कात्तिक २४, एजेन्सी । बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखसँग लज्जास्पद हार खेपेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बायर्नले डर्टमन्डलाई ४-० गोलले हरायो ।
बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई गोल गरे । सर्ज जिनाब्रीले एक गोल गरे भने अर्को गोल आत्मघाती उपहार पाएको थियो । लेवान्डोस्कीले १७औं मिनेटमा सुरुवाती गोल गरेका थिए । ४७औं मिनेटमा सर्जी जिनाब्रीले गोलगर्दै बायर्नको अग्रता दोब्बर बनाए ।
७६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । ८०औं मिनेटमा डर्टमन्डका म्याट हमेल्सले बल बचाउने क्रममा आत्मघाती गोल गरेका थिए । खेलभर बायर्नको दबाब झेलेको डर्टमन्डले गोल गर्न लायक अवसर बनाउन सकेन ।
जितसँगै ११ खेलबाट २१ अंक बनाएको बायर्न तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १९ अंक बनाएको डर्टमन्ड पाँचौं स्थानमा छ । यस हारले डर्टमन्डको तेस्रो स्थानमा उक्लने मौका गुमेको हो । शीर्ष स्थानको बोरुसिया मोन्चेनग्लाडवाचको २२ अंक छ । उसले एक खेल कम खेलेको छ । २१ अंक बनाएको लेइपिजिज दोस्रो स्थानमा छ ।