सिड्नी, कात्तिक १९ ।
‘बीसको माल’ दुइटा पार्नुपर्छ यसपटक।’
सिड्नीमा पटके इभेन्टवालाबीच भएको संवाद हो यो ।
के भनेको यस्तो शब्द अनि अर्थ खोज्न निकै कठिन भयो यो पंक्तिकारलाई।
म्यारिज पनि कहिलेकाहीँ खेलेकै हो, तर एकैपटक बीसको माल तासमा पनि पर्दैन। के रै छ त यस्तो ‘बीसको माल’भनेको?
अस्ट्रेलियामा विभिन्न सांगीतिक तथा चलचित्र प्रदर्शनीका कार्यक्रम गर्ने इभेन्टवालाहरूमध्ये केही धन्दावालको ‘कोडवर्ड’ रहेछ यो।
कार्यक्रमका नाममा एक जना गैरकलाकार नेपालबाट ल्याएर अस्ट्रेलिया छाडिदिए वापत बीस लाख लिइने मानव तस्करीको धन्दामा बीसको मालको अर्थ एक जनाको भिसा भन्ने रहेछ।
यतिखेर अस्ट्रेलिया नेपाली कलाकारहरूका लागि स्वर्णिम थलोको रूपमा चिनिएको छ।
हरेक हप्ता अस्ट्रेलियामा कुनै न कुनै कार्यक्रम आयोजना भैरहेका छन्।
महोत्सव होस् या मेला सबैमा नेपालबाट कलाकार मगाउने प्रचलन ह्वात्तै बढेको छ।
नेपाली कार्यक्रममा राम्रै उपस्थिति देखिने सिड्नीको नेपाली समाजमा यतिखेर कार्यक्रमहरू ह्वात्तै बढ्न थालेका छन्। कार्यक्रम बढेता पनि सहभागिता भने न्यून देखिन्छ।
फिल्म होस् या साहित्यिक महोत्सव या जात्रा किन नहोस्, सबैले पालो पाएकै छन् यहाँ।
पहिले पहिले शुल्क लाग्दा पनि भीड हुने सिड्नीमा अहिले नि:शुल्क कार्यक्रमहरू हुँदा पनि खाली हल र चउरहरूले कार्यक्रमहरू आवश्यकभन्दा बढी भएको हो कि भन्ने भान परेको छ।
चाडपर्व विशेषमा त एकैदिन पनि तीन चार सहरमा बेग्लाबेग्लै कलाकारहरूको विशेष प्रस्तुति घन्किरहेको हुन्छ।
यसले नेपाली कलाकारको मान र शानसँगै दाम पनि कमाउने थलोको रूपमा अस्ट्रेलिया चिनिएको छ।
भाषा र कला, संस्कृति प्रवासी नेपालीका लागि महत्वपूर्ण पाटोका रूपमा चिनिदै गर्दा कलाकारको आगमन र चलचित्रको प्रदर्शनी आफैंमा गौरवका विषय पनि हुन् तर कलाकारिताका नाममा मुखुन्डो लगाएर बसेका केही पात्रहरूले कार्यक्रमका नाममा मानवतस्करीको धन्दा गर्न थालेपछि यतिखेर वास्तविक कलाकारहरूलाई पनि प्रवेशाज्ञाको संकट पर्न थालेको छ।
कार्यक्रमका नाममा मानव तस्करी गरेर बीसलाई कमाउन पल्केका केही इभेन्टकर्ताहरूले अस्ट्रेलियाजस्तो अन्तरसांस्कृतिक महत्वको विषयलाई धमिल्याउने प्रयास गरेको देखिन्छ।
हुन त सिड्नीमा राम्रा आयोजकहरू नभएका होइनन् तर दुई चार खराबले चार पाँच राम्रालाई ओझेलमा पार्न थालेका छन्।
पछिल्लो पटक निखिल उप्रेती, नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका विश्व प्रकाश शर्मालाई समेत प्रवेशाज्ञा नदिएको चर्चा सेलाउन नपाउँदै मिस नेपाल श्रृंखला खतिवडाले समेत भिसा नपाएको हल्लाले नेपाली बजार निकै तात्यो। सत्यता भए/ नभए पनि यो हाम्रो समाजको लागि राम्रो समाचार थिएन।
चर्चित व्यक्तित्वहरूले प्रवेशाज्ञा नपाउनु नेपाली समाजको लागि निकै खल्लो विषय बने पनि केही खराब तत्वहरूको गलत रवैयाका कारण पनि राम्रा कलाकार र राजनीतिज्ञहरू समेत सिकार बन्नु परेको तीतो यर्थाथ हो यो।
फेसबुकमा प्रचार गर्ने, नेपालबाट कलाकार मगाउने विमानस्थलमा प्रायोजकको बोर्ड राखेर फेसबुक लाइभ गर्ने अनि कार्यक्रम सकिएपछि काम तमाम।
विमानस्थलमा हप्तै पिच्छे नेपाली कलाकारहरूको स्वागतमा गरिने यस्ता नाटक मन्चनले अन्य यात्रुहरूलाई बाधा अड्चन पुर्याएको समेत गुनासा आउन थालेका छन्।
कार्यक्रमभन्दा पनि विमानस्थलमा बडेमानका बोडै तेर्साएर माला र खादाले गरिने स्वागतले हाम्रो नेपालीपनको प्रतिष्ठालाई समेत नकारात्मक प्रभाव पार्ने गरेको छ।
कार्यक्रमको रुपरेखाभन्दा पहिला फेसबुकमा प्रायोजक र भिसा पार्टनर अनि कलाकारको फोटो सहितका पोष्ट पढ्न पाइन्छ।
त्यसपछि भिसा लाग्यो भन्ने फोटो सहितको अर्को पोष्ट त्यसपछि बल्ल विमानस्थलको स्वागत। तर, धेरैको स्वागत गर्दैगर्दा केही बाहेक अरुको बिदाइ भएको पोष्ट भने आउँदैनन्।
कति आउँछन्, कति जान्छन् पत्तो पाउन मुश्किल। आय व्ययको कुरै छाडौं, ब्यानर बोकेर विमानस्थलमा धाउने इभेन्ट संयोजकहरूको व्यवहारले अचम्मित तुल्याउँछ।
यस्तै, कार्यक्रमका नाममा आएका कैयौं यतै विद्यार्थी भिसामा बसेको समेत थुप्रै उदाहरण भेटिएका छन्।
त्यतिमात्र होइन एउटा उद्धेश्यका लागि आमन्त्रण गरेका व्यक्तित्वहरू यतै बसेर अर्को उद्धेश्य पूर्ति गर्नु भनेको गैर जिम्मेवारी र बेइमानी पनि हो।
यस्तै खेलमा कतिपय झेल गर्नेहरू सिड्नीमा सक्रिय भएका छन्। भर्खरै मात्र एक जना पीडितले सामाजिक सञ्जालमा खुलेआम आफूलाई पैसा लिएर ल्याएको र ल्याउने व्यक्तिहरूको फोटो समेत सार्वजनिक गरे। कतिपय कार्यक्रमहरू ठूला ठूला सामाजिक ब्यानर र आकर्षक नारामा कार्यक्रम सम्पन्न गरे पनि अझसम्म सयमा एक बाहेक ९९ ले कति आम्दानी, कति खर्च, नाफा घाटा केही सार्वजनिक गर्ने गरेको देखिँदैन।
पछिल्लो समयमा फुड फेस्टिबलदेखि फिल्म फेस्टिबलसम्म सबै सिड्नीवासीको नाममा अस्ट्रेलिया भित्रिसकेता पनि यसभित्र लुकेको वास्तविकता खुल्न सकेको छैन ।
प्रवासमा नेपालीपन झल्कने र माया पस्कने कार्यक्रम गर्नु खुसी र गर्वको विषय हो तर यसका नाममा मानव तस्करी र भिसा लगाउने काम हुनु भनेको बेइमानी हो । –
हेमन्त काफ्ले/सेतोपाटी