । बुवाले भट्टको बिहेका लागि केटी देखाउन लैजानुभयो । तर बिहे भएन ।

लाहुर गएपछि उहाँ घर फर्कनुभयो । पहिले माग्न गएको केटीको बिहे भएको छैन भन्ने उहाँले थाहा पाउनुभयो । केटीको घर पुग्नुभयो, उहाँ । पानी मागेर खानुभयो । उहाँले आफ्नो परिचय दिनुभयो ।

लाहुरे भएर आएको भन्ने थाहा पाएपछि बिहेका लागि केटी पक्ष राजी भए । ‘लाहुरे भन्ने थाहा पाएपछि केटीका बुवा आमा हाम्रो बिहेका लागि तयार हुनुभयो,’ उहाँले भन्नुभयो, ‘२२ वर्षको उमेरमा मेरो बिहे भएको हो ।’

लाहुरमा दुःख

माघमा बिहे भयो, फागुनमा उहाँ घरमा श्रीमती छाडेर लाहुर फर्कनुभयो । उहाँलाई परदेशको जागिरमा बसिरहने इच्छा भएन ।

‘आर्मीलाई साह्रै दुःख । नाकामा लडाइँ । हप्तौँसम्म वनमा पेट्रोलिङ जानुपर्ने । सानो मिस्टिनमा पकाएर खानुपर्ने, त्यहीँ सुत्नुपर्ने । साह्रै दुःख थियो नि,’ उहाँले भन्नुभयो, ‘बिहे गरेर गएपछि लाहुरमा बस्न मन भएन ।’

ढाँटेर घर फिर्ती

त्यसपछि उहाँले आमा बित्नुभयो भनेर कृत्रिम चिट्ठी लेखेर ‘कमाण्डिङ’ अफिसरलाई बुझाउनुभयो । उहाँको कमाण्डिङ अफिसर नेपाली नै थिए ।

‘आमाको निधन भएको भए २० दिनको छुट्टी लिएर जाऊ, काम सकेर फेरि आऊ भनेर अफिसरले बिदा स्वीकृत गरिदिनुभयो अनि म नेपाल आएँ,’ उहाँले सुनाउनुभयो ।

घर आएपछि उहाँ ‘लाहुर’ फर्कनुभएन । घरपरिवारका साथै ससुरालीले उहाँलाई फेरि लाहुर जान दिनुभएन ।

गाउँ समाजमा खिसीटिउरी !

बाहुनको छोरा पल्टनमा जागिरे भन्दै गाउँ समाजमा धेरैले खिसीटिउरी गरेको, गाउँलेले हेय भावको दृष्टिले हेर्ने गरेको उहाँ सम्झनु हुन्छ । ‘बाहुनको छोरो पल्टनमा जागिरे भएको भन्दै धेरैले हेँला गर्थे । घर फर्केपछि जागिर नै छाडेँ,’ उहाँले भन्नुभयो ।

बीचैमा पढाइ छाडेकोमा उहाँलाई पछुतो लाग्छ । ‘बीचैमा पढाइ नछाडेको भए हुने रै’छ भन्ने लाग्छ,’ उहाँले भन्नुभयो, ‘सँगै पढेका साथीहरुले देशको उच्च तहमा रहेर काम गरिसक्नु भएको छ ।’

विभिन्न आरोह अवरोह, दुःख–सुख, उमेर, अवस्था पार गर्दै अहिले उहाँ वृद्ध अवस्थामा आइपुग्नु भएको छ । यो उमेरमा उहाँ पूजापाठका साथै कर्मकाण्डसम्बन्धी काम गर्दै आउनु भएको छ ।

उहाँ ज्येष्ठ नागरिक समाज सुन्दर बजारका अध्यक्षसमेत हुनुहुन्छ । यसै समाजमा रहेर उहाँले आफूजस्तै ज्येष्ठ नागरिकको हकहितमा काम गर्दै आउनु भएको छ ।

सम्पन्न वर्गका आमा बुवा नै दुःख भोग्दै

उहाँकाअनुसार गाउँ समाजमा सम्पन्न वर्गका बुवा आमाले दुःख पाइरहेका छन् । ‘सन्तान सम्पन्नशाली छन् । तीन/चार तले पक्की घर पनि छन् । तल आए माथि उक्लिन गाह्राे । माथि बसे, तल झर्न गाह्रो’, उहाँले भन्नुभयो, ‘सन्तान विदेशमा छन् । उनीहरुको हेरचाह गर्ने कोही छैनन् । उनीहरु दुःखी छन् ।’

सरकारले दिने सामाजिक सुरक्षा भत्ताले आर्थिक अवस्था कमजोर रहेका ज्येष्ठ नागरिकलाई दाल, चामल किनेर खान सजिलो भएको उहाँ बताउनुहुन्छ । ‘भोक, तिर्खाले ज्येष्ठ नागरिक नमरुन् भनेर सरकारले सहयोग गरेको छ । हामी सरकारलाई धन्यवाद दिन्छौँ’, ७६ वर्षका भट्ट भन्नुहुन्छ । – उज्यालो अनलाइनबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *