दुल्लु । पछिल्लो समय ग्रामीण भेगबाट ढिकी जाँतो र हातेमुसल लोप हुँदै गएका छन् । गाउँघरमा भित्रिएका टुकटुके मिल र पानीघट्ट निर्माण भएपछि ग्रामीण भेगबाट कुटानीपिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् ।
ढिकी जाँतो लोप हुँदा बिहान र बेलुकीपख ढिकी जाँतोले गुञ्जायमान हुने गाउँघरका बस्ती हिजोआज सुनसान हुन थालेका छन् । आवाज नसुनिँदा गाउँघरका अन्न उत्पादन हुन छाडेको हो कि भन्नेसमेत भान हुन्छ । गाउँका सबै मानिस तराईको चामलको भरमा परेर परनिर्भर बनेका हुन् कि भनेर आकलन पनि गर्न सकिन्छ ।
‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :
मिरमिरेमा भालेको डाकसँगै उठेर कुटानीपिसानी गर्नुपर्ने बाध्यता भोगेका गाउँका महिला हिजोआज गाउँघरमा भित्रिएका पानीमिल र आधुनिक घट्टले गर्दा सुविधा ल्याएको बताउँछन् ।
“पहिला ढिकी जाँतो, हातेमुसलले गर्दा हामीलाई दुःख हुन्थ्यो, आधुनिक घट्ट र टुकटुके मिल आएपछि सुविस्ता भएको छ”, पश्चिम दैलेख ठाटीकाँध गाउँपालिका–१ की नैना शाहीले भने, “कुटानीपिसानीबाट बचत भएको समयलाई बालबच्चाको सरसफाइ र तरकारी खेतीमा लगाउने गरेका छौँ ।”
आधुनिक घट्ट र टुकटुके मिलले गाउँमा पाइने जैविक अन्नको स्वाद भने फरक बनाइदिएको सोही ठाउँका ९० वर्षीया भगे कामीले बताए । “महिलाका दुःखमा कमी भए पनि खानाको स्वाद नै बिगा¥यो, ढिकी र जाँतोमा कुटानीपिसानी गरेका अन्नमा पाइने स्वाद हराउन छाडेको छ”, उनले भने ।
गाउँमा आउने पर्यटकलाई आधुनिक मिल र पानीघट्टले रिझाउन नसक्ने दुल्लु नगरपालिका–९ धामीगाउँका शेर्वानाथ योगीले बताए । उनका अनुसार घट्ट र मिलसँगै सम्बन्धित निकायले परम्परागत यन्त्रलाई लोप हुन नदिने योजना ल्याउनुपर्छ ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ की मनीषा शाही भने आधुनिक यन्त्रले किशोरी र महिलाका दुःख हटेकाले परिवर्तन भएको बताइन् । “सात–आठ वर्ष पहिला विद्यालय जानुभन्दा पहिला कुटानीपिसानी गर्नुपर्थ्यो, अहिले स्कुल बिदाको दिन पानीघट्टमा गएर पिसेर ल्याइहाल्छम्”, उनले भनिन् । आधुनिकयन्त्रले गर्दा गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागी हुन पाउँदा केही चेतना जागेको उनले बताइन् ।
ग्रामीण भेगमा घट्टमा पिसानी गरेको शुल्क मानापाथी दिइने चलन छ । तीस केजी गहुँ वा मकै पिसेको तीन माना गहुँ वा मकै तिर्नुपर्छ । मिलमा कुटानीपिसानी गर्दा भने रकम तिर्ने गरिन्छ । महिलालाई केही सुविधा भए पनि आधुनिक मिल वा घट्टमा अहिले पनि महिलाकै उपस्थिति छ ।
जहाँ जसरी काम भए पनि यस्ता जोखिमयुक्त काममा पुरुषको सहभागिता बढाउनुपर्ने आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराको जोड छ । “हामीले आधुनिक परिवर्तनसँगै महिलाका दुःख देखेर पानीघट्ट बनायौँ तर संस्कार बचाउनकै लागि ढिकी जाँतोलाई हटाउनै पर्छ भन्ने अडान लिएका छैनौँ ।”
उनका अनुसार स्वादिलो खानाका लागि हातेमुसल, ढिकी जाँतो लोप हुन दिनुहुँदैन । उनले भने, “पछिल्लो समय गाउँबस्तीबाट हातेमुसल, ढिकी जाँतो लोप हुँदै गए पनि यहाँका बासिन्दा संस्कार बचाउन र खानाको स्वाद कायम राख्न पाहुनालाई ढिकी जाँतोमा कुटानीपिसानी गरेको खाना खुवाउने गर्छन् ।” रासस