चरा हेर्न डेनमार्कदेखि पोखरा

Spread the love

पोखरा : डेनमार्कका ७४ वर्षीय इंगर फिलिप्ससहित १३ जना चराप्रेमीलाई नेपाल चरा र वन्यजन्तुको अवलोकनका लागि उपयुक्त देश हो भन्ने कन्भिन्स गर्न चराविज्ञ राजेन्द्र गुरुङलाई ३ वर्षजति लाग्यो। तीन वर्ष अघिदेखि नेपालमा चरा अवलोकन गराउन कोसिस गरेका नेपाल पन्छी संरक्षण संघका अध्यक्ष गुरुङले २०१९ को अन्ततिर आएर मात्र डेनमार्कको यो टोलीलाई कन्भिन्स मात्र गराए। १५ दिन नेपालका विभिन्न स्थानमा लगेर चराका विभिन्न प्रजाति देखाउन उनी सफल भए।

सन् २०१७ देखि गुरुङले यो टोलीलाई नेपालमा चरा अवलोकनका लागि प्याकेजमा घुमाउन कोसिस गरेको सुनाए। माउन्ट एभरेस्ट, बुद्ध जन्मभूमि नेपालमा चरा र वन्यजन्तु अवलोकनका लागि पनि उत्तिकै महŒवपूर्ण रहेको भन्दै उनले नेपाल भ्रमण गर्न यो टोलीलाई अनुरोध गरेका थिए। पर्यटकले कुनै पनि देशको भ्रमण गर्नुअघि आफू जे उद्देश्यका लागि घुम्न जाने हो त्यो उद्देश्य पूरा हुने नहुने यकिन हुन खोज्छन्। त्यसपपछि त्यहाँको शान्तिसुरक्षा र मौसम अवस्थाबारे पनि विश्वस्त हुन्छन्।

नेपालमा घुम्न आउने धेरै पहिलेदेखि चाहन्थ्यौं। हिमालयको देश नेपालमा हिउँ परिरहन्छ भन्ने फिलिङले पनि यहाँ आउनेबारे डिसिजन लिन समय लागेको बर्ड लाइफ डेनमार्कका सदस्यसमेत रहेका ६४ वर्षीय लेन स्मिथले बताए। हिँउ नै हिँउ हुने भएकाले चराका धेरै प्रजाति देख्न गाह्रो हुने बुझाइ रहेको उनले सुनाए। यहाँ आएर चराको अवलोकन गर्दा अहिलेसम्म नदेखेका गिद्धका विभिन्न प्रजाति, ह्वाइट टेल इगल, गोल्डेन हेड इगललगायत धेरै प्रजातिका चरा अवलोकन गर्न पाउँदा निकै खुसी लागेको उनले सुनाए। डेनमार्कमा गिद्ध नपाइने पनि उनले जानकारी दिए। डेनमार्कमा हजारौंले चरा अवलोकन गर्ने र संरक्षणमा लाग्ने गरेकाले नेपाल चरा पर्यटनको सम्भावना भएको उनले बताए।

डेनमार्कलगायत चरा अवलोकन गर्न र फोटा खिच्न मन पराउने देशका चराप्रेमीलाई नेपालप्रति आकर्षित गर्न चरा पर्यटन प्रवद्र्धन गर्नुपर्ने नेपाल पन्छी संरक्षण संघका अध्यक्ष गुरुङले बताए। यस्ता पर्यटकको बसाइ धेरै हुने र खर्च पनि धेरै गर्ने भएकाले रोजगारका अवसरसमेत सिर्जना हुने उनले सुनाए। चरा पर्यटनमा चरा गाइड, पोटरले पनि आकर्षक तलब पाउने गर्छन्। नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषण गरी शुभारम्भ गरिसकेको अवस्थामा विदेशमा चरा पर्यटनको प्रवद्र्धन गरिनुपर्ने उनले बताए। हिमाल, पहाड र तराईमा पाइने वन्यजन्तु, चराचुरुङ्गी, वनस्पतिबारे अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सके गुणस्तरीय पर्यटकको आगमन बढ्ने उनले सुनाए।

चरा र वन्यजन्तुको अवलोकनका लागि १५ दिनको समय लिएर नेपाल आएको डेनमार्कको टोलीले पोखरा, चितवन, लुम्बिनी, बर्दियामा चरा र वन्यजन्तुको अवलोकन गरेका थिए। पोखराको फेवातालमा पानी चराको अवलोकन गरेको यो टोलीले गिद्धका विभिन्न प्रजातिबारे जानकारी लिएको गुरुङले बताए।

नेपाल चरा अवलोकनका लागि महत्त्वपूर्ण स्थान रहेको डेनमार्कका स्मिथले बताए। जलवायु परिवर्तनको सूचक चरालाई मान्ने गरिन्छ। तापक्रम वृद्धिका कारण वातावरणमा फेरबदल हुने भएकाले चराको वासस्थानमा समेत बदलाब आइरहेको विभिन्न अध्ययनले देखाएको छ। त्यसैले जैविक विविधताका लागि महŒवपूर्ण चराको अध्ययन अनुसन्धान गर्न पनि पर्यटक आउने भएकाले चरा पर्यटनको विकासमा सरकार र निजी क्षेत्र लाग्नुपर्ने चरा संरक्षण क्षेत्रमा लामो समयदेखि लागेका पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक रामजी गौतम बताउँछन्।

विश्वमा ११ हजार ३२ प्रजातिका चरा पाइन्छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा ८ सय ८८ प्रजातिका चरा छन्। ती मध्ये १ सय ६८ प्रजातिका चरा अति संकटमा रहेको चराविद डा. हेमसागर बरालले बताए। वासस्थान विनास र चरालाई चाहिने अनुकूल वातावरण नहुँदा ६ प्रजातिका चरा नेपालबाट लोप भइसकेका छन्।

नेपालमा चरा हेर्न बेलायती, अमेरिकी, जर्मनीलगायत युरोप र अमेरिकाका पर्यटक बढी आउने गरे पनि पछिल्लो समय एसियाली देश मलेसिया, थाइल्यान्ड, सिंगापुर, चीनलगायत देशका पर्यटक पनि आउने गरेको पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले बताए। नेपाल भ्रमण गर्नेमध्ये कति प्रतिशत पर्यटकको उद्देश्य चरा अवलोकन गर्ने हुन्छ भन्ने यकिन नभए पनि ४ देखि ५ प्रतिशत रहेको अनुमान गरिएको छ। नेपाल भ्रमण गर्ने पर्यटकमध्ये ६० देखि ७० प्रतिशत पर्यटकले निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र भ्रमण गर्ने गरेको विज्ञहरू बताउँछन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपाल भित्रिएका १० लाख पर्यटकमध्ये ७ लाखले निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र घुमेका थिए।

पर्यटन व्यवसायमा चरा अवलोकन गर्ने पर्यटक निकै खर्चालु र लामो समय बस्ने पर्यटकमा पर्छन्। एउटा पर्यटकले आफूले हेर्न र क्यामरामा कैद गर्न खोजेको चरा, जंगली जनावर नदेखेसम्म बस्ने हुन्छन्। चाहे जति पैसा खर्च गरेर भए पनि त्यो पूरा गर्ने भएकाले यस्ता पर्यटकबाट राम्रो आम्दानी हुने पोखराका पाका चरा पर्यटन गाइड हरि केसी बताउँछन्। यतिबेला पोखराका ९ तालमा साइबेरियालगायत क्षेत्रबाट जाडो छल्न पानी चरा आएका छन्। यसरी आउने पाहँुना चराको संरक्षणका साथै पर्यटनसँग जोड्न सके पर्यटकको बसाइ लम्बिने उनले सुनाए। कृष्णमणि बरालले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *