प्रधानमन्त्रीको गृहनगरमा अर्को बालुवाटार काण्ड : सरकारी जग्गा हत्याउँदै नेकपा नेता

Spread the love

मंसिर २२, झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिका–८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारुढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका छन् । नेकपा नेता गगन पुरीले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेता पुरीले मालपोत र नापीका कर्मचारीसँग मिलेर सरकारी जमिन व्यक्तिको नाममा पार्ने प्रयास गरेको खुलेको हो ।

पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउन खोजेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । जमिन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेको बुझिएको छ । साविकको कित्ता नम्बर ३० को जमिन ३ कित्तामा फोरिएको छ । अहिलेको कित्ता नम्बर ७४ को जमिन पौडेलको नाममा देखिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाइँले लेखेका छन् ।

पौडेललाई प्रहरीले मंसिर १६ गते नै पक्राउ गरिसकेको छ । २ कठ्ठा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउनेगरी काम अघि बढाएको अनुसन्धानबाट खुलेको छ । साविक दमक –१३ मा रहेको सो जग्गामा बस्दै आएका सुकुमबासी ३९ सालमा आएको बाढीका कारण अन्यत्र सरेको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए । उक्त क्षेत्रमा धुरको ३ लाख रुपैयाँसम्ममा जग्गाको कारोबार हुँदै आएको स्थानीय बताउँछन् ।

जिल्ला अदालत झापाले सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा पुरीलाई बिहीबार पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पक्राउ पुर्जी जारी गरे पनि यो समाचार तयार पारुञ्जेलसम्म पुरी पक्राउ परेका छैनन् । सरकारी जमिन व्यक्तिको नाममा लानका लागि पुरीले सरकारी छाप र हस्ताक्षर दुरुपयोग गरेको डीएसपी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उक्त जमिन व्यक्तिको नाममा पास गराउने कार्यमा मालपोत र नापीका कर्मचारी तथा सर्जमिन गर्ने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको छ ।

प्रहरीले सो कार्यमा संलग्न रहेको आशंकामा दमक नापीका निलम्बित कर्मचारी विनोद मण्डललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पुरीले उक्त सरकारी जमिन ०७१ सालदेखि व्यक्तिको नाममा पास गराउने प्रक्रिया सुरु गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त जमिन महेन्द्र राजमार्गदेखि ४ सयदेखि ५ सय मिटर दक्षिण रहेको स्थानीयले बताएका छन् ।

आरोपी पुरी स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदका उम्मेदवार समेत बनेका थिए । उनी तत्कालीन एकीकृत माओवादीका केन्द्रीय नेता हुन् । पुरी दमकदेखि पाँचथरसम्म जोड्ने रणनीतिक सडक दमक–रबि सडक निर्माण उपभोक्ता समितिका निर्वाचित अध्यक्ष समेत रहेका छन् । नेकपा प्रदेश–१ का कमिटी सदस्यसमेत रहेका पुरी भने भारतको सिक्किममा रहेको बताइएको छ । तर, आरोपी पुरीको परिवारले भने आरोप निराधार भएको भन्दै खण्डन गरेका छन् ।

पुरीकी श्रीमती सीमाले शनिबार दमकमा पत्रकार सम्मेलन गरेर श्रीमान गगन पुरीका विषयमा फैलिएको हल्ला कपोकल्पित रहेको दावी गरेकी छन् । उनले आफ्ना श्रीमानको नाम जोडेर भएको हल्लामा कुनै सत्यता नरहेको दावी गरेकी हुन् । पुरी काम विशेषले नेपाल बाहिर रहेकाले केही दिनमै नेपाल आउने र यी सबै विवादको सामना गर्ने सिमाको भनाइ छ । झापा प्रहरी भने पुरीको खोजी तीव्र पारेको बताउँछ । जग्गा हत्याउने विषयमा ठूलै सञ्जाल रहेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *