निद्रा नलाग्नुका १२ कारण र समाधानका १० उपाय

Spread the love

– डा कोपिला अधिकारी

विषय प्रवेश

प्रतिष्ठित प्राइभेट बैंकमा कार्यरत ललितपुर, सानेपाकी ३६ वर्षीया सीता शर्मा (नाम परिवर्तन) लामो समयदेखि निदाउन नसक्ने समस्याबाट पीडित थिइन्। यही समस्याका कारण उनी झन्डै जागिर छोड्ने अवस्थामा पुगेकी थिइन्। उनले कैयौं नाम चलेका अस्पताल र डाक्टरसँग जाँच गराइन्। तर, डाक्टरले दिएका औषधि सेवन गर्दा पनि उनको समस्या समाधान भएन।

डाक्टरको औषधिले केही समय निद्रा लागे पनि दीर्घकालीन समाधान नदिएपछि उनले विगत ७ दिनदेखि आयुर्वेदिक औषधि, शिरोधारा, योग, प्राणयाम लगायत उपचार गराइरहेकी छिन्। अहिले केही फाइदा हुँदै गएको र विस्तारै समस्या पूर्ण रुपमा समाधान हुनेमा उनी आशावादी छिन्।

सीतामात्र होइन, तनाव एवं अनिद्राका बिरामीका लागि आयुर्वेदिक उपचार लाभदायक मानिएको छ। सुरुसुरुमा रहर र रमाइलोका कारण प्रयोग गरिएको मोबाइल एवं सोसल मिडिया विस्तारै आदत बनेर राति अबेरसम्म चलाउँदा विस्तारै निद्रा पर्न छाड्ने कतिपय बिरामीहरु बताउँछन्।

निद्रा नलाग्नुका १२ कारण :

१. मोबाइल, कम्प्युटर लगायत विद्युतीय सामग्रीको अत्यधिक प्रयोग।

२. सोसल मिडियाप्रतिको लगाव एवं आदत।

३. अत्यधिक मात्रामा ध्वनी एवं प्रकाशको असर।

४. सुत्ने वातावरण शान्त नहुनु, सडक छेउमा घर, छरछिमेकमा नियमित रुपमा गाडीको आवाज आदि।

५. रातिको खाना ढिला खानु, खाना खाने र सुत्ने बीचको समय २ घन्टाभन्दा कम हुनु।

६. तनाव, आर्थिक, पारिवारिक, अध्ययन एवं पेसागत समस्या।

७. कुनै समस्याबाट उम्किन नसक्नु, त्यसको बारेमा आवश्यकताभन्दा बढी सोच्ने, कल्पना गरिरहने बानी।

८. घट्दो पारिवारिक, सामाजिक आत्मीयता।

९. नकारात्मक सोचको प्रभाव।

१०. नियमित योग, व्यायामको कमी।

११. उच्च रक्तचाप एवं अन्य दीर्घकालीन रोग।

१२. उमेर, सामान्यतया वृद्घावस्थामा निद्रा कम लाग्छ।

आरामदायी निद्राको लागि १० उपाय

१. उल्लेखित कारणहरु केलाएर आफ्नो निद्राको समस्या किन भइरहेको छ पत्ता लगाउने।

२. सकेसम्म ती कारणहरुबाट बच्ने अर्थात् आफ्नो जीवनशैली परिवर्तन गर्ने।

३. रातिको खानापछि केही समय टहल्ने, हिँड्ने।

४. राति सुत्नुअघि चिसो पानीले अनुहार, हात, गोडा धोएर तेलले हल्का मालिस गर्ने।

५. टाउकोमा, कानको वरिपरि तेलले मालिस गर्ने।

६. सकेसम्म रातको १० बजे सम्ममा सुत्ने कोशिस गर्ने।

७. सुत्नुअघि मोबाइल, कम्प्युटरको प्रयोग नगर्ने।

८. सकारात्मक सोचको विकास गर्ने।

९. सुत्नुअघि सुन्दर दिनको लागि आभार प्रकट गर्ने।

१०. दिनभरि आफूले गरेका राम्रा कामहरु सम्झने।

निष्कर्ष

सामान्य मानिसले २४ घन्टामा ७ देखि ८ घन्टा मस्त निदाउनु शारीरिक, मानसिक एवं सामाजिक स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। निद्रा नपुगेको अवस्थामा सुरुमा शरीर गल्ने, कमजोरी महसुस हुने, झर्को लाग्ने, काममा ध्यान नजाने, निर्णय क्षमतामा ह्रास, खाना नरुच्ने, दिसा कब्जियत हुने जस्ता सामान्य समस्या देखिन्छन्।

लामो समयसम्म निद्राको समस्या रहिरहेमा उच्च रक्तचाप, मधुमेह, मुटुको रोग, डिप्रेसनलगायत दीर्घकालीन रोगहरुले आक्रमण गर्छन्। तसर्थ समयमा नै सचेत भई स्वस्थ जीवनशैली अपनाउनु बुद्घिमानी हुन्छ। आवश्यक परेमा नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्शमा उपचार गराउनुपर्छ।

(डा अधिकारी आयुर्वेद चिकित्सक हुन्)

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *