– पेम्बागेलु शेर्पा
समाजमा सही सुचना प्रवाह गर्दै समाजका हरेक तह तप्कामा व्याप्त रहेका विकृति, विसंगति र अनियमितताका बारेमा उजागर गर्दै खबरदारी गर्ने पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको प्रवास यूरोप शाखा पछिल्लो समय आफै चरम विवादको अवस्थाबाट गुज्रिरहेको छ । पंक्तिकार आफै यो संस्थाको सदस्य र शाखाको सचिव भएर पनि आफ्नै संस्थाको विवादबारे यो लेखमार्फत केही तथ्यगत कुराहरु उजागर गर्नुपर्दा आफ्नै संस्थाको विरुद्ध गयो भनेर केही नैतिक प्रश्न पनि उठ्लान/उठाउलान्, तर मेरो आधारभुत मान्यता के छ भने, अरुका बेथिति विसंगति र अनियमितताका बारेमा खबरदारी गर्ने जिम्मेवारी लिएकाहरु आफै चाहिँ पूर्णतय थिति, विधि र संगतिमा सफाचट हुनुपर्छ भन्ने नै हो । अन्यथा आफुभित्र विकृति विसंगति र अनियमितताका थाक कायम राखेर अरुका ऐजान बिषयहरुमा खबरदारी गर्न खोज्नु भनेको आफै नालीमा सुतेर अरुलाई दैनिक नुहाउने सल्लाह दिनु जस्तै हो । यसर्थ बेखुशी र नमिठो लाग्या भएपनि बाध्यताबस नेपाल पत्रकार महासंघ यूरोप शाखा भित्रको बेथिति विसंगति र अनियमितताका बारेमा लेख्न गइरहेको छु ।
मुलतः नेपालमा पत्रकारिता क्षेत्रसँग आवद्ध भएर कलम चलाईरहेकाहरु पत्रकारहरु विविध कारणले विदेशिनु परेता पनि प्रवासमै रहेर विशेषत प्रवासमा नेपाली समाजका खबरहरुको सेरोफेरोमा नेपाली पत्रकारितालाई अंशिक रुपमा अवलम्बन गरिरहेका नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा नेपाल पत्रकार महासंघको वैदेशिक शाखाहरुको गठन भएका हुन । यसै क्रममा यूरोपका विभिन्न देशमा रहेका नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा सन २०१२ मा औपचारिक रुपले नेपाल पत्रकार महासंघ यूरोप शाखाको विस्तार भएको थियो ।
हुन त यो शाखा स्थापनाकै बेलादेखि नै विवादमुक्त हुन नसकेको देखिन्छ, यो संस्था स्थापनाका लागि सगसँगै अभियान संचालन गरेका अभियान्तहरु बीच नै शाखाको औपचारिक स्थापनापछि तात्कालिन समयमा एकले अर्कालाई अवैध घोषणा गरेर या कार्वाही गर्नेसम्मका कार्यहरु भएको ईतिहास रहेछ । खैर, ईतिहासका ती कुराहरु जेसुकै कारणले जतिसुकै हदसम्मका भएतापनि पंक्तिकारको यूरोप प्रवेश २०१५ देखि मात्रै भएकाले तत्कालिन ती विवादका बिषयमा धेरै चर्चा गर्न चाहन्न । जब २०१५ देखिको मेरो यूरोप बसाईपछि पेशागत हिसाबले धेरथोर पत्रकारिता क्षेत्रसँग सामिप्यता राख्ने भएकाले स्वभाविक रुपमा आफ्नो क्षेत्रको संस्था नेपाल पत्रकार महासंघ यूरोप शाखासँग आवद्ध रहे । विशेष गरी २४ जुन, २०१७ मा बेल्जियममा सम्पन्न भएको तेस्रो अधिवेशनले सचिव पदमा जिम्मेवारी दिएपश्चाद आधिकारिक रुपमा एफएनजे यूरोप शाखासँग आवद्ध भएको थिए ।
पछिल्लो विवाद श्रृखलाको साक्षी म ।
यूरोप बसाईमा नयाँ परिवेशको तत्कालिन समयमा एफएनजे यूरोप शाखाको यावत विवादहरुका बिषयमा म अनविज्ञ थिए, यद्यपी प्रकारान्तरको अनुुभुतिले संस्था विवादुमक्त थिएन भन्नेबारेमा चाहिँ मैले महसुस गरिरहेको थिए । विशेष गरी अध्यक्ष र महासचिवको बीचमा विधि पद्धति र कार्यशैलीका सन्दर्भमा प्रायजसो बैठकहरुमा विवाद हुने गर्दथे । महासचिवले अध्यक्षबाट विधि पद्धतिलाई मिचेर एकलौटी काम गर्यो भन्ने र अध्यक्षले चाहिँ महासचिवबाट असहयोग भयो भन्ने भनाईहरु आउथे । त्यसभन्दा अगाडी पनि उहाँहरु एउटै कार्यसमितिमा रहेर काम गरिसकेको हुनाले उहाँहरुको आपसी पुरानो सम्बन्ध पनि थिए तर म त्यतातिर पनि गईन । आफु संस्थामा आवद्ध भईसकेपछि जसरी हुन्छ, उक्त संस्थाको क्रियाशिलता बढाउनुपर्छ र आफुले जानेबुझेको ज्ञानसीपद्वारा सहयोग गर्नुपर्छ भन्ने मान्यताले अध्यक्ष र महासचिवको बीचमा विवाद चलिरहेको त्यो बेलामा पनि मैले अध्यक्षले निर्देशित गरेका कार्यहरुमा निस्वर्थ रुपले सहयोग गर्दै आएको हो, साथै अध्यक्ष र महासचिवको बीचमा दुईपक्षीय संवाद गराएर भएपनि विवादलाई मिलाउने मनसायका साथ मध्यस्थताको भुमिका निर्वाह गर्ने प्रयत्न गरेको थिए, र पटकपटक संवाद पनि गराएको थिए । जसको साक्षी स्वम् अध्यक्ष केजीन राई र महासचिव योगेन्द्रमिलन छन्त्याल हुनुहुन्छ नै । तर, अध्यक्ष केजीन राईले आफुले गर्दै आएका एकलौटी निर्णय र कार्यशैलीमा सुधार नगर्ने अनि त्यो नगरी संस्थालाई विधि पद्धति अनुसार संचालन नगरे आफुले सहयोग गर्न नसक्ने महासचिवको अडानका बीच विवाद सुल्झिन नसकेको पनि सत्य हो ।
केजिन राइको अरिङ्गाल सेना गठन
त्यसपश्चात बिबादको निरन्तरता चलिरहदा अध्यक्ष केजिन राइले विशेष गरि महासचिव योगेन्द्र छन्त्याल र आफ्ना एकलौटी निर्णयका विरुद्ध लाग्ने जोकोहीका बिरुद्ध लड्नभिड्नका लागि आफ्ना पार्टी नेकपामा आवद्ध रहेकाहरूको एक अरिङ्गाल सेनाको टुकडी नै गठन गर्यो, र संस्थाको विधि विधानका सबै प्रावधानहरु माथी बलात्कार गरेर त्यो टुकडीलाई एफएनजे युरोप शाखाको कार्यसमितिमा प्रवेश गराइयो । जसमा पद र प्रचार प्राप्तिका लागि जेसुकै गर्न तयार भएकाहरूको जमात छन । हिजो एफएनजे युरोपमा प्रवेश नहुदा वा प्रवेशका लागि प्रक्रियामा केही ढिलाइ हुँदा यहीँ एफएनजेको वैदेशिक शाखाका सौतेनी संस्थाहरु गठन गर्नका लागि उत्ताउलो भएकाहरू देखि एउटा सामान्य पार्टीको टोलको भातृसस्थाका सदस्य हुँदा मात्रैपनि महाशक्ति राष्ट्र अमेरिका कै राष्ट्रपति जिते झै प्रचारित हुन रुचाउने प्रचारका भोगिहरु सब अहिले त्यही केजिन राइका अरिङ्गाल सेनाको टुकडीमा सामेल छन । अनि आफ्नो कुकर्मकै कारण सबैको सर्वस्विकार्य अध्यक्ष बन्ने मार्गबाट च्युत भएका केजिन राईज्यु अहिले त्यही आफ्नो खोक्रो आश्वासनको डोरिले बाधेर राखेका लोभीपापी अरिङ्गाल सेनाले कपोकल्पित रुपमा प्रदान गर्ने क्षणिक भक्तिभजनको सलामीमा खुसी मनाउने प्रयत्न गरिरहेका छन । जुन आफैमा एकदमै टिठलाग्दो अवस्था पनि हो । यसमा अब हामिले उहाँलाइ बिचरा भन्नू सिवाय अरु केही गर्न सकिन्न ।
अध्यक्ष पदको आडमा अवैध कार्यको फेहरिस्त ।
तेस्रो अधिवेशन सम्पन्न भएपछि संस्थाको हितार्थ मुलतः अध्यक्ष पदको हैसियतलाई सम्मान गर्दै तात्कालिक अध्यक्ष केजिन राइलाइ निकै नजिकैबाट सहयोग गर्ने मध्येको एक यो पङ्तिकार पनि हो । आफ्नो सीप क्षमताले सस्थाको हित हुन्छ भने आफू योगदान गर्न तयार भएको मलाइ केजिन जिले आफ्नो निजि स्वार्थ अनुकुल मात्रै प्रयोग गरिएको रहेछ, जुन बुझ्न मैले केही ढिलो गरेको रहेछु । हुन त त्यसबाट मेरो व्यक्तिगत नोक्सान केही पनि भएको छैन, तैपनि सस्थाको नामबाट केजिन जिले गरेको अवैध कार्यमा जानीनजानी सहयोग पुर्याएकोमा पछुतो भने पक्कै लागेको छ । जसका लागि म यसै लेखमार्फत आत्मालोचना गर्न चहान्छु ।
केजिन जि ले संस्थाको सबै पत्र र बिज्ञप्तिहरु तयार गर्नका लागि मलाइ निर्देशन दिनुहुन्थ्यो, र मैले पनि अध्यक्षको निर्देशन मानेर सबै सकेको सहयोग गरिरहन्थे, कुनै पत्रहरु त यस्तोसम्म बनाउन लगाउनुहुन्थ्यो कि नेपालबाट युरोप आउन चाहने थुप्रै सर्वसाधारण आफन्त र कलाकारदेखि पत्रकारहरुसम्मलाइ भिषा आवेदनका लागि आवश्यक पर्ने स्पोन्सर लेटर पनि नेपाल पत्रकार महासंघ युरोप शाखाको लेटरप्याडमा तयार गर्न लगाउनुहुन्थ्यो, अनि त्यसबारेमा कमिटी पुरै बेखबर रहन्थे । तत समयमा मैले यसो गर्न अनुचित हुने र त्यसबारेमा कम्तीमा कमिटीमा जानकारी गराउदा उचित हुने सुझाब दिदा उहाँले यो एफएनजे युरोप अध्यक्ष्यात्मक प्रणाली भएकोले यो सबै गर्न अध्यक्षलाई पुर्ण अधिकार रहेको जबाफ दिनुहुन्थ्यो । त्यसैगरी युरोपबाट पत्रकार महासंघको नयाँ सदस्यता सिफारिस गर्नका लागि केन्द्रलाइ पत्र तयार गर्दा पनि आफ्नो मनखुसिले नामावली बनाउनुहुन्थ्यो, अनि त्यो नामावलीमा उहाले बिहानबेलुकाको आफ्नो मुड अनुसार गरि यसलाई राख, गरि त्यसलाइ हटाउ भनेर निर्देशन दिन्थे । मानौ कि पत्रकार महासंघको सदस्यता होइन कुनै रेष्टुरेन्टका मालिकले आफ्नो दोकानको मेन्यु बनाइरहेको जस्तो लाग्थ्यो ।
“मलाइ सहयोग गर्ने र काम लाग्ने हुनुपर्छ” भनेर त्यस्ता व्यक्तिहरूको खोजी गर्थे, चाहे त्यो व्यक्ति पत्रकारिता क्षेत्रसँग कुनै साइनो नभएको नै किन नहोस, आफ्ना सहयोगी ठानेका सबैलाइ उक्त नामावलीमा समावेश गरेर केन्द्रमा सिफारिस गरिपठाउथे । जसको बारेमा पनि मौजुदा कार्यसमिति पुरै बेखबर नै रहन्थे । गज्जबको कुरा त के छ भने केजिन जि आफैले यसरी मापदण्डबिना पत्रकार महासंघको सदस्यहरु बनाउथे र उनिहरुबाट सदस्यका शुल्क असुल्थे अनि फेरि आफै सार्वजनिक कार्यक्रममा उभिएर “यो पत्रकार महासंघमा पत्रकारिता र महासंघ के हो भनेर केही नबुझेकाहरु पनि सदस्य भएका छन, त्यो गलत हो” भनेर आदर्शको भाषाण छट्दै हिड्थे ।
पछिल्लो समय त यहाँको दस्तावेजहरुमा गरिएको अवैध कार्यहरूबाट छलाङ मारेर नेपाल पत्रकार महासंघ केन्द्रकै लेटरप्याडमा आफुखुशी पत्र तयार गर्दै केन्द्रिय महासचिवको हस्ताक्षर किर्ते गर्ने हदसम्मको कार्य उहाँले गरे । आफ्ना काला कार्नामाहरुको बिरोध गर्नेहरुलाइ पाखा लगाउने उदेश्यले महासंघ केन्द्रको लेटरप्याडमा केन्द्रीय महासचिवको हस्ताक्षर किर्ते गरेर ती साथीहरूलाई स्थानान्तरण गरिएको भनी पत्रहरु सार्वजनिक गरियो । यो निकै गम्भीर बिषय पनि छ, उक्त पत्रको अपनत्व केन्द्रले लिन्छ लिदैन त्यो भविष्यमा केन्द्रले जानकारी गराउलान नै, तर उक्त पत्रबारे केन्द्रिय महासचिवलाई कुनै जानकारी नभएको भन्ने कुरा स्वम केन्द्रिय महासचिव रमेश बिष्टले मौखिक रुपमा बताइसकेका छन । कदमकदाचित त्यो पत्र केन्द्रबाट नै जारी भएको भए पनि पत्रमा जुन ब्यक्ति वा सस्थालाइ सम्बोधन गरिएको छ, उक्त पत्र केन्द्रले सिधै सम्बन्धित ब्यक्ती वा संस्थालाइ किन नपठाएको हो ? जसका लागि केजिन जिलाइ हुलाकी बनाउनुपर्ने कुनै कारण थियो ? यो नेपाल पत्रकार महासंघ केन्द्रलाइ गम्भीर प्रश्न पनि छ । अन्यथा त्यो सबै केजिन राई जि को फटाइबाहेक अरु केही होइन भन्ने पुष्टि हुन्छ ।
संस्थाको आर्थिक पाटो पनि उत्तिकै अपारदर्शी छ । कोषाध्यक्ष भन्ने पदमा आसिन साथिसग सायद एक युरोको पनि हिसाबकिताब छैन होला, किनकी सबै सदस्यताको शुल्क देखि सहयोग रकमहरुको असुली अध्यक्ष केजिन राई जिले नै गर्थे, तर जसको कुनै तथ्य तथ्यांक कमिटिमा प्रस्तुत गरिदैनथे, अनि आर्थिक अपारदर्शिताको प्रश्न गर्नेहरुलाइ केजिन जि ले सबै खर्च आफ्नो खल्तिबाट गएको ओठे जबाफ दिनुहुन्थ्यो । संस्थाको आर्थिक पाटोमा नाफाघाटा हुनसक्छन्, सायद उहाकै खल्तिबाट पनि सस्थाको काममा खर्च भएको पनि हुनसक्छन् तर जसको तथ्य तथ्यांक अर्थात प्रतिवेदन त लिखित रुपमा कार्यसमितिमा बुझाउनु पर्यो नि । अर्को कुरा उहाँ आफै एकलकाटे ढङ्गले संस्थाको नाममा गतिविधि गर्दै खर्च गर्ने अनि पश्चात् त्यसको सम्पुर्ण जिम्मेवारी पुर्ण कमिटीले लिनुपर्ने बाध्यता पनि हुनैपर्छ भन्ने कहाँ छ र ।
साथ नदिने मेरो निर्णय र विवादमा क्लाइमेक्स ।
यसरी संस्थाको मापदण्डबिना सदस्यता सिफारिस गर्नेदेखि साधारण सदस्य नै नबनिसकेकाहरुलाइ एकलौटी तरिकाले कार्यसमितिमा मनोनयन गर्ने कुराहरू सामान्य कार्य झै केजिन जि ले गरिनै रहेका थिए, अनि जसबारेको असन्तुष्टि कार्यसमितिमा भित्रभित्रै भुसको आगो झैँ सल्किरहेका थिए । कतिपयले खुलेर बोल्थे र बिरोध गर्थे अनि कतिपय चाहिँ एकआपसमा कानेखुसी गर्थे, अर्थात सबैले त्यस गलत प्रवृत्तिको बिरोध गरिरहेका थिए । तर उता केजिन राई जि यी सबै कुराहरूलाई पुरै बेवास्ता गरेर आफ्ना दृश्य अदृश्य दुबैखाले गलत कार्यलाई जारी नै राखिरहन्थे । खुलेर बिरोध गर्नेहरूलाई आफ्ना अरिङ्गाल सेनाको टुकडी लगाएर ठेगान लगाउने दुस्साहस गर्थे ।
अलिकति आफू अप्ठ्यारोमा परे जनजातिको मुद्दा उठाउथे, जनजातिको छोरो भएकोले गैरजनजातिहरुले पेल्न खोज्यो भन्थे, तर आफै चाहिँ फेरि तिनै गैरजनजातिहरुको भुइ चढेर, गलत कार्यको बिरोध गर्ने कार्यसमिति कै जनजाति साथीहरूलाई निमिट्यान्न पार्न हदैसम्मको कार्य गर्थे । यसबाट पनि के पुष्टि हुन्थ्यो भने, उहाँले उठाउने जनजातिको पहिचान र अधिकारसग सम्बन्धित त्यो मुद्दा बिल्कुल उहाँको आफ्नो निजि स्वार्थसिद्धका लागि मात्रै रहेको प्रष्ट हुन्थ्यो ।
अवैध तरिकाले त्यसरी उहाँबाट निर्देशन आउने कुराहरूमा मैले त्यसो नगर्न सुझाब दिने र गर्नैपरे पनि संस्थागत तवरले नै कमिटि बैठकको निर्णय अनुसार चल्नुपर्छ भनेर आफुलाइ प्रस्तुत गर्न थालिसकेर गलत कदममा साथ नदिन थालेपछी पछी भने उहाँले मलाइ पनि दुश्मनीको नजरले हेर्न थालिसकेका थिए । पछिल्लो समय त झन जुन संस्थाको नेतृत्वले पत्रकारलाई धाकधम्की दिएको भनी उनका बिरुद्ध केही महिना पहिले मात्रै केजिन जिले आफ्नै हस्ताक्षरमा बिज्ञप्ति जारी गरेका थिए, त्यही व्यक्तिले केही रुपैयाँ सहयोग गरेकै भरमा उनैलाइ महान समाजसेवी करार गरेर केजिन जि आफै सार्वजनिक रुपमा प्रचारमा उत्रिएका थिए, जसले गर्दा हिजो आफैले जारी गरेका त्यो बिज्ञाप्ति लजाएर आत्महत्या गर्न बाध्य थिए अनि उक्त बिज्ञाप्तिको जिम्मेवारी बोकेका संस्थाको शिर पुरै निहुरिएको थियो ।
यस्तो अवस्थामा उक्त हर्कत अपनाउने केजिन जिलाइ समर्थन गर्ने किन्चित पनि अवस्था थिएन र उक्त हर्कतको खुलेर बिरोध गरियो । त्यसै गरि आफ्नो अवैध कर्तुतहरुलाइ अगाडी बढाउने क्रममा अलिकति बचेखुचेको नैतिकतालाई पनि बन्धक राखेर उहाँ एफएनजे युरोपको अध्यक्ष बहाल रहदैको अवस्थामा एउटा अमुक पार्टीको भातृसस्थाको रुपमा स्थापित प्रेस संगठनको युरोप शाखामा नेतृत्वका लागि हदैसम्मको दावी प्रस्तुत गरेर अध्यक्ष घोषित हुनुभयो, त्यसपछि भने एउटा निश्चित बिचार बोकेका पार्टीको भातृसंस्थामा अध्यक्ष हुनगएको व्यक्तिलाई सबैको साझा मानिएको संस्था एफएनजे युरोपमा अध्यक्ष मानिरहनुपर्ने अवस्था बन्दैनथ्यो । अनि यहिनेरबाट विवादको शृङ्खला एउटा क्लाइमेक्समा पुगेको हो ।
हिजो एफएनजे युरोपका कार्यसमितिमा रहेका केही सदस्यहरू कुनै फोरम, क्लब वा संस्थामा सहभागी र सामान्य उपस्थितसम्म हुँदापनि कार्वाही गर्ने र ग्रुपबाट निकाल्ने केजिन जि, आज आफ्नै यो प्रेस संगाठनको नेतृत्वमा जाने कदम भने एकदम सहि भएको कुतर्क गर्थे । यद्यपि उहाँको यो कदम विरुद्ध तेस्रो अधिवेशनले निर्वाचित गरेका मौजुदा कार्यसमितिको हामी बहुमत सदस्यहरूले हस्ताक्षर गरेर केजिन राइलाई एफएनजे युरोपको अध्यक्ष मान्न नसकिने भनेर निलम्बनका लागि केन्द्रमा पत्राचार गरिसकेको छौं । यसैले अब केन्द्रले यी यावत बिषयहरुमा सुष्मा अध्ययन गरेर युरोप शाखाको जारी विवादलाई मिलाउने प्रयत्न गर्नेछ भन्ने बिश्वास लिएका छौं, अन्यथा यस्तै एकपक्ष एफएनजे युरोप शाखाको नामबाट अवैध कार्यहरू गर्दै जाने र अर्को पक्ष त्यो कर्तुतको बिरोध गरिरहने अवस्थाको बिचमा जारी विवादले कुनै अवतरण नपाए नेपाल पत्रकार महासंघको युरोपमा शाखा छ भन्नुको कुनै औचित्य हुने छैन । – फोटो राइको फेसबुकबाट
(शेर्पा नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव हुन्)