भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

Spread the love

२६ कार्तिक, ढाका । ओपन स्पाइकर प्रतिभा मालीले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा उपाधिको दावेदार टोली नेपालले प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । नेपाललले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको हो । यसअघि नेपालले अफगानिस्तानमाथि ३–० कै सोझो जित निकालेको थियो ।

ढाका मिरपुरस्थित शहीद सुरवार्दी इन्डोर हलमा सोमबार भएको खेलमा सबै तीन सेटमा किर्गिस्तानले नेपाललाई बलियो चुनौती दिए पनि नेपालले आफ्नो स्वाभाविक खेल खेल्दै सहज जित निकाल्न सफल भयो । पहिलो सेटमा ८–८ को बराबरीको अवस्थाबाट अघि बढेको नेपालले लगातार १० अंक जोड्दा खेलमा १८–८ को अग्रता लिँदै जिततर्फ अग्रसर बनेको थियो । सर्भिसमा लगातार उषा विष्ट रहिन् । त्यसपछि किर्गिस्तानले थप ७ अंक जोड्दा नेपालले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा राम्रो सुरुवात गरे पनि मध्यतिर दबाब झेलेको नेपाल खेलमा फर्कन सफल भयो । ७–३ को अग्रतामा रहेको नेपाल ११–१२ले पछि परेको थियो । १४–१४ को बराबरीबाट अघि बढेको नेपाललाई त्यसपछि पनि किर्गिस्तानले बलियो चुनौती पेस गरे पनि २५–१९ ले खेल आफ्नो पक्षमा पार्दै नोपलले खेलमा २–० को अग्रता लियो ।

तेस्रो सेटमा पनि नेपालले राम्रो सुरुवात गरे पनि मध्यतिर पुन दबाब झलेको थियो । तर, पनि नेपालले २५–२० को सहज जित निकाल्न सफल भयो । नेपालको सहज जितमा भरपर्दा प्रतिभा मालीले उच्च प्रदर्शन गरिन् । अफगानिस्तानविरुद्धको खेलमा पहिलो रोजाइमै ‘डेब्यु’ पाएका मिडल ब्लकर सुनिता खड्का, ब्याक स्पाइक निरुता ठगुन्ना, लिवेरो सलिना श्रेष्ठले पनि राम्रो खेल पस्किइन् । चोटका बावजुत पनि तेस्रो सेटमा कोर्टमा प्रवेश गरेकी सरस्वती चौधरीले आफ्नै स्तरअनुसारको प्रदर्शन गरिन् । किर्गिस्तानकी एलिना गर्कुसिना खेलको क्विन्स अफ दि म्याच बनिन् । उनले एक थान इलेक्ट्रा मोबाइल हात पारिन् ।

जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले सहज जितका अनुमान गरिए पनि किर्गिस्तानले नेपालविरुद्ध राम्रो खेलेको प्रतिक्रिया दिए । ‘हामी जित्नेमा ढुक्क थियौं । तर, किर्गिस्तानले सोचेभन्दा राम्रो खेल पस्कियो । हाम्रो टोलीमा स्पाइर राम्रो भए पनि रिसिभ र ब्लकमा राम्रो हुन सकेन । त्यसैले खेलमा केही असर परेको हो । तर, हामीले त्यसलाई कभर ग¥यौं ।’ प्रशिक्षक भट्टले खेलपछि भने ।

यता, चोटका कारण पहिलो खेल गुमाएका ओपन स्पाइकर सरस्वती चौधरीले किर्गिस्तानविरुद्ध कोर्टमा उत्रिएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुसी लागेको बताइन् । ‘चोटबाट पूर्णरूपमा ठीक भइसकेको छैन । तर, पनि म खेल्न सक्छु । गुरुले तेस्रो सेटमा मौका दिनुभयो । राम्रै खेल्न सके ।’ सरस्वतीले भनिन्, ‘प्रतियोगितामा हामी अन्य टोलीभन्दा राम्रो छौं । सबै खेलाडीले मिहेनत गरेका छन् । अब हाम्रो लक्ष्य स्वर्ण मात्र होइन १३औं सागमा पनि कसरी राम्रो नतिजा ल्याउने भन्ने हो । सागका लागि सेन्ट्रल जोनले फाइदा पुग्नेछ ।’ जितसँगै अपराजित रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित किर्गिस्तानको १ अंक छ ।

यता, माल्दिभ्सले च्याम्पियनसिपमा लगातार तेस्रो जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको छ । सोमबार माल्दिभ्सले तुलनात्मक रूपमा कमजोर टोली फगानिस्तानमाथि २५–६, २५–७ र २५–८ को सहज जित निकाल्यो । अफगास्निताकी फतिमा कुलामी खेलको क्विन्स अफ दि म्याच घोषित हुँदै एक थान इलेक्ट्रा मोबाइल हात पारिन् ।

जितसँगै अपराजित रहेको माल्दिभ्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पराजित अफगानिस्तान भने अंकविहीन हुँदै च्याम्पियनसिपबाट बाहिरिएको छ । माल्दिभ्सको ३ खेलबाट ८ अंक छ । तीन खेल नै खेलको अफगानिस्तानले अंकको खाता खोल्न सकेको छैन । ३ अंक रहेको आयोजक बंगलादेश तेस्रो तथा १ अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छ । माल्दिभ्सले बुधबार आफ्नो अन्तिम खेलमा नेपालसँग खेल्दै छ । च्याम्पियनसिपमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा अफगानिस्तान र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि हुनेछ । त्यसपछि लिगको अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले बिहीबार उपाधिका लागि खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ । च्याम्पियनसिपका सबै खेलहरू शहीद सुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ । – राजधानी दैनिक

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *