मलेसिया पुगेको दुई महिनामै मृत्यु

Spread the love

कात्तिक २७, बेझाड । वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए ।

काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेशियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु दुई महिना अघिमात्रै मलेशिया पुगेका थिए । मलेसिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बुले बताइन् ।

बयम्बुको उपचारका लागि परिवारबाट रु एक लाख २० हजार रकम पठाएको तर समयमा नै म्यानपावर र कम्पनीले उपचारमा ध्यान नदिएको कान्तिसराले गुनासो गरे । काठमाडौंको रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताएकी छिन् ।

परिवारको लालनपालन, घरायसी गुजारा चलाउन रोजगारका निम्ति मिठो सपना बोकेर बयम्बु मलेशिया पुगेका थिए । उनको परिवारमा बुबाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन् । – रासस

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *