पोर्तुगलमा ज्यान गुमाएका तीनमध्ये दुईको शव व्यवस्थापन गर्न एनआरएनएद्वारा सहयोग अपील

Spread the love

लिस्बन । पोखराका २९ वर्षीय राजु बस्नेतको ८ दिन अगाडि साओ तोतेनिओमा रहेको आफ्नै कोठामा मृत्‍यु भएको छ । उनको शव जोजे जुआकिम फेर्नान्दीस अस्पताल बेजामा राखिएको छ । पोष्ट मार्टममा संलग्न चिकित्सकका अनुसार मृतकको शरीरमा कुनै घाऊचोट देखिएको छैन ।

बुवा भद्रबहादुर र आमा सीता बस्नेतका तीन छोरामध्ये राजु माहिलो छोरा थिए । उनी ८ महिनाअघि गत मे महिनामा पोर्तुगल आएका थिए । उनको नेपाली कागजातमा जन्म २०४६ साल फागुन ११ गते भएको उल्लेख छ । उनका दुईजना दाजु र भाइ नेपालमै रहेका छन् ।

पोष्ट मार्टम रिपोर्टमा अत्यधिक मद्यपानका कारण वान्ता गर्दा श्वासप्रश्वास नली बन्द भइ अक्सिजनको कमी हुँदा मृत्‍यु भएको चिकित्सकलाई उद्ध्रित गर्दै नारायण शर्माले बताए ।

परिवारले उनको पार्थीव शरीर नेपाल पठाइदिन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले मृतक बस्नेतको शव व्यवस्थापनका लागि स्वेच्छिक आर्थिक सहयोग गरिदिनका लागि पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई अनुरोध गरेको छ ।

उनको शव नेपाल पठाउने प्रकृया शुरु भैसकेको छ । एनआरएनए अध्यक्ष तिलक गैरेका अनुसार यो सप्ताहको अन्तसम्म टिकट बुक गरेर उनको शव नेपाल पठाइने छ ।

यसैगरी हिजो सोमबार पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमा निधन भएको थियो । उनका श्रीमती विष्णुसहित छोरी र छोरा पनि पोर्तुगलमै छन् । मृतक थापाको अपार्टमा पुगेका एक नेपालीका अनुसार उनको हृदयघातका कारण निधन भएको अनुमान छ ।

सपरिवार नेपाल गएर यही डिसेम्बर ७ तारिखका दिन पोर्तुगल फर्किएको कुरा एनआरएनए पोर्तुगलका सचिव यामेन्द्र घर्ती मगरले जानकारी दिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक श्रोतलाई उद्ध्रित गर्दै मगरले बताएका छन् । थापाको अन्तिम दाह संस्कार पोर्तुगलमै गरिने कुरा एनआरएनएले जनाएको छ ।

यसअघि ११ डिसेम्बर बुधवारका दिन नुवाकोटका नवीनकुमार पाठकको सिमितेरियो मुनिसिपल दी क्यामारातमा अन्तिम दाह संस्कार सम्पन्न भएको थियो । उनलाई ब्रेन ट्युमरको समस्या थियो । जुन महिनादेखि उनको उपचार भइरहेको थियो । ४१ वर्षीय पाठक विगत छ वर्षदेखि पोर्तुगलमा बस्दै आएका थिए ।

मृतक पाठककी श्रीमती पोर्तुगलमै छिन् । उनका एक छोरा र एक छोरी नेपालमा छन् । सन् २०१० देखि हालसम्म पोर्तुगलमा ३० नेपालीले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *