एमबिबिएस पढ्दैछु भन्दै बिहेको नाटक गरेर लाखौं ठग्ने युवती

Spread the love

काठमाडौं – सोफी शाही एक सामान्य युवती हुन् । तर उनले आफ्नो रवाफ पैसावाल युवकलाई निकै देखाइन् । उनी भन्थिन्– एमबिबिएस पढ्दैछु । आफू निकै धनी परिवारको हुँ भन्नका लागि उनले ‘कोरियामा होटल छ, बाआमा उतै बस्छन्, अमेरिका आउजाउ भइरहन्छ’ समेत भन्दै आइरहेकी थिइन् ।

एमबिबिएस अध्ययन सकेपछि अस्पतालमा काम गर्ने मात्र होइन उनले अस्पताल नै खोल्ने सम्मको गफ दिन्थिन् । यति मात्र होइन, उनले आफूले काठमाडौंमा मात्र नभइ नेपालका प्रमुख सहरहरुमा पनि अस्पताल खोल्ने तयारी रहेकोसम्मको योजना रहेको भन्दै युवाहरुलाई भन्दै आइरहेकी थिइन् ।

धनी र पैसावाल युवाहरु हुन् भन्ने चाल पाएपछि उनी अरबौं लगानीका अस्पताल र मेडिकल कलेज खोल्ने कुरा सुनाउँथिन् । अनि त्यसपछि अमेरिका आउजाउ गर्ने र कोरियामा होटल रहेको कुरा पनि जोडिहाल्थिन् ।

युवाहरुसँग भेट हुँदा उनी यी कुरा छुटाउँदैन थिइन् । युवाहरुसँग नजिक हुने उनको प्रमुख माध्यम थियो, फेसुबक । झट्ट हेर्दा खाइलाग्दो । अविवाहित । लवाइखवाइ चट्ट परेको । पैसा भएको । यिनै विशेषताका युवा उनको फेसबुकको खोजी सूचीमा पर्थे ।

त्यसपछि उनी युवाहरुलाई आफ्नो मायाजालमा पार्थिन् । कोसँग बिहेको नाटक पनि गर्थिन् । यसरी माया र बिहेको नाटक गर्दै अमेरिका, कोरिया सपना देखाउने शाही भने विवाहित थिइन् ।

उनले दुई वर्षअघि नै फेसबुकमार्फत् नै चिनजान भएका तामाङ थरका पुरुषसँग बिहे गरेकी थिइन्। उनको एक छोरासमेत जन्मिएको थियो। तर पतिसँग सम्बन्ध राम्रो भएन। तामाङलाई छाडेपछि भने उनको परिचय बदलियो।

त्यसपछि उनले ‘हनी ट्रयाप’ शैलीमा युवाहरुलाई आफ्नो जालमा पारिन्। र, लाखौं ठगी गरिन्।

प्रेम र विवाहको प्रलोभन, अमेरिका, कोरिया सपना, एमबिबिएस अध्ययन, कोरियामै बाआमा र होटलजस्ता कुराले उनले झण्डै एक दर्जन युवालाई आकर्षित गरिन्।

युवाहरुबाट १५ लाख ७५ हजार रुपैयाँ ठग्न सफल भइन्।

शाहीबाट ठगिनेमध्येकै एक हुन् तामाङ थरका अर्का युवक। जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा अनुसार यी युवकसँग पनि शाहीको फेसबुकमार्फत् नै चिनजान भएको थियो। पैसावाल हुनुसक्ने अनुमान गर्दै शाहीले नै ती युवकलाई फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन्। त्यसपछि साथी भएका उनीहरुले असोज २१ गते विवाहसमेत गरे। युवतीको नाटकमा ती युवकले सहजै विश्वास गरे।

बिहेपछि अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ती युवकका आफन्तसँग शाहीले ७ लाख २० हजार रुपैयाँ उठाइन्। ठग्ने योजनासहित बिहेको नाटक गरेको केही दिनमै लाखौं रकम उठेपछि शाही फरार भइन्। उनले रुपक थिङ तामाङबाट ७५ हजार, रुपकका भाइ साजनबाट ५० हजार र राहदानीसमेत लिएकी थिइन्।

त्यसपछि सम्पर्कविहीन भइन्।

दाजुभाइको १ लाख ७५ हजार गुमेपछि उनीहरुले शाहीविरुद्ध ठगीको उजुरी दिएका थिए। गत असोज २७ गते बिहे गर्ने र कोरिया पठाउने भन्दै श्यामकुमार तामाङबाट समेत २ लाख र राहदानी लिएर उनी फरार भइन्।

च्याङ्बा लामाले पनि लाख ५० हजार, सुनको रिङ एक तोलाको २ थान गरी २ लाख २० हजार युवती शाहीलाई सुम्पिएका थिए। च्याङ्बाले अनुसन्धानका क्रममा प्रहरीसमक्ष भनेका छन्, ‘कोरियामा मेरो रेष्टुरेन्ट छ। बाआमा उतै बस्छन् भनेर विश्वास दिलायो। रेष्टुरेन्टको फोटो पनि देखायो। पछि पैसा पाएपछि सम्पर्कविहीन भयो।’

अजय तामाङबाट सुनका गरगहना र नगद गरेर २ लाख ५० हजार लिएर शाहीले ठगी गरेकी थिइन्। तामाङ थरका अर्का एक युवकसँग पनि युवती शाहीले बिहेको बहाना गर्दै ठगी गरेकी थिइन्। शाही ती युवकसँग २०/२२ दिन कोठामा सँगैसमेत बसेकी थिइन्।

त्यसपछि ती युवकले शाहीलाई सहजै विश्वास गरे। अमेरिका र कोरिया लैजाने बताएपछि उनले पनि ५ लाख रुपैयाँ बुझाएका थिए। बिहे गर्ने नाटक गरेकी शाही त्यसपछि भने फरार भइन्। यसरी उनले गोविन्द तामाङ, जितबहादुर तामाङ, विजय तामाङलगायतका युवालाई पनि ठगी गरेकी थिइन्।

उनीबाट ठगिने युवकमात्रै छैनन्। युवतीहरु पनि छन्।

उनले ज्योति तामाङ नाम गरेकी एक युवतीलाई समेत कोरिया पठाउने भन्दै १ लाख रुपैयाँ र राहदानी, सीतामाया तामाङबाट ८० हजार र राहदानी लिएर बेपत्ता भएकी थिइन्। जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा उनले ठगेको कुरा स्वीकार गरे पनि केही कुरा भने स्वीकार गरिनन्। एक तामाङ थरका युवक ठगिएकोबारे उनले भनेकी छिन्, ‘करिब २ महिनाअघि फेसबुकमा चिनजान भएर उनीसँग विवाह भएको हो।

त्यसपछि उनको भाइलाई विदेश पठाउने भनेर लिएको पैसाले ३ लाख २२ हजार हालेर उनैलाई मोटरसाइकल किनिदिएको हो। उनलाई ठगी गरेको छैन।’ यसरी बिहेको नाटक गरेर ठगी गर्ने युवती शाहीलाई मंगबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराई इजलासले १४ लाख ५० हजार रुपैयाँ नगद तथा बैंक धरौटी लिएर छाड्न आदेश गरेको छ। – स्वास्थ्य खबरबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *