२१ कार्तिक, काठमाडौं : विदेशमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको तथ्य फेला परेको छ । मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको छ। मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी विभागले छानबिन गरेको छ । ‘अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो । तर, राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्’, अध्यागमन विभागले भनेको छ ।
गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ । बुकका पृष्ठ उस्तै छन् । तर सिलाई नक्कली छ । रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन् ।
उनीहरूले बोकेको पासपोर्ट नक्कली आशंका गरिए पनि मेसिनले रिड गरेको थियो । विमानस्थल कार्यालयले अध्यगमन विभाग तथा राहादानी विभाग पठाई परीक्षण गराउँदा नक्कली ठहर भएको थियो । पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करिब एक लाख रुपैयाँ) तिरेर किनेको बयान दिएका छन् ।
‘दलालले पासपोर्ट किनेर फर्कंदा सहज हुने सुझाएपछि घरबाट रकम मगाएर पैसा खर्चेर घर फर्कन पासपोर्ट किनेको बयान उनीहरूले दिएका छन्’, राहदानी विभागका महानिर्देशक ईश्वरीराज पौडेलले भने ।
‘हामीले राहदानी विभागमा पठाएका छौं । पक्राउ परेको व्यक्ति हिरासतमा छन्’, उनले भने, ‘राहदानी विभागबाट जानकारी आएपछि अन्य कारबाही अघि बढ्छ । उनीहरूलाई एक साताको थुना अनुमति लिएर हिरासतमा राखिएको छ ।’ एमआरपीमा वर्ष परिवर्तन गरी फोटो फरक गर्ने घटना हुन थालेपछि अध्यागमन अधिकारी चनाखो बन्दा पक्राउ पर्ने क्रम बढेको उनले बताए ।
राहदानीमा किर्ते गरेको आधारमा पक्राउ परेकी धनकुटा टोड्केकी दीपा विश्वकर्मामाथि पनि प्रहरीले छानबिन गरिरहेको छ । दीपाले राहदानीमा उमेर र नाम फरक पारेकी थिइन् । मुद्दा विभागका अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले दलालले नेपालीलाई विदेशमा पनि ठग्ने गरेको बताए । उनले भने, ‘यो घटनालाई ध्यान दिएर हामी सचेत हुनैपर्छ । दलाललाई निरुत्साहित गर्न सबै निकाय लाग्नुपर्छ ।’
यसअघि विदेशमा नेपाली दूतावासले डकुमेन्ट फरक पठाएर एउटा व्यक्तिको राहदानी अर्को व्यक्तिले लिने गरेको घटना सार्वजनिक भएका थिए । कतिपयले नक्कली नागरिकता बनाएर दूतावास कर्मचारीको मिलेमतोमा राहदानी बनाउने गरेको आशंका छ ।
पक्राउ परेकाहरू सक्कली पासपोर्टमा मलेसिया गएका थिए । पासपोर्ट फालेर त्यहाँ बसेका उनीहरू दलाललाई मोटो रकम दिएर नक्कली पासपोर्ट बनाएर फर्कंदा पक्राउ परेका हुन् । – अन्नपूर्ण पोष्ट