वन अधिकृतका छोरा पक्राउ : कार्यालयकै मोटरसाइकलमा लागू औषध ओसारपसार

Spread the love

२२ कार्तिक, विराटनगर : डिभिजन वन कार्यालय उदयपुरको मोटरसाइकल प्रयोग गरेर भारतको जोगवनीबाट लागुऔषधको ओसारपसार हुने गरेको पाइएको छ । लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका १५ रानीबाट सप्तरी राजविराज नगरपालिका २ राजदेव टोल घर भएका २६ वर्षीय कपिल यादव पक्राउ परेका छन् ।

कपिल डिभिजन वन कार्यालय उदयपुरका अधिकृत सत्यनारायण यादवका छोरा हुन् । उनले जोगवनीबाट लागुऔषध ओसार्न प्रयोग गरेको वन कार्यालय उदयपुरको स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकललाई पनि प्रहरीले विराटनगर भन्सार कार्यालयको १ नम्बार ढाटबाट नियन्त्रणमा लिएको छ ।

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा वन अधिकृतका छोरा लागुऔषधसहित पक्राउ परेपछि प्रहरीले भने यस घटनालाई गोप्य राख्ने प्रयास गरेको थियो । ‘सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर आउँदै गर्दा वन अधिकृतका छोरा पक्राउ परेका हुन्,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले भने, ‘प्रारम्भिक अनुसन्धानबाट केही समयदेखि यही मोटरसाइकल नेपाल-भारत गर्ने गरेको पनि खुलेको छ ।’

उनकाअनुसार कानुनद्वारा बर्जित लागुऔषध सरकारी मोटरसाइकलमा नेपालतर्फ ‘सप्लाई’ भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले कपिललाई पक्राउ गरेर कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको हो ।

मोटरसाइकलमा आउँदै गरेका कपिलको साथबाट प्रहरीले डाइजेल्याब ८, एभिल ८ र लुपिजेसिक ८ गरेर २४ एम्पुल लागुऔषध बरामद गरेको छ । ‘पक्राउ परेका कपिल सरकारी मोटरसाइकलको प्रयोग गरेर लागुऔषध नेपाल ल्याउने धन्दामा केही समयदेखि संलग्न रहेको पाइयो,’ डीएसपी खिँउजुले भने, ‘त्यही प्रयोजनका लागि उदयपुरदेखि वन कार्यालयको मोटरसाइकल लिएर उनी जोगवनी पुगेको खुलेको छ ।’

उनले पक्राउ परेका युवा लागुऔषधको सेवनकर्ता र कारोबारी दुवै भएको हुन सक्ने आशंकामा लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

डीएसपी खिँउजुले अनुसन्धानबाट बाबुले प्रयोग गर्ने सरकारी मोटरसाइकल कपिलले चलाउने गरेको पत्ता लागेको बताए । ‘वन कार्यालयको मोटरसाइकल उदयपुरबाट बिना काम कसरी जोगवनीसम्म पुग्यो भन्ने विषयमा पनि अनुसन्धान केन्द्रीत गरिएको छ,’ उनले भने, ‘सरकारी मोटरसाइकल छोरालाई चलाउन दिनु वन अधिकृतको पनि गल्ती हो ।’

प्रहरीले पनि वास्ता नगर्ने र कोही कसैले सहजै शंका नगर्ने भएका कारण भारतबाट हुने लागुऔषध तस्करीमा सरकारी मोटरसाइकल प्रयोग गरिएको खुलेको उनको भनाइ छ।

प्रहरीकाअनुसार बाबुले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको ‘हिरो’ कम्पनीको मोटसाइकल लिएर आइतबार कपिल जोगवनी आएका थिए ।कम्मरमा लुकाई लागुऔषध लिएर फर्कने क्रममा उनी पक्राउ परेका हुन् । डीएसपी खिँउजुले यही मोटरसाइकल पटक-पटक जोगवनी पुगेर लागुऔषध बोकेर फर्कने गरेको सूचना प्रहरीमा केही समयदेखि आएको बताए । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *