सागमा श्रीमान् प्रतिस्पर्धी श्रीमती मुख्य निर्णायक !

Spread the love

पोखरा : श्रीमती निर्णायक, श्रीमान् १३औं सागअन्तर्गत भारोत्तोलनको ८९ केजी तौलसमूहका प्रतिस्पर्धी। यो दुर्लभ संयोग पोखरामा शुक्रबार भारोत्तोलन प्रतियोगितामा देखिएको हो।

यस्तो दुर्लभ प्रतिस्पर्धामा बंगलादेशका खेलाडीसँग प्रतिस्पर्धामा उत्रिएका थिए, नेपालका ३० वर्षीय विकास थापा। अन्तर्राष्ट्रिय जर्जको मुख्य भूमिकामा थिइन् विकासकै श्रीमती नीति श्रेष्ठ थापा ।

पाकिस्तानका खेलाडीले बिरामी भएर खेल त्यागेपछि थापाले बंगलादेशका खेलाडी मोहमद सकायत हुसेनसँग प्रतिस्पर्धा गरेका थिए। श्रीमान् स्वर्णका लागि प्रतिस्पर्धामा भए पनि आफूले निष्पक्ष रूपमा निर्णायकको भूमिका निर्वाह गरेको नीतिले बताइन्।

स्वर्ण विजेता थापाले पनि श्रीमतीलाई मुख्य निर्णायककै सम्मान गरेर प्रतिस्पर्धामा उत्रिएको बताए। ‘ऊ अलि भावुक भएकोले आतिन्छ कि भन्ने लागेको थियो’, थापाले भने ‘नीतिले निष्पक्ष निर्णय गरिन्।’

भारोत्तोलन अभ्यासकै क्रममा भेट भएर ६ वर्षे प्रेमपछि उनीहरूले अन्तरजातीय विवाह गरेका थिए। नीति राष्ट्रिय खेलाडी हुँदै अन्तर्राष्ट्रिय निर्णाय बनेकी हुन्। विकास भने राष्ट्रिय खेलाडीका रूपमा उदाए।

उनले राष्ट्रिय प्रतिस्पर्धामा धेरै स्वर्ण पनि जिते। १२औं सागमा रजत पदक जितेका थापाले शुक्रबार भने स्वर्ण जिते। श्रीमान्ले स्वर्ण जितेपछि अंकमाल गर्न मन लागे पनि आफ्नो भूमिकाले बाँधेको नीतिले सुनाइन्। पुरस्कार वितरण सकिएसँगै उनले श्रीमान्सँग स्वर्णको खुसी साटिन्।

माटेपानीमा भएको प्रतिस्पर्धामा थापाले ८९ केजी तौलसमूहमा कुल दुई सय ६९ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान भंग गरे। थापाले स्न्याचमा एक सय २३ र क्लिन एन्ड जर्कमा एक सय ४६ गरी कुल दुई सय ६९ केजी भार वहन गरे।

यसअघि छनोट चरणमा थापाको नाममा स्न्याचमा एक सय २२ र क्लिन एन्ड जर्कमा एक सय ४२ गरी कुल दुई सय ६४ केजीको कीर्तिमान रहेको थियो। बंगलादेशका हुसेनले स्न्याचमा एक सय २३ र क्लिन एन्ड जर्कमा एक सय ४५ गरी कुल दुई सय ६८ केजी भार वहन गरे । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *