उमेर १६ वर्ष, तौल ६ किलो भएकी रुमला धामीको कारुणिक कथा

Spread the love

बझाङ । उमेर १६ वर्ष, तौल ६ किलो, उचाइ ८१ सेन्टिमिटर मात्रै । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–७ काँडेचौरकी रुमला धामीको शारीरिक अवस्था हो यो ।

रुमलाको परिचय यतिमै सकिँदैन । उनी पूर्ण रूपमा अशक्त छन् । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि उनलाई सहारा नभई हुन्न । उनका हात खुट्टासमेत राम्रोस्रँग चल्दैनन् । सिधा उभिनसमेत उनी सक्दिनन् । राजधानीमा डीबी विष्टले समाचार लेखेका छन् ।

आमा हाँसुलीदेवी धामीका अनुसार, जन्मिदा उनमा कुनै शारीरिक समस्या थिएन । जन्मेको सात महिनापछि भने उनी नराम्रोसँग बिरामी भइन् । बाबुआमाले उपचारमा कुनै कमी हुन दिएनन् तर ठीक भएन । त्यसपछि भने उनमा शारीरिक समस्या देखिन थाल्यो ।

‘जन्मेको सात महिनापछि रुमला नराम्ररी बिरामी परिन् । सुरुमा धामीलाई देखायौं । ठीक नभएपछि स्वास्थ्य संस्थामा समेत लग्यौं, तर उपचार भएन । के गर्नु, भाग्यले नै ठगेको रहेछ,’ आमा हाँसुलीदेवी भन्छिन् ।

रुमलाभन्दा अघिका तीन र पछिका एक सन्तानमा कुनै शारीरिक समस्या छैन । सबै राम्रै छन् ।

रायल प्राथमिक स्वास्थ्य केन्द्रका अहेब कमल मल्लका अनुसार रुमलाको शारीरिक र मानसिक वृद्धि विकासमा समस्या आउँदा उनी अपांग बनेकी हुन् ।

उनलाई हालै मात्र पूर्णअशक्त अपांगता भएको समूहमा समावेश गरी केदारस्युँ गाउँपालिकाले ‘क’ वर्गको परिचयपत्र दिएको छ । सो गाउँपालिकामा पूर्ण अपांगता भएका १५ जना, अति अशक्त ४२, मध्यम १७ र सामान्य अपांगता भएका ६ जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको आईटी इन्जिनियर लेखराज रावलले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *