राजनीतिक विरासत जोगाउँदै महिला

Spread the love

कार्तिक १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिरमा हुन लागेको उपनिर्वाचनमा कास्की–२ बाट विद्या भट्टराईलाई उमेदवार बनाउने निर्णय सर्वसम्मत गर्‍यो । कास्की जिल्लाले पनि भट्टराईको नाम एकल सिफारिस गरेको थियो । तर प्रदेशले उनीबाहेक अन्य दुईजनाको नाम केन्द्रमा पठाएको भए पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले भट्टराईको नाम सर्वसम्मतिले पारित निर्णय गर्‍यो ।

त्यसलगत्तै कास्की निर्वाचन क्षेत्रमा पुगेकी भट्टराईले मतदातासँग आफू कास्कीकै छोरी भएर आएको बताइन् ।

“मैले जसरी एउटी पत्नीका रुपमा रवीन्द्रलाई सहयोग गरेँ । रवीन्द्रको व्यक्तित्व निर्माणमा मेरो पनि महत्वपूर्ण भूमिका छ भनेर मलाई उमेदवार बनाएको छ । पार्टीले दिएको जिम्मेवारीलाई न्याय गर्नेछु,” तत्कालीन पर्यटनमन्त्री दिवङ्गत रवीन्द्र अधिकारीकी पत्नीसमेत रहेकी भट्टराई कास्कीमा आफ्ना मतदातासमक्ष व्यक्त गर्दै भनिन् ।
विद्या भट्टराई मात्रै होइन दिवङ्गत नेताको राजनीतिक विरासत जोगाउन नेपाली राजनीतिमा अन्य महिलाहरु पनि अघि सरेका छन् ।

उसो त, नेपालमा मात्र होइन दक्षिण एसियामै राजनीतिमा वंशवादको ठूलो प्रभाव छ । पश्चिमा देशमा समेत वंशवाद बलियो रहेको देखिन्छ । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारीको राजनीतिक उचाई उनका पति बिल क्लिन्टनकै देन मानिन्छ । नेपालमा अहिले उपनिर्वाचनको तयारी तीव्र छ । कास्कीमा विद्या भट्टराई र दाङ प्रदेश सभामा विमला वलीलाई नेकपाले उमेदवार बनाएको छ । भट्टराई र वली दुवै आफ्ना पतिले जितेको ठाउँमा उमेदवार बनाइएका हुन् ।

यीबाहेक यसअघि पनि यी महिलाले पतिको निधनपछि राजनीतिक विरासत सम्हाल्दै आएका छन् ।

विद्यादेवी भण्डारी

नेपालको राष्ट्रपति हुन् विद्या भण्डारी । उनी आफ्नै राजनीतिक इतिहास लामो छ । तर अहिले जुन राजनीतिक हैसियत उनलाई प्राप्त छ, त्यसमा उनका पति स्वर्गीय मदन भण्डारीको योगदानले पनि काम गरेको मानिन्छ ।

विद्यार्थी राजनीति हुँदै कम्युनिस्ट आन्दोलनमा होमिएकी विद्या पाण्डेको विवाह ०३९ सालमा मदन भण्डारीसँग भयो । पति राजनीतिमा बढी सक्रिय भएपछि उनी कम सक्रिय हुँदै गएको उनलाई चिन्नेहरु बताउँछन् । मदनको नेकपा एमालेको महासचिव रहेकै बेला ०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा निधन भयो । यद्यपि, उनको दुर्घटना अझै पनि रहस्यमै रहेको मानिन्छ । कुनै समय त्यो दुर्घटना होइन, हत्या थियो भन्ने पार्टीको विश्लेषण थियो । पटकपटक उनको पार्टीले सत्ता सम्हालिसक्दा र पत्नी नै राष्ट्रपति बन्दासमेत मदनको रहस्यमय भनिएको जिप दुर्घटनाको कुनै तथ्य सार्वजनिक भएको छैन ।

मदनले ०४८ सालको संसदीय निर्वाचनमा काङ्ग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई झिनो मतले पराजित गरेका थिए । उनको निधनपछि ५१ सालमा काठमाडौं १ मा उपनिर्वाचन भयो । नेकपा एमालेले विद्यालाई उम्मेदवार बनायो । उनी निर्वाचित पनि भइन् । त्यसपछि पार्टी उपाध्यक्ष, रक्षामन्त्री बन्दै हाल उनी राष्ट्रपति छिन् । पूर्वएमालेका एक पुराना नेताले भने, “मदन बाँचिरहेको भए विद्याजीको आज यो उचाई बन्दैनथ्यो ।”

तीर्था गौतम

तीर्था गौतम नेकपा एमाले रुकुमका तत्कालीन सचिव एवम् प्रतिनिधिसभाका उम्मेदवार यदु गौतमकी पत्नी हुन् । यदुको हत्या तत्कालीन विद्रोही नेकपा माओवादीबाट ०५५ साल फागुन २१ गते भएको थियो । यदु माओवादीबाट मारिएका माथिल्लो ओहोदाका एमाले नेता हुन् । हत्यापछि तीर्था उनकै पति उम्मेदवार भएको क्षेत्र रुकुम २ बाट ०५६ सालको आमनिर्वाचनमा उम्मेदवार बनिन् र जितिन् पनि । उनी पुनः ०७४ सालमा समानुपातिक कोटाबाट सांसद बनेकी छन् ।

चम्पादेवी खड्का

संविधानसभा सदस्य हरिबहादुर खड्काको निधनपछि बाग्लुङ १ मा उपनिर्वाचनमा काङ्ग्रेसले हरिबहादुरकी पत्नी चम्पादेवीलाई उम्मेदवार बनायो । पति राजनीतिमा सक्रिय रहँदा चम्पादेवी उति सक्रिय थिइनन् । उनका पति भने सो क्षेत्रमा लोकप्रिय मानिन्थे । चम्पादेवी ०७१ सालमा सम्पन्न निर्वाचनमा आफ्नै पति निर्वाचित क्षेत्रबाट जितेर सांसद बनिन् ।

कान्तिका सेजुवाल

कान्तिका नेपालकै पहिलो महिला नगरप्रमुख हुन् । उनी नगर प्रमुख बन्नुमा पनि उनका पति काङ्ग्रेस जुम्लाका पूर्वजिल्ला सभापति रहेका मानव सेजुवालको देन रहेको मानिन्छ । जुम्लाको चन्दननाथ नगरपालिकामा कान्तिका भारी मतान्तरले निर्वाचित भएकी थिइन् ।

उनका पति मानवको ०७१ सालमा हवाइ दुर्घटनामा मृत्यु भएको थियो । कान्तिका पति रहुञ्जेल राजनीतिमा सक्रिय थिइनन् । कान्तिका जुम्लाको सामुदायिक स्कुलकी शिक्षिका थिइन् । उनका पति मानव जिल्लामा लोकप्रिय मानिन्थे । उनकै पत्नीलाई टिकट दिन सहज हुने विश्लेषणसहित जिल्लाबाट अरुकै सिफारिस आए पनि काङ्ग्रेसले कान्तिकालाई मेयरको टिकट दिएको थियो । उनले चुनाव जितिन् पनि ।

कमला शर्मा

सुर्खेत क्षेत्र नं. १ मा पहिलो संविधानसभाको चहलपहल थियो । जिल्ला तहका नेता रहेका ऋषिप्रसाद शर्माको चुनावी प्रचारप्रसार चलिरहेको बेला भएको झडपमा उनी मारिए । ०६४ सालमा एमालेले उनकी पत्नी कमला शर्मालाई उम्मेदवार बनायो । कमला निर्वाचित पनि भइन् । पहिलो संविधानसभामा एमालेबाट निर्वाचित हुने कमला एकजना मात्र महिला थिइन् ।

विद्या भट्टराई

०७५ फागुन १५ गते पाथीभराबाट फर्कने क्रममा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भयो । उनको निधनसँगै कास्की २ प्रतिनिधिसभा रिक्त हुन पुग्यो । सो स्थानमा पनि मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ । नेकपाले सो क्षेत्रमा अधिकारी पत्नी विद्यालाई उम्मेदवार बनाएको छ । उसो त, विद्या आफैँमा राजनीतिकर्मी हुन् । विद्यार्थी राजनीतिमा केन्द्रीय तहमा रहे पनि उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिइनन् । उनी उपप्राध्यापकको रुपमा विश्व–विद्यालयमा सक्रिय थिइन् । रविन्द्रको निधनपछि पुनः उनी राजनीतिमा फर्किएकी छन्, कास्की २ को उम्मेदवारको रुपमा ।

विमला वली

सवारी दुर्घटनामा गम्भीर घाइते प्रदेश सांसद उत्तरकुमार वलीको निधन भयो । ०७५ फागुनमा उनको निधनपछि दाङ ३ (ख) रिक्त थियो । मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाले वलीकै पत्नी विमलालाई सो क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनलाई उम्मेदवार बनाउनुको कारण पनि उनकै पतिको लोकप्रियतालाई मानिएको छ । उनलाई उम्मेदबार बनाउँदा सिट जोगिन्छ भन्ने विश्लेषणले काम गरेको बताइन्छ ।

माया ज्ञवाली

मदन भण्डारीसँगै जिप दुर्घटनामा तत्कालीन पार्टी सङ्गठन विभाग प्रमुख जीवराज आश्रित पनि थिए । मदन पत्नी विद्या राजनीतिमा अघि बढेपछि आश्रित पत्नी माया ज्ञवाली भने पर्दाबाहिर नै रहिन् । आफूलाई पार्टीले नहेरेको गुनासो वर्षौंसम्म रह्यो उनको । ०७४ सालमा भने उनलाई नेकपाले समानुपातिक कोटाबाट सांसद बनायो । – जगन्‍नाथ दुलाल/बाह्रखरी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *