आशा राष्ट्रपतिको, बन्नुपर्‍यो प्रदेश प्रमुख !

Spread the love

कार्तिक १९,पोखरा । मंगलबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनसहित सातै प्रदेशका प्रदेश प्रमुखहरुले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार सातै प्रदेश प्रमुखहरुको पदमुक्त पछि सरकारले सोमबार नयाँ प्रदेश प्रमुखहरुको सिफारिस गरेको थियो । सिफारिसमा परेका प्रदेश प्रमुखहरुले मंगलबार सपथ ग्रहणसँगै कार्यक्षेत्रमा आएर काम गर्ने बाटो खुलेको छ ।

वैधानिक रुपमा पदमुक्तको दुई दिनपछि गण्डकीमा अमिक शेरचन प्रदेश प्रमुख भएका छन् । कम्युनिष्ट आन्दोलनमा लागेका शेरचनको जन्म गण्डकीकै म्याग्दी जिल्लामा भएको हो । अहिले भने उनी प्रदेश ३ को चितवनका स्थायी बासिन्दा बनेका छन् । संयुक्त जनमोर्चाबाट कम्युनिष्ट राजनीतिमा लागेका शेरचन संयुक्त जनमोर्चा नेपालको अध्यक्ष हुँदै तत्कालीन एनेकपा माओवादीसँगको एकतापछि माओवादीमा लागेका थिए ।

२००६ सालमा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा उनको जन्म भएको हो । अझै पनि उक्त स्थानमा शेरचनको पुर्ख्यौली घर जीर्ण अवस्थामा छ । शेरचनका बुबा बडिबहादुर शेरचन र आमा उमादेवी हुन् । उनका एक छोरी र तीन छोरा छन् । शेरचनले राजनीतिशास्त्रमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।

शेरचन तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री समेत भएका थिए । पछिल्लो पटक चितवनदेखि राजनीतिमा सक्रिय शेरचन संविधानका सदस्य समेत हुन् । गएको २०७४ को प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा तत्कालीन वाम (माओवादी केन्द्र र एमाले) गठबन्धनको चुनावी मोर्चा सम्हाल्ने जिम्मा शेरचनलाई नै दिइएको थियो । यिनै शेरचनको कमाण्डमा चितवनमा प्रचण्ड लगायत वाम उम्मेदवारहरु विजयी भएको बताइन्छ ।

०७४ को निर्वाचन सकिएपछि उनले राष्ट्रपति बन्ने इच्छासमेत देखाए । तर, विद्या भण्डारी नै दोहोरिने भएपछि उनी राष्ट्रपति भएनन् । बरु, सोमबार उनी प्रदेश प्रमुखमा नियुक्त भए, मंगलबार सपथ लिए र गण्डकीको प्रदेश प्रमुख बने । – बाह्रखरी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *