तुइनमुक्त घोषणाका दुई वर्ष पुग्नै लाग्दा पनि तुइनबाटै कर्णाली वारपार

Spread the love

सिमकोट, मङ्सिर १७ गते । सरकारले देशलाई नै तुइनमुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लावासी अझै आधा दर्जन तुइनमा तर्न बाध्य हुँदै आएका छन् । कर्णाली नदीमाथि झोलुङ्गे तथा ट्रस ब्रिज निर्माण नगरिँदा हुम्लावासीलाई जोखिम उठाएरै भए पनि तुइनबाट वारपार गर्न बाध्य छन् ।

सुसाउँदो कर्णाली नदीमाथि लट्ठामा बाँधिएर तुइन तर्नुपर्दा बाँच्ने आशा कमै हुने गरेको भए पनि आजसम्म चलेको सर्केगार्ड गाउँपालिका वडा नं. ४ का बबर पालले बताउनुभयो । आँखा चिम्म गरेर तर्नुको विकल्प नभएका कारण जनताले सास्ती खेपिरहनु परेको छ । पुल निर्माणको माग गरिए पनि त्यो पूरा नहुँदा जनतालाई तुइन तर्नु बाध्यता भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावलले सिमकोटबाट लेखेका छन् ।

पुल निर्माणका लागि स्थानीय सरकारसँंग माग नगरिएको पनि होइन तर कतै सुनुवाइ नहुने स्थानीयको गुनासो छ । कर्णाली नदीमाथि सर्केगार्ड गाउँपालिका क्षेत्रमा दुईवटा तुइन सञ्चालनमा छन् । यी तुइनमा दैनिक रूपमा ३० देखि ४० जना स्थानीय र बटुवा वारपार गर्दै आएका छन् ।

कर्णाली नदीमाथि वर्षौंदेखि पुलको माग गर्दै आएको भए पनि त्यो माग पूरा नहुँदा वर्षौंदेखि तुइन तर्नु परिरहेको खार्पुनाथ गाउँपालिका वडा नं. ४ की कुसुम रावतले बताउनुभयो । तुइन तर्दा आङ सिरिङ्ग हुने गरेपनि तर्नैपर्ने बाध्यता रहेको कारण डराएरै तर्ने गरिएको रावतले जनाउनुभयो । खार्पुनाथ गाउँपालिका क्षेत्रमा मात्र कर्णाली नदीमाथि चारवटा तुइन सञ्चालनमा छन् ।

खार्पुनाथ गाउँपालिकाको वडा नं. ४ बाट पालिका केन्द्र याङ्चु जान पनि तुइन नै तर्नुपर्छ । त्यसमा गाउँपालिका अध्यक्षदेखि अन्य सेवाग्राही सबैले तुइन नै तर्दैै आउनुभएको छ । दैनिक ५० देखि ६० जना स्थानीय र कर्मचारीले सो तुइन तर्दै आएका छन् ।

सो स्थानमा तुइन विस्थापन गर्न प्रधानमन्त्री कार्यालयसम्म खबर पुगेपछि झोलुङ्गे पुल निर्माणको योजना परेको छ भन्ने जानकारी भए पनि हालसम्म निर्माण कम्पनीले पुलका सामान ल्याउन नसकेको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताउनुभयो ।

अर्को पुल निर्माण गर्न बढी खर्च लाग्ने जनाउँदै तुइन विस्थापन कार्यमा स्थानीय सरकारले आनाकानी गरेको स्थानीय नरजन तामाङले बताउनुभयो । जनतालाई सहज र सुरक्षित सेवाभन्दा पनि बढी लागतका कारण गाउँपालिकाका जनताको जीउमाथि नै खेलवाड गरिएको उहाँको गुनासो छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *