पोर्तुगलमा पनि भारतीय दूतावास अगाडि नेपालीहरुको प्रदर्शन

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि पोर्तुगलमा रहेका नेपालीले पनि नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रेका छन् । मंगलबार राजधानी लिस्बनको रेस्तेलोमा रहेको भारतीय दूतावास अगाडि प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभाग नेपालको भएको भन्दै भारतीय हस्तक्षेपको विरोध गरेका हुन् ।

विरोध प्रदर्शनमा नेपालको राष्ट्रिय झण्डासहित ‘सीमा अतिक्रमण बन्द गर’, ‘लिम्पियाधुरा, कालापानी-लिपुलेक हाम्रो हो’, ‘गो ब्याक इन्डिया’, ‘भारतीय हस्तक्षेप बन्द गर,’ ‘विवादित नक्सा खारेज गर’ लगायतका नाराहरु लेखिएको प्लेकार्डहरु समावेश थिए । प्रदर्शनकारीले झण्डै आधा घण्टाभन्दा बढी समय नारावाजी गरेका थिए ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समानवय परिषद पोर्तुगल, प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, नेपाली जनप्रगतिशील मोर्चा, नेपाली एकता समाज, नारी समाज, महिला समाजलगायतको आव्हानमा विरोध प्रदर्शनको आयोजना गरिएको थियो ।

आयोजकहरु सबैको हस्ताक्षर रहेको एक ज्ञापन पत्र भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाउने योजना रहे पनि दूतावासले ज्ञापन पत्र बुझ्न अस्वीकृत गरिदिएको छ । संस्थाका अगुवाहरुले उनीहरुले तयार पारेको ज्ञापन पत्र दूतावासकै ठेगानामा हुलाकमार्फत पठाउने बताएका छन् ।

झन्डै २५ हजार नेपाली रहेको दाबी गर्ने पोर्तुगलमा आयोजना गरिएको राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित कार्यक्रममासमेत पुगनपुग ५० जनाको संख्यामा मात्र प्रदर्शनकारी सहभागी रहेका थिए । एनआरएनए निर्वाचनमा राजनीतिक टकराव हुनु, त्यसपछि नतिजालाई ग्रहण नगर्नु र राजनीतिक प्रभावलाई निरन्तरता दिनाले समाजमा मनमुताव सिर्जना भएको कारण पनि कार्यक्रम प्रभावकारी हुन नसकेको हो । एनआरएनएको विवादास्पद नेत्रित्व र असमावेशी व्यवहारका कारण सहभागीहरु कम हुन गएको आयोजकहरुले स्वीकार गरेका छन् ।

भारतले केही समय अगाडि सार्वजनिक गरेको राजनीतिक नक्साको देशसहित विश्वभर रहेका नेपालीले विरोध गर्दै आएका छन् । नेपाल सरकारले पनि लिपुलेक कालापानी नेपाली भूमि रहेको भन्दै कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्न पहल भइरहेको जनाएको छ । भारतले भने नक्सामा नेपाली भूमि नसमेटिएको दावी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *