डडेल्धुरामा १३६ जना एचआइभी संक्रमित भेटिए

Spread the love

डडेल्धुरा : डडेल्धुरामा एचआइभी संक्रमित १ सय ३६ जना रहेको तथ्याकं सार्वजनिक भएको छ । जसमध्ये ९६ जनाले मात्रै नियमित औषधि एआरटि सेवन गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

बाँकी संक्रमित पुन: कामका लागि लाहुर वा भारत जाने भएकाले नियमित औषधि सेवन नगरेको तथ्याकंले जनाएको छ । १ सय ३६ मध्ये आठजना बच्चा समेत एचआइभी संक्रमित छन् । संक्रमितमध्ये ४३ पुरुष र ५३ महिलाले नियमित एआरटि लिइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

बैदेशिक रोजगारका लागि भारत लगाएत तेस्रो मुलुक जाने युवाका कारण जिल्लामा एचआइभी संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । २०७३ सालमा १०७ जना एचआइभी संक्रमित रहेको डडेल्धुरामा ०७४ मा १सय २१ पुगे भने हालसम्म आउँदा १सय३६ जना संक्रमित भएको तथ्याकं स्वास्थ्य कार्यालय डडेल्धुरासँग रहेको छ ।तर, रगत चेक नगरेका र खुल्न नसकेको संख्या पत्ता लगाउन सके अझै संक्रमितको संख्या बढ्न सक्ने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।

रोजगारीका लागि भारत जाने गरेका युवामार्फत एचआइभी भित्रिने गरेको स्वाथ्य कार्यालय डडेल्धुराका सूचना अधिकारी जनक चन्दको भनाई छ । उनले भने, ‘जिल्लामा रहेका एआरटि लिइरहेका ९६ जना एचआइभी संक्रमित सबै भारतमा रोजगारी गर्न गएका मध्ये नै हुन्।’

करिब १० वर्षदेखि एआरटी सेवा लिइरहेकी एचआइभी संक्रमित पशुपती साउदले कामको सिलसिलामा भारत गएका श्रीमानबाट आफू संक्रमित भएको बताइन्। सोही रोगले करिब १० वर्ष अगाडी श्रीमानको मृत्यु भएको उनले बताइन्।

‘श्रीमान पनि रहेनन्, सहारा पनि कोही छैन, पीडित साउदले दुखेसो पोख्दै भनिन, ‘अब गरिखानका लागि सीप सिक्न पाए हुन्थ्यो ।’ एचआइभी संक्रमितलाई अहिले घरखर्च चलाउन पनि समस्या परिरहेको छ।

एक बच्चाकी आमा अर्की एचआइभी संक्रमित अनिता देवी सार्कीले पनि कामका लागि भारत गएका लोग्नेबाट आफू संक्रमित हुनु परेको बताइन्।उनको सात वर्षको बच्चा भने स्वस्थ्य रहेको उनले बताइन्। बेरोजगार लोग्ने र छोराका लागि काम गर्नुपर्ने वाध्यता छ , कुनै राम्रो ठाउँमा काम गर्ने वातावरण भए छोरालाई राम्रोसग पढाउने धोखो अनिताको छ।

गरिबीका कारण रोजगारीका लागि भारत पस्ने र त्यहीबाट संक्रमित भई घर फर्कि श्रीमतीलाई पनि संक्रमित बनाएका धेरै उदाहरण छन्। डडेल्धुराको पनि सबैभन्दा संवेदनशिल परशुराम नगरपालिकाको जोगबुडा क्षेत्र रहेको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याकंले जनाउँछ ।

खुला सीमाना र सिमानामा कुनै चेकजाँच नै नहुने हुँदा लाहुर जाने मानिसमा बढी एचआइभी देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए ।भारत जान आउने संक्रमितले नियमित औषधि र चेकजाँच नगर्दा एचआइभी संक्रमितमध्ये एआरटि लिनेको तथ्याकं समेत राख्न समस्या भएको जनाए।

असुरक्षित यौन सम्पर्क, लागुऔषध सेवन र सुई र अन्य माध्यमले एचआइभी संक्रमित हुने गर्दछ । बाहिर काम गर्न जाने युवा तथा पुरुषमा नै एचआइभी संक्रमित भएको पाइएको परशुराम नगरपालिका स्वास्थ्य शाखा सहायक हिक्मतबहादुर धामीले बताए । उनले भने, ‘मजदुरी गर्न बाहिर जानु वाध्यता छ तर, असुरक्षित तवरमा शारीरिक सम्बन्ध राख्दा जीवनभर दु:ख पाइने एचआइभी बोकेर आउनु विडम्वना छ।’

दुई वर्षमा डडेल्धुरामा ५ जना एचआइभी संक्रमितको मृत्यु भएको छ । समयमै एआरटी सेवा लिन नमान्दा उनीहरूको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनायो।एआरटि, खानेकुरा, व्यायामजस्ता कुरामा ध्यान दिने हो भने संक्रमितले पनि अन्य मानिससरह बाँच्न सक्ने चिकित्सक बताउँछन्।

एचआइभी संक्रमितले श्रीमतीलाई पनि सार्ने र उनीहरूबाट जन्मिएका सन्ततिमा समेत एचआइभी संक्रमित भएको पाइएको एचआइभी क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय एचआइभी तथा एड्स महासघं नेपालका जिल्ला कार्यक्रम सयोजक दुर्गा चटौलले जानकारी दिए।

‘दुई सयभन्दा बढी संक्रमित जिल्लामा छन्, धेरै मानिस खुल्न नसक्दा एकिन तथ्याकंमा समस्या देखिएको सरोकारवाला संस्थाले जनाएको छ। समयमा औषधि खान नपाएको र खान नआएकाले पनि संक्रमितको मृत्यु छ । – अन्नपूर्ण

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *