कार्तिक २२, काठमाडौं । नेपालको पुरानो व्यवसायिक घराना ज्योती ग्रुपका रुप ज्योति ठगीको आरोपमा पक्राउ परेका छन्। पूर्व अर्थ राज्यमन्त्री समेत रहेका ज्योतीलाई ठगीको आरोपमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
ज्योतिलाई काठमाडौं प्रहरीले काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । सिंगापुरबाट काठमाडौं ओर्लने वित्तिकै ज्योति पक्राउ परेका हुन् ।
रुप ज्योतिसँगै छोरी सुरुचीलाई पनि प्रहरीले पक्राउ गरेको छ । रुप ज्योतिले छोरी सुरुचीको नाममा समेत कम्पनी खोलेर ठगी गर्दै आएको आरोप छ। उनीहरु दुबै जनालाई काठमाडौं परिसरमा राखिएको छ ।
रुप ज्योती हाउजिङ ठगी प्रकरणमा परेका हुन् । स्याकार कम्पनीका मालिक समेत रहेका ज्योती अनेक कम्पनीका मालिक समेत रहेका छन् ।
ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौैं रुपैयाँ ठगी गर्दै आएका ज्योतीलाई पिडित विजेन्द्रमान श्रेष्ठको उजुरीमा पक्राउ गरिएको हो । ज्योतीले श्रेष्ठलाई १ करोड ३६ लाख ठगी गरेको आरोपमा छ ।
प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक होमिन्द्र वोगटीले हाम्राकुरासँग कुरा गर्दै ज्योती पक्राउको पुष्टी गरेका छन् ।
ज्योति ग्रुपका उपाध्यक्ष रूप ज्योति यसअघि अदालतमा सेटिङ मिलाएर जोगिंदै आएका थिए । जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूप ज्योतिका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट बुधवार सर्वोच्चले खारेज गरेपछि रूपज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको भोलिपल्टै ज्योतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले कानुन कार्यान्वयन गर्ने क्रममा कसैलाई मोलाहिजा नराखि प्रहरीले आफ्नो दायित्व निर्वाह गर्ने बताए। ज्योतीको पक्राउलाई पनि त्यहि कोणबाट हेर्नुपर्ने महानिरिक्षक खनालले बताए । – हाम्रा कुराबाट साभार